पिएसजी : एमबाप्पे पहिलो, नेयमार दोस्रो !

काठमाडौँ । विश्वकै उत्कृष्ट खेलाडी किलीयन एम्बाप्पे र नेइमारको विवाद अहिले चर्चामा रह्यो । पिएसजीले खेलेको पछिल्लो मोन्टपेल्लिएरविरुद्धको खेलमा ५-२ को जित निकाल्ने क्रममा एम्बाप्पे र नेइमारबीचको विवाद सतहमा आएको हाे ।

पिएसजीमा आफ्नो सम्झौता नवीकरण गरेपछि एम्बाप्पे प्रमुख खेलाडीको रुपमा क्लबमा रहेका छन् । उनले पिएसजीमा सबैभन्दा बढी पारिश्रमिक पनि लिन्छन् । तर सुपरस्टार खेलाडीहरुले भरिएको पिएसजीमा खेलाडीबीचको विवाद भने मैदानमै देख्न सकिन्छ ।

एम्बाप्पेले पछिल्लो खेलमा २३औं मिनेटमा पाएको पेनाल्टी मिस गरेका थिए । उनलाई टिममा पेनाल्टी हान्ने खेलाडीको रुपमा जिम्मेवारी दिइएको बताइन्छ । तर त्यसपछि खेलको ४३औं मिनेटमा पिएसजीले पाएको पेनाल्टी भने नेइमारले हाने र गोल गरेका थिए । सो पेनाल्टी हान्ने क्रममा पनि एम्बाप्पेले आफूले पेनाल्टी हान्ने भन्दै नेइमारसँग गएपनि नेइमारले एम्बाप्पेलाई दिएनन् र आफैले हानेर गोल गरे । यस खेलमा नेइमारले दुई गोल गरेका थिए ।

पिएसजीमा पेनाल्टी हान्ने विषयमा यसअघि पनि नेइमार र एडिसन कभानीबीच यस्तै विवाद भएको थियो । पिएसजीमा अहिलेसम्म संघर्ष गरिरहेका नेइमारले यस सिजनमा उत्कृष्ट शुरुवात गरेका छन् ।

यस सिजन शुरु हुनुअघि नेइमारलाई पिएसजीले बेच्न चाहेको विषय चर्चामा रहेको थियो तर, नेइमारले आफ्नो सम्झौतामा भएको प्रावधानको प्रयोग गर्दै आफ्नो सम्झौता नवीकरण गरेर २०२७ सम्म पुर्याएको विषय बाहिर आएको थियो । त्यसपछि उनले पिएसजी छोड्ने विषय सेलाएको छ । यस सिजनमा नेइमारले ३ खेलमा पिएसजीका लागि ५ गोल गरेका छन् भने ३ गोल असिस्ट पनि गरेका छन् ।

एमबाप्पे पहिलो, नेयमार दोस्रो
पहिलो पेनाल्टी कसले लिने भन्नेमा खेलाडीबीच देखिएको विवादपछि प्रशिक्षक गाल्टिएरले एमबाप्पे र नेयमारसँग भेट गरेका छन् । प्रशिक्षक गाल्टिएर क्लबले समस्या बन्न सक्ने कुनै कुराको द्रुत समाधान खोज्न चाहन्थे । दुई स्टारसँग गाल्टियरको भेटपछि एमबाप्पे पहिलो पेनाल्टी लिने खेलाडी हुने निर्णय भएको क्लबले जनाएको छ ।

ब्राजिली नेयमार युरोपमा उत्कृष्ट पेनाल्टी टेकर मध्ये एक मानिन्छ । त्यसैले प्रशिक्षक गाल्टिएरले उनलाई दोस्रोमा राखेको छ । यसैबीच, क्लबमै रहेका अर्जेन्टिनी लियोनेल मेस्सी पिएसजीको पेनाल्टी लिने खेलाडीमा रहनेछैनन् । तर नेयमार र एमबाप्पे नभएको खेलमा मेस्सीसँगै स्पेनिस भेट्रान डिफेन्डर सर्जियो रामोस पनि पेनाल्टी लिन उत्कृष्ट मानिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *