एकीकृत शहरी परियोजना : इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

एजेन्सी । इजिप्ट र संयुक्त अरब इमिरेट्स (युएई) का दुई प्रमुख कम्पनीहरूले नयाँ कायरोमा ३.१ अर्ब अमेरिकी डलरभन्दा बढीको बृहत् एकीकृत शहरी परियोजना विकास गर्न एक रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

इजिप्टको मन्त्रिपरिषद्द्वारा जारी विज्ञप्तिअनुसार, नयाँ कायरोको मडा सिटीमा निर्माण हुने यस परियोजनाका लागि इजिप्टको मिदार फर इन्भेष्टमेन्ट एण्ड अर्बन डेभलपमेन्ट र युएईस्थित माजिद अल फुतैम होल्डिङबीच साझेदारी भएको हो ।

यो परियोजना कुल ५५३ फेडान (करिव २.३२ वर्ग किलोमिटर) क्षेत्रफलमा फैलिनेछ । हस्ताक्षर समारोहमा सहभागी इजिप्टका प्रधानमन्त्री मुस्तफा मदबोलीले यस परियोजनालाई निजी क्षेत्रको साझेदारीको एक सफल नमूनाको रूपमा चित्रण गरे ।

उनले यति ठूलो स्तरको परियोजना प्रत्यक्ष रूपमा करिब ९० देखि ९५ वटा विभिन्न उद्योग र सेवाहरूसँग जोडिने उल्लेख गर्दै यसबाट लाखौं इजिप्टेली युवा तथा कामदारहरूका लागि दिगो रोजगारीका अवसरहरू सिर्जना हुने विश्वास व्यक्त गरे ।

समारोहमा माजिद अल फुतैम होल्डिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अहमद जलाल इस्माइलले सन् १९९० को दशकदेखि इजिप्टका १९ वटा प्रान्तमा आफ्नो कम्पनीको लगानी २.८ अर्ब डलर नाघिसकेको जानकारी दिए ।

उनकाअनुसार यस लगानीबाट हालसम्म २ लाख २६ हजारभन्दा बढी रोजगारी सिर्जना भइसकेका छन् ।

त्यसैगरी, मिदारका प्रबन्ध निर्देशक एवं सीईओ आयमान एल्कुसीले यस नयाँ परियोजनाबाट भविष्यमा ४० अर्ब इजिप्टेली पाउन्ड (करिव ८३ करोड अमेरिकी डलर) भन्दा बढी प्रतिफल प्राप्त हुने अपेक्षा गरिएको बताए ।

उनले मिदारले इजिप्टमा ४६ वटा विकास परियोजनाहरू कार्यान्वयनका लागि हालसम्म २९ भन्दा बढी विकासकर्ताहरूलाई आकर्षित गरिसकेको समेत जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =