एमालेकाे स्वीकाराेक्ति- ‘पार्टी विभाजनका कारण अप्ठ्यारोमा छाैँ’

काठमाडाैँ । नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले अहिले एमाले अप्ठ्याराे परिस्थितिमा रहेकाे बताएका छन् । ‘२०५६ को चुनावमा जस्तै अहिले पनि एमाले अप्ठ्यारो स्थितिमा रहेको छ,’ उनले भनेका छन्, ‘यसका बाबजुद एमाले चुनावको तयारीमा छ ।’
आइतबार प्रेस चौतारी, कास्कीले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा पत्रकारहरूसँग सवालजवाफ गर्दै उनले थपे, ‘२०५६ सालमा भएको चुनावमा पार्टी विभाजित भए पनि हाम्रा विरुद्धमा कसैको गठबन्धन थिएन । अहिले हामी विभाजनको अवस्थामा पनि पर्ने र सँगसँगै विभिन्न दल मिलेर गठबन्धन पनि गर्ने दुई चुनौती हाम्रा सामु छन् । यी दुवै चुनौतीलाई हामीले गम्भीरतापूर्वक एनालाइसिस गरेका छाैँ ।’
नेकपा विभाजनको क्रम सँगसँगै एमालेभित्र पनि विभाजनको स्थिति उत्पन्न भएको, सानै हिस्सा वा सानै संख्यामा गएको भए पनि त्यसले विभाजनको छाप छाडेको र जनतामा प्रभाव पनि परेको पाण्डेको भनाइ छ । ‘गठबन्धनबाट मुलुकले समाधान पनि नपाउने, गठबन्धन केका लागि भन्दा समस्या समाधानको लागि भन्ने तर गठबन्धन आफैँ समस्या बनेर आयो भने न त मुलुकले समाधान पायो न कुनै एउटा दललाई अगाडि बढ्नका लागि बाटो खोलियो,’ उनले भनेका छन् ।
यसअघि भने अध्यक्ष केपी शर्मा ओलीसँगै शीर्षस्थ नेताहरूले विभाजन र गठबन्धनले कुनै असर नगरेकाे जिकिर गर्दै आएकाे थियाे ।








