एकीकृत समाजवादी निर्माणको एक वर्ष

काठमाडाैँ । एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादी गठनको एक वर्ष भएको छ, तर नेपालको सत्ता राजनीतिमा उसको उपस्थितिले उथलपुथल भएको छ । संघीयदेखि प्रदेश सरकारसम्ममा देशको ठूलो दल एमाले विपक्षी बनेको छ भने एकीकृत समाजवादीले सत्ता राजनीतिमा चमत्कारपूर्ण उपलब्धि हासिल गरेको छ । स्थानीय निर्वाचनमा एमालेलाई धक्का दिनुलाई एकीकृत समाजवादीले ‘जित’ठानेको छ ।
संगठन र सत्ता राजनीतिका दृष्टिले समाजवादीको एक वर्ष उतारचढावपूर्ण छ । अंकगणितमा निर्णायक भूमिकापछि उसलाई ‘सत्ता राजनीति’मा धेरै उपलब्धि हासिल भएको छ । एमालेसँग प्रतिशोधपूर्ण राजनीति गरिरहेको तथा पाँचदलीय गठबन्धनमा रहेको एकीकृत समाजवादी आसन्न प्रतिनिधिसभा र प्रदेश निर्वाचनमा सम्मानजनक जित निकालेर सत्ता राजनीतिमा हाबी हुने दाउमा छ ।
तत्कालीन प्रधानमन्त्री केपी ओलीले दुईपटक संसद् विघटन गरेपछि उत्पन्न टकराव बढ्दै गएपछि माधव नेपाल र झलनाथ खनालसहितका नेताहरूले एमालेबाट विद्रोह गरेका थिए । नेपाल र खनालको विद्रोह यस्तो मोड बन्यो, जसले एमालेलाई सम्पूर्ण रूपमा सत्ताबाट बाहिर पठाउन सम्भव भयो । र, त्यही विद्रोहले अहिलेको पाँचदलीय गठबन्धनको आधार पनि तयार पार्यो ।
‘एमालेलाई सत्ताबाट प्रतिपक्षमा पुर्याएको र देशभरका लोकतान्त्रिक समाजवादी शक्तिलाई एक ठाउँमा जुटाएर संविधानलाई जोगाउने, राजनीतिक स्थायित्व कायम गर्ने काम गरेका छौँ,’ प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा भन्छन्, ‘यही प्रयासका कारण आगामी ४ मंसिरमा देशभर प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन हुँदै छ । स्थायित्वका लागि संसद् पाँच वर्ष टिक्नुपथ्र्यो, त्यो हामीले टिकाएका छौँ ।’
निर्वाचन आयोगबाट ९ भदौ ०७८ मा पार्टी दर्ताको प्रमाणपत्र लिएको समाजवादीले बिहीबार ‘पार्टी पुनर्गठन दिवस’ मनाउँदै छ । कार्यक्रमलाई अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले सम्बोधन गर्ने तय गरिएको छ । पार्टी गठनको एक वर्षलाई लिएर नेताहरू उपलब्धिपूर्ण मूल्यांकन सुनाउँछन् । ओली नेतृत्वको सरकार विस्थापन गरेर बनेको देउवा नेतृत्वको संघीय सरकारमा एकीकृत समाजवादीका पाँच मन्त्री र एक राज्यमन्त्री छन् । कानुनमन्त्री गोविन्द बन्दी एकीकृत समाजवादीका अध्यक्ष नेपालको प्रस्तावमा मन्त्री बनेका हुन् । बन्दीसहित समाजवादीबाट पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, श्रममन्त्री शेरबहादुर कुँवर, सहरी विकासमन्त्री मेटमणि चौधरी, स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङ र स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी छन् ।
प्रदेश १ र बागमती प्रदेशमा मुख्यमन्त्रीसहित ६ प्रदेश सरकारमा एकीकृत समाजवादीको प्रतिनिधित्व छ । प्रदेश १ मा राजेन्द्र राई र बागमतीमा राजेन्द्र पाण्डे मुख्यमन्त्री छन् । गण्डकीमा प्रदेश सांसद नभएकाले समाजवादीबाट सरकारमा प्रतिनिधित्व छैन । लुम्बिनीमा एकीकृत समाजवादीकी एक्ली सांसद पाल्पाकी रमा घर्ती कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री छिन् । यसबीचमा एमालेले आफ्नो चार मुख्य मन्त्री गुमाएको छ ।
संघीय संसदमा ३२ र प्रदेश सभामा ५४ सांसद
