जीवनमा पिताजत्तिकै प्रभाव राख्ने प्रदीप गिरि !

अबिच्युरी

काठमाडौँ । आज म प्रदीप दाईको बारेमा यस्तो कुरा लेख्न गइरहेको छु जुन नियति ले निर्धारित गरेको हो । उहाँलाई माया गर्ने धेरै जना छन् । उहाँप्रति सबैको प्रेमभावप्रति मेरो असीम आदर छ । तर आज मैले यो लेखिनँ भने शायद कहिले पनि लेख्न सक्दिनँ होला ।

उहाँको कान्छो भाई लक्ष्मण गिरि र प्रदीप दाईबीच अचम्भको प्रेम थियो । त्यहाँ भक्ति पनि थियो र सखाको प्रेम पनि थियो । हामी तीनैजना सँगै भएको बेला म यो भन्दै जिस्काउँथिएँ पनि कि ‘इन्जिनियर साहेब आपके भाई से भी ज्यादा आपके कार्यकर्ता जैसे हैं’ । दुई जनाबीचको असीम प्रेमको एक कडी म पनि थिएँ ।

प्रदीप दाईसँग मेरो भेट पटनामा भएको थियो । भर्खर क्लास ११ को जाँच दिएको थिएँ । मेरो काकी नेपालको हुनुहुन्छ र निर्वासनको समयमा उहाँहरू पटना गई राख्नुहुन्थियो । त्यस्तै एउटा भ्रमणको दौरानमा पटनामा तीनरचार जना नेपाली मेरो काकीको कोठामा बस्नु भएको थियो । म बाहिर थिएँ र मलाई बोलाइयो ।

म कोठामा पसी एक कुनामा बसिहालेँ । उहाँले एक पछि अर्को प्रश्न गर्न थाल्नुभयो, हिन्दीमा । मैले सकेसम्म एउटा राम्रो विद्यार्थीजस्तो जवाफ दिँदै गएँ । त्यसपछि केही बेर चुप लाग्नु भयो र एक्कासी हाँस्दै भन्नुभयो–‘मेरी अभी शादी नही हुई है, चलो तुम मेरे साथ भाग चलो ।’

कस्तो–कस्तो लाग्यो । म त्यसबेला मात्र १६ वर्ष को थिएँ । यो मजाक हो कि केहो जस्तो पनि लाग्यो । चुपचाप कोठाबाट बाहिर निस्केँ । यस घटनाको लगभग २ वर्षपछि मेरो लक्ष्मण गिरिसँग मागी विवाह भएको हो ।

विवाह गरेपछि बस्तीपुर आएपछि परिवारका सदस्यहरूबारे बुझ्दा विस्तारै थाहा भयो प्रदीप गिरि भन्ने व्यक्ति लक्ष्मण गिरिका दाजु हुनुहुन्छ । पछि मैले थाहा पाएँ प्रदीप गिरि त्यही व्यक्ति हुनुहुन्थ्यो जसलाई मैले पटनामा भेटेको थिएँ । उहाँ विवाहमा शरिक हुनुभएको थिएन । पछि भन्नु भयो–‘जब पता चला कि मेरे ही भाई से तुम्हारी शादी हे रही है तो कुछ अजीब सा लगा और मैँ शादी मेँ नहीं आया ।’

प्रदीप दाईसँगको थोड बहुत संगतमा उनको विद्वतासँग प्रभावित न हुने त कुरा नै थिएन । जेठाजु र बुहारीको सम्बन्ध यस्तो हुन्छ कि मैले उहाँसँग सिक्ने अवसर वा समय पाइनँ । तर टाडा भए पनि राजनीतिमा उहाँ मेरो प्रेरणाको श्रोत जहिले पनि रहनुभयो । उहाँको प्रभावमा मलै आध्यात्मिकतालाई पनि बुझेँ । प्रेमको आध्यात्मिक स्वरुप के हुन्छ, मैले उहाँको संगतमा बुझेँ ।

जीवनमा जस्तोसुकै कठोर मोडमा उहाँको र उहाँको भाई लक्ष्मण गिरिको प्रेम र संरक्षण पाउने भाग्यमानीमध्येको एक म पनि हुँ । मेरो जीवनमा पिताबाहेक प्रभाव राख्ने दुई पुरुष लक्ष्मण गिरि र प्रदीप गिरि हुन् । आज उहाँहरू तीनै जना यस संसारमा हुनुहुन्नँ ।

तीनै जनाप्रति असिम श्रद्धा र प्रेम व्यक्त गर्दछु ।

सरिता गिरिकाे फेसबुकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + seven =