वन मन्त्रालयमा नमुनाको काम गर्छु : मन्त्री यादव

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादवले आफू वन तथा वातावरण मन्त्रालयमा मन्त्रीका हैसियतले रहँदासम्म विकासको क्षेत्रमा नमुना काम गरेर देखाउने बताएका छन् ।
आइतबार नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको वातावरण संरक्षण दिगो विकासका वर्तमान चुनौतीहरू विषयक कार्यक्रममा बोल्दै मन्त्री यादवले आफू विकासको बाधक नभएको बताए ।
‘म र मेरो मन्त्रालय विकासको बाधक होइन, म जति दिन मन्त्रालयमा रहन्छु, त्यति दिन नमुना काम गर्ने छु,’ उनले भने । यसैगरी मन्त्री यादवले वन तथा वातावरण मन्त्रालय ताली खाने भन्दा पनि गाली खाने मन्त्रालय भएको बताए ।
‘रुख काट्ने अनुमति दिउ मन्त्रीले वन विनास गर्यो, वन मारा मन्त्री आयो भनेर गाली गर्छन्, रुख काट्ने अनुमति नदिउ विकास रोक्यो, विकास बिरोधी मन्त्री आयो भन्छन्,’ मन्त्री यादवले थपे, ‘हामी गाली सहेर भए पनि विकासको क्षेत्रमा नमुनाको काम गर्ने छौँ ।’
मन्त्री यादवले आम नागरिक, नागरिक समाज, विज्ञ एवम् पत्रकारहरूका राय, सुझावका आधारमा आफूले काम गर्ने प्रतिबद्धता जनाए । वन तथा वातावरणका क्षेत्रमा निस्वार्थ भावना लिएर राम्रो काम गर्नुका साथै वन क्षेत्र जोगाउनमा उल्लेख्य योगदान गरेको भन्दै मन्त्री यादवले नेपाल वातावरण पत्रकार समूह तथा पदाधिकारीहरूलाई धन्यवाद व्यक्त गरे ।








