उच्च अदालतमा अमितको दाबी– मलाई बदनियतपूर्ण थुनाइयो, प्रमाणको गलत व्याख्या भयो

काठमाडौँ । व्यवसायी अमित श्रेष्ठले जिल्ला अदालतले झुटो तथ्यमा आारित भएर आफूलाई पुर्पक्षमा पठाउने आदेश गरेको दाबी गरेका छन् । उनले उच्च अदालत पाटनमा दिएको दफा ७३ अन्तर्गतको निवेदनमा जिल्ला अदालतको फैसलामाथि प्रश्न उठाउँदै आफूमाथि लगाइएको आरोपको खण्डन गरेका छन् ।
अमितको अफगानिस्तान र दुबईमा रहेको खातामा करोडौँ रुपैयाँ रहेको अभियोजनमा दाबी गरिएको थियो । तर उक्त रकम आफू सन् २००५ देखि २०१४ सम्म अफगानिस्तान र दुबईमा रोजगारी एवं व्यवसाय गर्दाको आम्दानी भएको दाबी गरेका छन् ।
विदेशमा रहेको अवश्थामा भएको आम्दानी अन्य मुलुकमा लगानी गर्न विदेशी विनमय (नियिमत गर्ने) ऐन २०१९ को दफा १० (क) ले अनुमित प्रदान गरेको अमितले दाबी पेश गरेका छन् । सोही ऐन अनुसार विदेशमा भएको आम्दानीलाई विदेशमै लगानी गर्न वा हस्तान्तरण गर्न नेपालको कानुनले बाधा नगरेको पनि उनको दाबी छ ।
आफूविरुद्ध दायर अभियोगमा नेपालबाट गैरकानुनी माध्यम हुण्डिबाट रकम विदेश लगेको भन्ने सम्बन्धमा कुनै तथ्य प्रस्तुत नभएको र आफ्नो नाममा विदेशमा रहेको खातामा केही रकम भएकै आधारमा उक्त रकम स्वतः नेपालबाट गैरकानुनी माध्यम हुण्डिमार्फत लगिएको अनुमान गरेको उनले बताएका छन् । विदेशको खातामा पनि अभियोजनमा दाबी गरेजति रकम नभएको र न्यून रकम रहेको बताएका छन् ।
आफ्नो इमेलमा क्रिप्टो र बिटक्वाइन सम्बन्धी इमेल आएको भन्ने काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको पत्रकै आधारमा आफूमाथि आरोप लगाइएको उनको भनाइ छ । तर प्रहरीकै फरेन्सिक ल्याबले भने अमितका कुनै पनि उपकरणमा क्रिप्टो र बिटक्वाइन सम्बन्धी कारोबार गरेको पुष्टि नभएको प्रतिवेदन दिएको थियो ।
उच्चमा अमितको दाबी–अभियोग नै नलिइएको जिकिर र आरोपमा आदेश
अमितलाई सुरुमा प्रहरीले क्रिप्टोको आरोपमा पक्राउ गरेको थियो । तर पछि उनीबाट बरामद उपकरणको परीक्षण गर्दा त्यो पुष्टि नभएको रिपोर्ट फरेन्सिक ल्याबले दिएको थियो ।
एउटा ल्यापटपमा आएको क्रिप्टो र बिटक्वाइन सम्बन्धी इमेलकै आधारमा सोही कुरा उल्लेख गरी आफूलाई पुर्पक्षका लागि पठाइएको तर नेपाल सरकारले आफूविरुद्ध दायर गरेको मुद्दामा क्रिप्टो र बिटक्वाइन सम्बन्धी अवैध कारोबार गरेको भन्ने आरोप नै नरेहको अमितको दाबी छ । आरोप नै नलागेको विषयलाई उल्लेख गरी सोही विषयलाई आधार लिई आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गम्भीर रुपमा त्रुटीपूर्ण रहेको दाबी गरेका छन् । सरकारले अभियोग नै नलगाएको विषयमा अदालतले कसुरदार हुन सक्ने भनी अनुमान गर्नु फौजदारी न्यायको मान्यता प्रतिकुल हुने उनले बताएका छन् । सर्वोच्च अदालतले नै विभिन्न मुद्दामा गरेको व्याख्याबाट पनि यस्तो गर्न नमिल्ने भन्दै उनले नजिरसमेत पेश गरेका छन् ।
