चित्लाङमा करेन्ट लाग्दा बालककाे हातै छिनियाे, प्राधिकारणको लापरबाहीले घटना घटेकाे आरोप

मकवानपुर । जिल्लाकाे थाहा नगरपालिका ९ चित्लाङमा एकजना बालकलाई करेन्ट लागेको छ ।चित्लाङ खलिबनमा करेन्ट लाग्दा ११ वर्षका सुदिप तामाङ गम्भीर घाइते भएका हुन् ।
करेन्ट लाग्दा उनको हातै छिनेको छ साथै उनको शरीरको विभिन्न भागमा गम्भीर क्षति पुगेको छ । उनको अहिले कीर्तिपुरस्थित बर्न अस्पतालको आइसियुमा उपचार भइरहेको छ । उनको अवस्था अत्यन्त गम्भीर रहको डाक्टरहरूले बताएका छन् । तामाङलाई आज दिउँसो घर नजिकै खेल्ने क्रममा करेन्ट लागेको थियो ।
खेल्ने क्रममा घर नजिकैको विद्युत् पोलमा चङ्गा अड्केको र त्यसलाई झिक्न खोज्दा करेन्ट लागेको बताइएको छ ।

स्थानीयले भने विद्युत प्राधिकरणाकाे लापरबाहीले बालकलाई करेन्ट लागेकाे बताएका छन् । उक्त स्थानबाट केही समयअगाडि मात्र निर्माण भएको ३३ हजार केवी एलाइनको पोल पुरै ढल्केको र तार पनि जमिनबाटै छुने देखिन्छ । यस बारेमा प्राधिकरण समक्ष गुनासो गरे पनि सुनवाइ नभएको स्थानीय सानु कान्छा तामाङले बताएका छन् । उनका अनुसार गाउँलेहरूलाई प्राधिकरणले तारमा करेन्ट प्रवाह गरेको पनि थाहा छैन ।

उनी भन्छन्, “केही समय अघिमात्र प्राधिकरणबाट निरीक्षणको लागि गाउँमा केही प्राविधिक आएका थिए, उनीहरूलाई पोल र तार व्यवस्थित नगरी लाइन नछोड्न भनेका थियौँ । उनीहरूले पनि सबै व्यवस्थित भएपश्चात् मात्र करेन्ट छोड्ने बताएका थिए । तर कहिले लाइन छोडे हामीलाई थाहा भएन । सही सूचना थाहा हुन्थ्यो भने आजको घटना घट्ने थिएन कि ? अब यसको सबै जिम्मा प्राधिकरणले नै लिनु पर्दछ ।”
यस विषयमा प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईसँग कुरा गर्दा नेपालको सबैतिरको माटो नै बग्ने खालको भएको हुँदा पोलहरू ढल्किने हुने गरेकाे बताए । त्यसरी पोल, तारमा केही समस्या आए वितरण केन्द्रले हेर्ने हुँदा उनीहरूसँग बुझेर मात्र के भएको हो भन्नेबारे भन्नसक्ने उनले बताए ।








