चुनावको मुखमा प्रचण्ड गृहजिल्लामा सक्रिय, तीन आयोजनाको शिलान्यास

चितवन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृह जिल्लामा सक्रिय भएका छन् । आज उनले आफ्नो क्षेत्र चितवन ३ मा पर्ने माडीमा ३ वटा आयोजनाको छुट्टाछुट्टै शिलान्यास गरे।

चितवन क्षेत्र नम्बर ३ का सांसद रहेका अध्यक्ष प्रचण्डले रिउ खोलाको पुलदेखि बनकट्टासम्म बाटो ढलान तथा बरुवा, वसन्तपुर, कल्याणपुर, कीर्तनपुर र देवेन्द्रपुर बजारहरूमा नाला निर्माण, चिरौलीको भ्यागुते घोलमा पुल र मगुईनजिकै कजवे निर्माणका लागि करिब ८ करोड रुपैयाँ बजेटमा भएको एकीकृत टेण्डरकोे शिलान्यास गरेका छन् ।

त्यस्तै निर्वाचन क्षेत्र कार्यक्रम अन्तरगत बरुवा बजारबाट भैरवपुर, पर्सा चोक हुँदै सितलपुर (गंगटे खोला) पुग्ने १३ किलोमिटर कालोपत्रे तथा ८ वटा कल्भर्ट र नालासहितको २५ करोड रुपैयाँ बजेट रहेको रणनीतिक सडकको पनि अध्यक्ष प्रचण्डले शिलान्यास गरेका छन्।

त्यस्तै, नारायणी तटबन्ध आयोजना भरतपुरद्वारा निर्माण हुन लागेको करिब २० करोड बजेटको टम्टा, परुई, मगोई र चितई खोला तटबन्ध कार्यक्रमको पनि प्रचण्डले शिलान्यास गरेका छन् ।

यस्तै आज अध्यक्ष प्रचण्डले माडी–ठोरी हुलाकी सडक अन्तरगत पर्ने रतनी पुलको उद्घाटन पनि गरेका छन् । माडीमा हुलाकी सडकमा ११ वटा पुल निर्माण भएका छन् । यो पुलसँगै ३ वटा पुलको उद्घाटन भइसकेको छ । बाँकी ८ वटा पुलको वातावरणीय प्रभाव मूल्याङ्कन ९ईआईए० गर्न बाँकी रहेको भन्दै चितवन राष्ट्रिय निकुञ्जले निर्माण कार्य रोकेको छ ।

शिलान्यास तथा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माडीमा सोचेको जति विकास गर्न नसकेको बताए। माडीमा विकासले गति भने लिइरहेकाले अन्य पालिकाको तुलनामा धेरै राम्रा काम भएको उल्लेख गरे । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले प्रचण्डलाई सांसदका रूपमा पाउनु माडीको लागि अवसर भएको बताए ।

प्रचण्डलाई विकासको नेतृत्व र देशकै नेतृत्व गर्ने व्यक्तिका रूपमा प्रस्तुत गर्दै ४ वर्षको बीचमा माडी क्षेत्रमा उल्लेख्य विकास र परिवर्तन भएको आफूले देखेको बताए। माडीको विकासका लागि आचार संहिता लाग्नु अगावै दर्जनौँ कार्यक्रमहरू शिलान्यास भई चुनाव अगावै अगाडी बढाउने उनले प्रतिबद्धता जनाए। यस्तै  वन मन्त्री प्रदीप यादवले माडीको विकासका लागि वन मन्त्रालय बाधक नबन्ने बताए ।

माडीमा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) गर्न बाँकी पुलको काम चार दिनभित्र सक्ने प्रतिबद्धता व्यक्त गरे । आउँदो संघीय र प्रादेशिक निर्वाचन अगावै माडीबासी र निकुञ्जबीचको द्वन्द्व समाप्त भइसक्ने र आफ्नो मन्त्रालयबाट कुनै अवरोध नरहने उनको जिकिर थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + nineteen =