उनले हुण्डिमार्फत विदेशमा रकम लगेको आरोपको पनि खण्डन गरेका छन् । जिल्ला अदालतको आदेशमा तत्काल के कुन प्रमाणबाट आफूले गैरकानुनी ढंगबाट हुण्डीमार्फत विदेश रकम लगेको भन्ने प्रमाणित हुन्छ भन्ने उल्लेख नै नभएको र आदेशमा आफूलाई पुर्पक्षका लागि थुनामा राख्नु सान्दर्भिक एवं कानुन बमोजिम विद्यमान हुनुपर्ने आधार उल्लेख गर्नुको सट्टा मुद्दा र अभियोजनसँग सम्बन्ध नै नराख्ने असान्दर्भिक तथ्य र विषयको आधारमा आदेश भएको अमितले उच्च अदालतमा दाबी पेश गरेका छन् ।
विदेशमा भएको रकमका सम्बन्धमा पनि अनुसन्धान अधिकृत र अदालतमा छुट्टा छुट्टै बयान दिएको भन्ने जिल्ला अदालतको आदेश काल्पिनिक, आश्चर्यजनक र अन्यायपूर्ण भनेका छन् । रोयल बैंकमा भएको ४८ लाख ६० हजार १९०.७७ डलर अष्ट्रेलियामा रहेको बैंकबाट ट्रान्सफर गरेको भनी आफूले नभनेको पनि उनको जिकिर छ । उक्त रकम नेपालमा भएको सम्पत्ती बिक्री गरेर जम्मा गरेको भनी बयान नदिएको पनि अमितको दाबी छ ।
यी कुरा अभियोगमा पनि नभएको र अदालतले कल्पना गरेको अमितको आरोप छ । काल्पनिक तथ्य निर्माण गरी आफूलाई थुनामा पठाइएको भन्दै यस्तो कठोर आदेश हुनु कानुनी रुपमा त्रुटिपूर्ण र कहाली लाग्दो भएको जिकिर गरेका छन् ।
अष्ट्रेलियाको बैंकबाट वैधानिक रुपमै रकमान्तर गरेको कुरा आफूले स्वीकार गरेको भए पनि अदालतले त्यही कुरालाई साविति गरेको जसरी आदेश गरेको भन्दै अमितले खण्डन गरेका छन् ।
अष्ट्रेलिया तथा क्यानडाको बैंक खातामा भएको रकमको श्रोतमा प्रश्न उठाएको भन्दै यस विषयमा आफूले बयानमा विस्तृत खुलाइसकेको अमितको दाबी छ । तर सरकारले त्यो रकमको श्रोत प्रमाणित नगरेको र त्यो प्रमाणित गर्ने दायित्व आफ्नो नभएर सरकारकै भएको अमितले बताएका छन् । तर सरकारले त्यहाँ जम्मा भएको रकमको श्रोत यी यी हुन् भनेर भन्न सकेको अवस्था नरहेको उनले बताएका छन् । प्रहरीको अभियोजनमा आफूले क्रिप्टो र बिटक्वाइन सम्बन्धी कारोबार गरेको हुनसक्ने आशंका मात्रै गरिएको तर त्यसलाई सरकारले नै अस्वीकार गरी आफूविरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ अन्तर्गत क्रिप्टो र बिटक्वाइन सम्बन्धी अवैध कारोबार गरेको भनी अभियोग दर्ता नभएको उनले भनाइ छ ।
छोटो समयमा नै एउटा खाताबाट अर्को खातामा रकम सार्नुलाई अदालतले प्रमाण मानेको भन्दै त्यो अभियोगको प्रमाण हुनै नसक्ने उनको जिकिर छ । उनले सन् २००५ देखि २०१४ सम्म अफगानिस्तानमा सुरुमा अन्तर्राष्ट्रिय संस्थामा रोजगारी गरेको र पछि आफ्नै व्यवसाय सञ्चालन गरेको जानकारी गराएका छन् । व्यवसायको क्रममा दुवईमा समेत कम्पनी स्थापित गरेर अफगानिस्तान बेलायत सरकारलगायत अन्य निकायलाई सामाग्री आपूर्ति गर्ने कार्य गरेको बताएका छन् ।
उनले रोजगारी र व्यवसाय गर्दाका सम्झौता तथा अन्य प्रमाण पनि पेश गरेका छन् । बेलायती सेनालाई आफ्नो कम्पनीले विभिन्न सामाग्री आपूर्ति गरेवापत बेलायत सरकारले तक्मासमेत प्रदान गरेको उनको निवेदनमा उल्लेख छ । व्यवसायकै क्रममा दुबई र अफगानिस्तानमा खाता रहेको भन्दै बैंक खाताको विवरण बयानका क्रममा पेश गरिसकेको र त्यहाँ आर्जन गरेको सम्पत्ति नेपाल ल्याई विभिन्न व्यवसायमा लगानी गरेको उनको दाबी छ । आफूले नेपालबाट बाहिर गैरकानुनी रुपमा विदेशमा सम्पत्ति नलगेको र कुनै कैफियत देखाउन नसकेको पनि उनले बताएका छन् ।