एकीकृत समाजवादीका प्रतिनिधिसभामा २३ सांसद छन् । राष्ट्रिय सभामा स्वतन्त्र एकसहित नौ सांसद छन् । एकीकृत समाजवादी गठनअघि भएको राष्ट्रिय सभा उपनिर्वाचनमा माधव नेपालको प्रस्तावमा पाँचदलीय गठबन्धनका तर्फबाट खिमलाल देवकोटा स्वतन्त्र उम्मेदवारका रूपमा निर्र्वाचित भएका थिए । उनले एमाले उम्मेदवार रामबहादुर थापालाई पराजित गरेका थिए । प्रदेश सभामा एकीकृत समाजवादीका ५४ सांसद छन् ।
सुदूरपश्चिममा प्रदेश सभाकै ठूलो दल एकीकृत समाजवादी छ भने मधेस प्रदेशमा एमालेभन्दा समाजवादी ठूलो छ । गण्डकी प्रदेश सभामा एकीकृत समाजवादीका सांसद संख्या शून्य छ । समाजवादीका प्रदेश १ मा १०, मधेसमा १३, बागमतीमा १३, लुम्बिनीमा एक, कर्णालीमा तीन र सुदूरपश्चिममा १४ सांसद छन् ।
महानगरसहित स्थानीय तहमा पनि उपस्थिति
स्थानीय निर्वाचनमा एकीकृत समाजवादीबाट महानगरपालिका प्रमुख एक, उपमहानगरपालिका प्रमुख एक, नगरपालिका प्रमुख १०, गाउँपालिका अध्यक्ष आठ, नगरपालिका उपप्रमुख ११, गाउँपालिका उपाध्यक्ष १२, वडाध्यक्ष एक सय ९०, महिला सदस्य एक सय ८४, दलित महिला सदस्य एक सय ८० र खुला सदस्य तीन सय ८९ गरी जम्मा नौ सय ८६ स्थानमा विजयी भएका छन् ।
विजयीमध्ये महानगरपालिका प्रमुख एक, उपमहानगरपालिका प्रमुख एक, नगरपालिका प्रमुख पाँच, गाउँपालिका अध्यक्ष पाँच, नगरपालिका उपप्रमुख ६, गाउँपालिका उपाध्यक्ष ११ गठबन्धनबाट निर्वाचित भएका हुन् भने बाँकी एक्लै प्रतिस्पर्धा गरेर जितेको हो । वडाध्यक्ष र सदस्यहरू प्रायः एक्लै निर्वाचन लडेर जितेको तुलाधरले बताए । जिल्ला समन्वय समितिमा प्रमुख पाँच, उपप्रमुखमा आठ र सदस्यमा २८ जना निर्वाचित भएका छन् ।
कति छ सांगठनिक शक्ति ?
दुई लाखभन्दा बढी व्यक्ति पार्टीका विभिन्न कमिटीमा संगठित भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । उनका अनुसार करिब पाँच लाख सदस्यता वितरण भइसकेको छ । पाँच हजारभन्दा बढी वडामा समेत कमिटी छन् । केन्द्र, प्रदेश र स्थानीय तहसहित उपत्यका विशेष प्रदेश र गैरभौगोलिक जिल्ला कमिटी, सम्पर्क विशेष प्रदेश र प्रवासमा समेत संगठन विस्तार भएको नेताहरूको भनाइ छ ।
विभिन्न विभाग, जनवर्गीय संगठन, पेसागत संगठन र सामुदायिक संगठनसमेत गठन भएको तुलाधरले बताए । उनका अनुसार केन्द्रीय संरचनामा एक हजार पाँच सय ३६ नेता छन् । केन्द्रीय कमिटी सदस्य तीन सय ६८, केन्द्रीय आयोगका सदस्य एक सय सात, केन्द्रीय सल्लाहकार परिषद् सदस्य एक सय ५७, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च ३८, केन्द्रीय परिषद् सदस्य एक सय १३ र केन्द्रीय विभागमा सात सय ५५ सदस्य छन् । प्रदेश कमिटीमा एक हजार पाँच सय ६६ जना क्रियाशील छन् । प्रदेश १ मा दुई सय ४४, मधेसमा एक सय ६८, बागमतीमा दुई सय १७, गण्डकीमा एक सय ३९, लुम्बिनीमा एक सय ६५, कर्णालीमा एक सय ७०, सुदूरपश्चिममा एक सय ७३, उपत्यका विशेषमा ८२, सम्पर्कमा ६४, भारत प्रवासमा एक सय एक र अन्य प्रवासमा ४३ जना संगठित छन् ।
एमाले नेता कर्ण थापाको टिप्पणी : एकीकृत समाजवादी दक्षिणपन्थी बन्यो
एकीकृत समाजवादी सम्पूर्ण हिसाबले दक्षिणपन्थी बन्यो । कांग्रेसको सहयोगीको रूपमा उसले भूमिका खेलेको छ । उसको लक्ष्य नै जसरी पनि एमालेलाई कमजोर बनाउने छ । कम्युनिस्टलाई कमजोर बनाएर पुँजीवादीलाई बलियो बनाउने वामपन्थी हुन सक्दैनन् । अहिले कम्युनिस्ट विचारधाराको नेतृत्व एमालेले र पुँजीवादीको नेतृत्व कांग्रेसले गरेको छ । अरू पार्टी त दर्शन, सिद्धान्त र प्रतिस्पर्धाको हिसाबले धेरै पछि छन् । एमालेले सबैसँग सहकार्य गर्न सक्छ, तर षड्यन्त्रकारीसँग कदापि सहकार्य हुँदैन । -नयाँ पत्रिकाबाट








