एमालेकै प्रतिनिधिले कांग्रेससँग पैसा खाएर एमाले हराए : पृथ्वीसुब्बा गुरुङ

पोखरा । नेकपा एमालेका उपमहासचिव तथा गण्डकी प्रदेशका पुर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एमालेको पराजयमा आफ्नै पार्टीका नेता कार्यकर्ता हावी रहेको बताएका छन् । उनले म्याग्दीमा कार्यकर्तालाई प्रशिक्षण दिँदै टिकट नपाएका र मतदान तथा मतगणनामा पठाइएका प्रतिनिधि विकेका कारण चुनाव हारेको बताए ।
‘टिकट नपाएकोले टिकट पाएकोलाई सहयोग नगरेको, दाबेदारले मन खुम्च्याएर बसेको कारण धेरै सीट चुनाव हा¥यौं । मतदान स्थलमा खटाइएका प्रतिनिधिहरु कांग्रेसका उम्मेद्वारसँग अलिअलि पैसा खाएर वा साँठगाँठ गरेर शित्तल ताप्न र कोक खान गए, त्यही बेला एकलौटी भोट हालेर विपक्षीले चुनाव जिते,’ उनले भने, ‘हाम्रा प्रतिनिधिहरुले प्रतिक्रियाबादीसँग साँठगाँठ गरेको, मत गणनाका लागि पठाएकाहरु सत्ता गठबन्धनसँग विकेको देखियो ।’
उनले अहिलेको निर्वाचनमा तलमाथी नगर्न निर्देशन दिएका छन् । ‘यसअघि गरेका बेइमानीलाई अन्त्य गर्नुपर्छ । जो झगडा गर्न सक्छ, जो डराउँदैन उसैलाई चुनावमा पठाउनुपर्छ,’ गुरुङले भने, ‘हामीसँग आत्मविश्वास छ । हाम्रो जीत सुनिश्चित छ । सबैभन्दा ठूलो हतियार बन्दुक होइन, आत्मविश्वास हो ।’ उपमहासचिव गुरुङले बामपन्थी पार्टीहरुले नै एमाले विरुद्ध घेराबन्दी गरेर हराउन लागेको भन्दै त्यसको विरुद्ध एमाले एक्लै काफी भएको बताए ।
‘हिजो एक्लै लड्दा जति सीट जितेका थियौं, त्यो भन्दा बढी सीट जित्छौं । महागठबन्धन एकातिर एमाले अर्कोतिर हुँदा पनि हामी नै अगाडी हुन्छौं,’ उनले अघि भने, ‘आत्मविश्वास भरेर म्याग्दीका तीनवटै सेट जित्न सक्छौं, त्यो स्थानीय निर्वाचनको नतिजाले देखाइसकेको छ । शक्तिको सही ब्यवस्थापन हुन नसक्दा विजयी हासिल गर्न सक्दैन रहेछ । त्यसबाट पाठ सकिेर अघिल्लो चुनावमा जे कमजोरी भयो, त्यो सुधारेर अगाडी जानुपर्छ ।’