अष्ट्रेलियाको खातामा रहेको १ लाख ६७ हजार ९५३ डलर नेपालबाट गैरकानुनी रुपमा लगेको नभई दुबईमा कमाएको र त्यहाँ रहेको खाताबाट सारेको उनले प्रष्ट्याएका छन् । पछि अष्ट्रेलियाको खाता नै बन्द गराएको र त्यही रकम क्यानडाको खातामा सारिएको उनको दाबी छ । अमित क्यानडाकै स्थायी बासिन्दा पनि हुन् । सोही कारण त्यहाँ खाता खोल्नु स्वभाविक भएको उनको भनाइ छ ।
क्यानडाको रोयल बैंकको खातामा २ लाख ३२ हजार ३ डलर रहेको भनि मुद्दामा उल्लेख भए पनि हाल उक्त खातामा ५ हजार डलर मात्रै भएको उनले बताएका छन् ।
अनुसन्धानका क्रममा त्यहाँ जम्मा भएको र झिकिएको रकमलाई पनि बदनियत ढंगबाट गणना गरी वास्तविक भन्दा बढी रकम देखाइएको बताएका छन् । बैंक खातामा २३३.८८ डलर मौज्दात भए पनि २ लाख ३२ हजार ३ डलर रहेको भनी मुद्दा दर्ता गरेको उनले उच्चमा जानकारी गराएका छन् ।
उनीविरुद्धको अभियोगमा क्यानडामा उनले ४८ लाख ६० हजार १९०.७७ डलरको शेयर खरिद गरेको उल्लेख छ । विदेशमा नेपालीले शेयर खरिद गर्नु गैरकानुनी नभएको तर आफूले त्यो मात्रामा शेयर किनेको नभई ५ हजार ३१९.५९ डलरको मात्रै शेयर खरिद गरेको बताएका छन्। यसको प्रमाणसमेत उनले अदालतमा पेश गरेका छन् ।
याहु एपको गलत ब्याख्या
आफू र श्रीमतीले क्यानडाको कर कार्यालयमा बुझाएको आयकर विवरणबाट पनि यो कुराको पुष्टि हुने उनको दाबी छ । अमितमाथि अभियोग पुष्टि गर्न दुई वटा फोटो अदालतमा पेश गरिएको थियो । त्यो मध्ये एउटा हो– याहु फाइनान्स एप को स्क्रिनसट । त्यो स्क्रिनसटमा अमितको याहु फाइनान्स एपबाट लिएको प्रष्ट नभएको र आफूले त्यसको युजरनेम र पासवर्ड प्रहरीलाई उपलब्ध गराइसकेको बताएका छन् ।
तर याहु फाइनान्स एपको स्क्रिनसटलाई आधार लिँदा आफ्नो याहु फाइनान्स एपको विवरणमा कुनै कुरा उल्लेख गर्न नसकेको बताएका छन् । यसको कारण क्यानडामा रहेको आफ्नो खातामा ५ हजार ३१९ डलर मात्रै हुनु रहेको उनको दाबी छ । आफूमाथि लगाइएको ४८ करोड बढीको आरोप पुष्टि नहुने भएकै कारण यसो गरिएको उनको शंका छ ।
यस्तै याहु फाइनान्स एप कुनै व्यक्तिको शेयर लगानी प्रतिविम्बित गर्ने प्रयोजनको निमित्त निर्माण गरिएको विवरण नभएको उनले बताएका छन् । अनुमानित वा परिकल्पित शेयर लगानीको प्रक्षेपण गर्न प्रयोग गरिने भएको र यो एप जो कसैले पनि डाउनलोड गरेर आफूले चाहेको कम्पनी र शेयरको कित्ता उल्लेख गरेर शेयरको मूल्यलाई अनुमान गर्न प्रयोग गर्न सकिने बताएका छन् ।
अमितका कानुन व्यवसायीले यो एप डाउनलोड गरेर विभिन्न शेयर विवरण उल्लेख गरेकोमा अहिलेसम्म भएको प्रक्षेपणसमेत उनले उच्च अदालतमा पेश गरेका छन् । यसले पनि यो एपको बारेमा थप प्रष्ट हुने उनको तर्क छ । यही प्रक्षेपणको आधारमा आफूमाथि ४८ करोड बढीको शेयर खरिद गरेको भन्ने अनुमान गरिएको उनले बताएका छन् । आफूमाथि लगाइएका आरोपको खण्डन गर्दै अमितले थुनामुक्त गर्न माग गरेका छन् । आगामी बिहीबार उच्च अदालतमा उनको मुद्दाको पेशी छ ।
सम्बन्धित समाचार
थुनामा पठाउने जिल्ला अदालतको आदेश बदरको माग गर्दै अमित उच्च अदालतमा
अमितले क्रिप्टोको काराेबार गरेकाे भन्ने आरोप प्रहरीकै ल्याबबाट भएन पुष्टि









