प्रदेश १ ले नाम नपाउने, यसै हप्ता प्रदेशसभा अन्त्य हुँदै

विराटनगर । प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले यो सभाले प्रदेशको नाम दिने संभावना टरेको बताएका छन् । ञयही हप्ता भित्र प्रदेश सभाको अन्त्य गर्ने तयारी हुँदैछ, सभामुख भण्डारीले भने, प्रदेश सभाले यो अधिवेशनबाट नाम ल्याउने संभावना टर्यो ।
राजधानी बनाउन भन्दा नामको बिषय सजिलो थियो तर यो बिषय नै जटिल बनेको उनको भनाइ थियो । सभामुख भण्डारीले दलहरूको बिचमा राजधानी टुंगो लगाएकै बेलामा दलहरूको बिच प्रदेशको नाम सहमतिको आधारमा टुङ्ग्याएर जाने समझदारी भएको पनि खुलासा गरेका छन् ।
प्रदेशको नाम राख्न अहिले प्रदेश सभामा रहेको सदस्य संख्याको ६० जना चाहिने भएपछि आफैले दलहरूको बिचमा सहमतिको प्रयास गरेको जानकारी दिए ।विभिन्न समयमा भएको सर्बदलीय छलफल, दलहरूले गरेको आन्तरिक छलफलबाट पनि कुनै निकास निस्कने अबस्था नआएको र दलहरूले आफ्नो हठ नछाड्ने अबस्था बनेपछि नामको सम्भावना टरेको बताए ।
सभामुख भण्डारीले नयाँ संरचना र संविधान पत्रकारिताको योगदानबाट आएको बताएका छन्। नयाँ संरचनाको स्थायित्वका लागि ल्याएको परिवर्तनको उपलब्धि प्राप्तिको विषय मुख्य कुरा भएको बताएका भण्डारीले पत्रकारिताको भुमिका नै मुख्य हुने बताए ।
कोषराज रेग्मी स्मृति पत्रकारिता पुरस्कार २०७८ तथा खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार २०७९ वितरण समारोहलाई सम्बोधन गर्दै उनले प्रदेशसभाले ५ बर्षमा ६१ बिधेयक पास भएको २ संशोधनको चरणमा रहेको र बाँकि रहेको दुई विधेयक आफ्नै कार्यकालमा ल्याउने प्रयास भईरहेको जानकारी दिए । अहिले संचार सम्बन्धि विधेयक अझै समितिमा छलफलमै रहेको उल्लेख गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका विपुल पोखरेलले राज्यको लगानी पत्रकारिता विकासका लागि नभएको बताए । नागरिक समाजले पत्रकारिताञको भुमिकालाइ सम्मान गरेको भएपनि राज्यको तर्फबाट हुन नसकेको गुनासो गरे । अहिले पनि मिडिया र संचारक्षेत्रको लागि बन्ने कानुनमा पत्रकार झस्कनु पर्ने अबस्था रहेको बताए । चुनावको मुखमा गरिने पत्रकारिता निक्कै चुनौतिपुर्ण हुने बताए । निश्पक्ष, तथ्य र तथ्यांकको आधारमा चुनावी पत्रकारिता गर्नु पर्ने औल्याए ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईरालाले विकास निर्माणसँगै पत्रकारिता, भाषा कला र साहित्यको संरक्षण गर्न लागिपरेको बताए । कोशराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७८ विष्णु निष्ठुरीलाई प्रदान गरिएको छ । नगद २५ हजार राशीको पुरस्कार नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष समेत भईसकेका निष्ठुरीलाई वितरण गरिएको हो । नेपाल पत्रकार महासंघ मोरङले हरेक बर्ष प्रदान गर्दै आएको खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार २०७९बाट दुर्गाप्रसाद खतिवडालाई प्रदान गरिएको छ । यो पुरस्कारको राशी ११ हजार रहेको छ।








