पशु चिकित्सकहरूद्वारा सिंहदरबार घेराउ, कृषि मन्त्रीको पुत्ला दहन

काठमाडौं । ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को विरोध गर्दै सोमबार पशु चिकित्सकहरूले सिंहदरबार घेरेर विरोध प्रदर्शन गरेका छन् । नेपाल भेटनरी एसोसिएसनको अगुवाइमा भएको विरोध कार्यक्रम अन्तर्गत सिंहदरबार घेरिएको हो ।

सिंहदरबार घेराउपछि माइतीघर मण्डला हुँदै बानेश्वर आएको -याली कोणसभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै पशु चिकित्सकहरूले साउन ३१ गते प्रतिनिधिसभाबाट पारित विधेयकका त्रुटि सच्याउन माग गरेका छन् ।

विरोधका क्रममा मन्त्रीको पुत्ला दहन गर्ने लगायतका कार्य भएको थियो । पशु चिकित्सकहरू प्रतिनिधिसभाबाट विधेयक पारित भए लगत्तै चरणबद्ध आन्दोलनमा उत्रिएका छन् ।

सोमबार छैटौँ दिनको विरोधको कार्यक्रम सकिएको र मंगलबार विशेष भेला गरेर आन्दोलनका थप कार्यक्रम र रणनीति तय गरिने एसोसिएसनले जनाएको छ ।

३५ दिन तालिम लिएका ग्रामीण पशु सेवा कार्यकर्ता र पशु चिकित्सकलाई एउटै हैसियत प्रदान गर्ने गरी विधेयक पारित भएको भन्दै पशु चिकित्सकहरू आन्दोलित भएका हुन । पशु चिकित्सकहरु आन्दोलित भएपछि अत्यावश्यक सेवाबाहेकका सबै खाले सिफारिस बन्द भएका छन् ।

पशु चिकित्सका माग सुन्न दबाब 

पशु चिकित्सकहरू आन्दोलित भएपछि सेवा प्रभावित भएको भन्दै सरोकारवालाहरूले सरकारको ध्यानाकर्षण गरेका छन् । सोमबार नेपाल मत्स्य व्यवसायी संघले पत्रकार सम्मेलन नै गरेर पशु चिकित्सकहरूको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ ।

नेपाल मत्स्य व्यवसायी संघ चितवनले पत्रकार सम्मेलन गर्दै सरकारलाई खबरदारी गरेको हो । संघका अनुसार पशु चिकित्सकहरू आन्दोलित भएपछि सेवा प्रभावित मात्रै नभएर व्यवसाय समेत प्रभावित हुन पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 9 =