भरतपुरमा छोरी बिमा कार्यक्रम : राष्ट्रिय बिमा संस्थानसँग सम्झौता

चितवन । भरतपुर महानगरमा छोरी बिमा कार्यक्रमको लागि सम्झौता भएको छ । भरतपुरमा जन्मिने छोरीका लागि निःशुल्क छोरी जीवन बिमा कार्यक्रमअन्तर्गत आज राष्ट्रिय बिमा संस्थानसँग सम्झौता भएको छ ।
भरतपुर महानगरपालिका र राष्ट्रिय बिमा संस्थानबिच छोरी बिमा कार्यक्रमको लागि आज सम्झौता भएको हो । भरतपुर महानगरपालिका र राष्ट्रिय बिमा संस्थानबिच सम्झौता–पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतामा भरतपुर महानगरपालिकाको तर्फबाट प्रमुख महिला विकास अधिकृत शान्ताकुमारी पौडेल र राष्ट्रिय बिमा संस्थानका प्रशासक कविप्रसाद पाठकले हस्ताक्षर गरेका छन् । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल दोस्रो पटक महानगर प्रमुखमा निर्वाचित भई पदभार ग्रहण गर्दा भरतपुर महानगरपालिकामा जन्मिने छोरीका लागि निःशुल्क जीवन बिमा गर्ने निर्णय गरेकी थिइन् ।
गत जेठ ११ गतेका दिन लागु हुने गरी १५ वर्ष अवधिका लागि बिमा कार्यक्रम सुरु गर्ने निर्णयलाई कार्यान्वयन गर्न सम्झौता गरिएको हो । सरकारी स्वास्थ्य संस्थामा जन्मेका छोरीहरूले मात्र यो सेवा लिन पाउने छन् । गत जेठ ११ गतेका दिनदेखि जन्मिएका छोरीको मात्र यो कार्यक्रममा सहभागी हुन पाउने छन् ।
छोरी जीवन बिमा गर्न महानगरपालिको स्थायी बासिन्दा हुनुपर्ने छ । बिमाका लागि जन्म दर्ताको प्रमाण पत्र र फोटोसहित वडा कार्यालयमा जानुपर्ने हुन्छ । छोरी बिमा योजनाको बीमाङ्क रकम रु ५० हजार हुनेछ । बिमा अवधि १५ वर्षको हुनेछ। बिमा कार्यक्रममा सहभागी भएका छोरीहरूले १५ वर्षमा प्रचलित बोनस दरका आधारमा एकमुष्ट रकम प्राप्त गर्नेछन् ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले छोरीलाई प्रोत्साहन र संरक्षित गर्ने उद्देश्यसहित छोरी जीवन बिमा कार्यक्रम लागू गरिएको बताइन् । यो कार्यक्रमले छोरा र छोरीबिच हुने सामाजिक विभेद न्यूनीकरणमा सहयोग पुग्ने प्रमुख दाहालको विश्वास छ ।








