जम्मा सिट १६५ : गठबन्धनसम्बद्ध दलहरूकाे दाबी २२७ पुग्याे, कुन दलले कति मागे ?

काठमाडौँ । सत्तारुढ गठबन्धनमा सिट बाँडफाँटका लागि बनेको कार्यदलमा दलहरूले सिटको दाबी पेश गरेका छन् । बिहीबार साँझ प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा दलहरूले आ-आफ्नो पेस गरेका हुन् ।
देशभर प्रतिनिधिसभा सदस्यका लागि १६५ क्षेत्रमात्रै छन् । तर, गठबन्धन कार्यदलमा दलहरूले २२७ सिटमा दाबी पेस गरेका छन् । राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीकाअनुसार कांग्रेस १०० सिट दाबी गरेकाे छ । यसपछि माओवादीले ६० र एकीकृत समाजवादीले ४० सिट दाबी गरेका छन् ।
यस्तै जनता समाजवादीले २५ र राष्ट्रिय जनमोर्चाले दुई सिट मागेको उनको भनाइ छ ।
हालै माओवादीको चुनाव चिह्न लिएर चुनाव लड्ने सहमति गरेका नेताद्वय वामदेव गौतम र डा. बाबुराम भट्टराईलाई तालमेलमा कसरी समेट्ने भन्ने विषयमा बैठकले कुनै निष्कर्ष निकालेको छैन । बिहीबार बसेको गठबन्धन बैठकले कार्यदललाई शुक्रबारसम्म देशभर संघ र प्रदेशमा कुन क्षेत्रमा कुन दलको कस्तो अवस्था छ भनेर तथ्यांक विश्लेषण गर्ने जिम्मेवारी दिएको छ ।








