‘जबराविरुद्धको महाअभियोग अगाडि नबढ्नुको कारण सभामुखले दिनुपर्छ’

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग ६ महिनासम्म अगाडि नबढ्नुको कारण सभामुख अग्नि प्रसाद सापकोटाले दिनुपर्ने बताएका छन् ।
महाअभियोग सिफारिस समितिको सिंहदरबारमा बसको दोस्रो बैठकमा बोल्दै एमाले उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन् । यो समितिको पहिलो बैठक भदौ १ गते बसेको थियो । पहिलो बैठकमा उपाध्यक्ष पौडेल अनुपस्थित थिए । मंगलबार बसेको दोस्रो बैठकमा उपस्थित भएर उनले महाअभियोग ६ महिनासम्म अगाडि नबढ्नुको कारण थाहा पाउनुपर्ने बताएका हुन् ।
महाअभियोग दर्ता भएपछि सदन नचलेको भए १५ दिनभित्र बोलाउनुपर्ने र चलेको भए तीन दिनभित्र गराउनुपर्ने प्रावधान उल्लंघन भयो । सदन चलिरहेकै अवस्थामा ६ महिनासम्म छलफलमा नल्याउनु सिरियस विषय हो । अहिले यो महाभियोग किन ल्यायो भन्ने प्रश्न उठेको छ’ उनले भने ।
सभामुखतर्फ लक्षित गर्दै उनले थपे, ‘६ महिनासम्म महाअभियोग किन छलफलमा ल्याइएन रु म यसको जवाफ चाहन्छु । के कारण, किन हो रु प्रश्नको नपाईकन समितिले जबाफदेही हिसाबले काम गर्न सक्दैन ।’
निर्वाचनको मिति घोषणा भएपछि महाअभियोग अगाडि बढाएकाले संशय पैदा गरेको उनको भनाई छ । ‘समितिलाई कानुनले तीन महिना समय भनेको छ, समय छैन, तीन महिना नै छानबिनमा लाग्ने भए के गर्ने रु किन ढिलो गरियो, सम्बन्धित पदाधिकारीको जवाफ चाहिन्छ । सभामुखले जवाफ दिनुपर्छ ।’
४ मंसिरमा हुने प्रदेश र संघीय चुनावका लागि आगामी असोज २ गते समानुपातिक तर्फको बन्द सूची बुझाउनु भएकाले त्यसभन्दा पछाडि समितिलाई काम गर्न नैतिक प्रश्न हुने भएकाले समयको चाप रहेको भन्दै उनले यस्तो प्रश्न उठाएका हुन् ।
१ फागुन २०७८ मा प्रतिनिधिसभामा दर्ता भएको जबराविरुद्धको महाअभियोगउपर अध्ययन गर्ने जिम्मेवारी महाअभियोग सिफारिस समितिले २२ साउनमा पाएको थियो । जिम्मेवारी पाएको ९ दिनपछि महाअभियोग सिफारिस समितिको पहिलो बैठक बसेको थियो । दोस्रो बैठक मंगलबार बसेको हो ।








