प्रदीप गिरी : ढल्याे विचारको एउटा ‘विश्वविद्यालय’

काठमाडौँ । विचारका प्रवर्द्धक नेपाली कांग्रेसका नेता प्रदीप गिरी कम्युनिष्टका समेत विचारक मानिन्थे । राजनीतिज्ञको मात्र होइन, नेपाली जनतामाझ प्रिय थिए । विचार र सिद्धान्तको विश्वविद्यालय नै हुन् गिरी ।

उनै नेता गिरी ७५ वर्षको उमेरमा हामी सबैलाई छोडेर गएका छन् । काँग्रेस प्रमुख सचेतक मीनबहादुर विश्वकर्माका अनुसार ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको पुष्टि गरेका छन् । शनिबार राति ९ बजेर ३० मिनेटमा गिरीको निधन भएको हो ।

नेपाली कांग्रेसका अनुसार गिरीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिनेछ । आजै गिरीको पार्थिव शरीरको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने नेपाली काँग्रेसले सचेतक विश्वकर्माले बताए । घाँटीमा घाउ भएपछि भारतमा पुगेर गिरीले घाँटीको सफल शल्यक्रिया गरेका थिए । शल्यक्रिया सफल भएपछि नेपाल आएका गिरीलाई घरमै निमोनियाले समात्यो । निमोनियाले समातेपछि उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरियो ।

प्रतिनिधिसभा सदस्य गिरीको दुई साताको उपचारपछि मेडिसिटी अस्पतालमा निधन भएको परिवारले जनाएका छन् । नेता गिरी मूलतः विचारक थिए । सिद्धान्तमा अडिग थिए । उनी कम्युनिष्टलाई समेत समाजवादी चिन्तन पढाउन सक्ने थिए । उनको निधनले विचारको विश्वविद्यालय ढलेको अनुभूति भएको नेताहरूले प्रतिक्रिया दिएका छन् ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीप्रति श्रद्धाञ्जली व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले ट्विटरमार्फत भनेकी छन्, ‘गिरीको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौँ ।’

शेरबहादुर देउवाले काँग्रेस नेता प्रदीप गिरीको निधनले देशले एक सच्चा र असल नेता गुमाएको बताएका छन् । सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै देउवाले नेपाली राजनीतिका समाजवादी चिन्तक गिरीजीको निधनको खबरले निकै स्तब्ध भएको बताए ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस नेता प्रदीप गिरीको निधनबाट मर्माहत भएको बताएका छन् । ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘चिन्तनशील राजनीतिकर्मी, मित्र प्रदीप गिरीको निधनबाट मर्माहत भएको छु ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरीको निधनले स्तब्ध भएको बताएका छन् । उनले गिरीरिको निधनले नेपाली राजनीतिमा गहिरो अभावको अनुभूति भएको बताए ।

प्रदीप गिरी मार्क्सवादी अध्येता थिए । अहिलेको समाजवादी आन्दोलनका उच्च व्यक्ति थिए । बौद्धिकता, राजनीतिक सक्रियता र प्रतिबद्धतालाई एकैठाउँमा राखेर हेर्दा प्रदीप गिरी कद उच्च थियो । कहिल्यै सत्ताप्रति मोह नराख्ने, मनमौजी र समाजवादी आन्दोलनप्रति प्रतिबद्ध रहेका गिरीको निधनले समाजवादी आन्दोलनमा ठेस लागेको अनुभूति सबै नेताहरूमा भइरहेको छ ।

अथक योद्धा र महान् गुरु गुमाएको अनुभूति कम्युनिष्ट तथा काँग्रेस नेताहरूलाई भइरहेको छ । सिराहामा २००४ मा जन्मिएका गिरी स्वार्थ, सम्पत्ति, शक्तिको प्रलोभनमा कहिल्यै परेनन् । कहिल्यै उनलाई सत्ताको भोकले छोएन । सदैव बोले, लेखे र चिन्तन गरे, सबैलाई पाठ पढाए । आज उनको निधनले एउटा विश्वविद्यालय ढलेको अनुभूति नेताहरूलाई भइरहेको छ ।

२०२४ सालमै छात्र संघका उपाध्यक्ष निर्वाचित गिरीले जवाहरलाल नेहरु विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरे । २०२५ र २०४२ सालमा गरी चार वर्ष जेल जीवन बिताए । बहुदल आएपछि गिरि पटक-पटक सांसद भएका छन् । २०५१ मा उनी पहिलो पटक सांसद भएका हुन् । सिराहा-५ बाट निर्वाचित भएका गिरी त्यो बेला नै पहिलो पटक सांसद भएका हुन् ।

२०५६ मा उनी सिराहा ५ बाटै पराजित भए । २०६४ र ०७० मा समानुपातिक सांसद भए । २०७४ मा सिरहा-१ बाट सांसद निर्वाचित भएका थिए गिरी । उनी पटकपटक सांसद भए पनि कहिल्यै मन्त्री बनेनन्, उनी मन्त्रीको लालसामा लिप्त भएनन् ।

२०५६ को पोखरा महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित गिरी गएको मङ्सिरमा सम्पन्न १४औँ महाधिवेशन १४औँ महाधिवेशनमा बिरामीको कारणले सहभागी हुन् सकेनन् । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेता गिरीको निधनले नयाँ समाजवादी धारमा क्षति पुगेको बताउँछन् । उनी भन्छन्, ‘नयाँ समाजवादी धारको विकासमा लागेका हामी सबैलाई उहाँको निधनले ठूलो क्षति पुगेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *