भरतपुर महानगरपालिकाको समीक्षा : पाँच वर्षमा सामुदायिक विद्यालयमा ७ हजार विद्यार्थी बढे

चितवन । भरतपुर महानगरपालिकामा पाँच वर्षमा सामुदायिक विद्यालयमा ७ हजार विद्यार्थी बढेका छन् । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष ०७८ र ०७९ मा गरेका उपलब्धिबारे गरिएको समीक्षा कार्यक्रममा सामुदायिक विद्यालयमा उल्लेख्य मात्रामा विद्यार्थी बढेको बताइयो ।

महानगरपालिकाले आर्थिक वर्षमा महानगरभित्र भएका विकास निर्माण, राजस्व संकलन, सुशासनलगायतका विषयमा समीक्षा गरेको थियो ।

महानगरपालिकाको सभा हलमा भएको समीक्षा गोष्ठीमा २९ वडाका सचिवहरूले गत आर्थिक वर्षमा भएका कामहरूको प्रगति, चुनौती र सम्भावनाका विषयमा प्रस्तुतीकरण गरेका थिए ।

महानगरपालिकाले गत आर्थिक वर्षमा सबैभन्दा बढी सडक पूर्वाधार निर्माण, सडकको स्तरोन्नति गरेको देखिएको छ । ५ वर्षअघि १ किलोमिटर कालोपत्रे पनि भएको वडामा अहिले औसतमा ३० किमी सडक कालोपत्र निर्माण भएको तथ्याङ्कमा उल्लेख छ ।

भरतपुर महानगरपालिकाले विगत ५ वर्षको अवधिमा ६१० किमी सडक कालोपत्रे निर्माण गरेको थियो । सडक पूर्वाधारपछि महानगरले शिक्षा पूर्वाधार निर्माणमा रकम खर्च भएको पाइएको छ । महानगरभित्र रहेका विद्यालयको पूर्वाधार निर्माण गरी प्राविधिक शिक्षालाई जोड दिएको वडाहरूको तथ्याङ्कले देखाएको छ ।

महानगरमा रहेका विद्यालयहरूमा पछिल्लो समय आकर्षण वृद्धि भई विद्यार्थीको संख्यामा क्रमशः बढेको छ । विद्यालयहरूको गुणस्तर वृद्धि गर्न शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको महानगरको भनाइ छ ।

महानगरपालिकाले कृषि उत्पादन वृद्धि गर्न सिँचाइको सुविधा, निकुञ्जसँग जोडिएको वडामा मेषजाली निर्माणमा रकम विनियोजन गरी काम गरेको देखिएको छ । गत आर्थिक वर्षमा महानगरपालिकाले गरेका सम्पूर्ण कामहरूको प्रगति, त्यसको प्रभाव र समस्याहरूको समीक्षा गरी असल अभ्यासहरूलाई यस आर्थिक वर्षमा प्रभावकारी ढंगले काम अगाडि बढाउन सहयोग पुग्ने महानगरपालिकाले बताएको छ ।

योजनाहरूको छनोट समयमै मूल्याङकन र अनुगमनका साथै भुक्तानी प्रक्रियालाई सरल बनाउने र आन्तरिक नियन्त्रण प्रणालीको विकास गर्दै न्यूनीकरण गर्दै लैजाने समीक्षा बैठकमा छलफल भएको थियो । सो अवसरमा राजस्व असुली, करका दर र दायराहरूको विस्तार र विकासका साथै सामाजिक सुरक्षा र सुशासन प्रवाह गर्न भूमिका खेल्ने बताइएको छ ।

वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सेवा प्रवाहमा सुस्त भएकोमा असन्तुष्टि व्यक्त गरिन् । मेयर दाहालले महानगर मातहतका कर्मचारीलाई कार्यपालिका बनाएर परिणाम देखिने गरी काम गर्न निर्देशन दिइन् ।

मेयर दाहालले पूर्वाधार निर्माणमा गुणस्तरीयता मुख्य विषय भएकाले नियमित अनुगमन र सुपरिवेक्षण गर्न सम्बन्धित कर्मचारीलाई निर्देशन दिएकी थिइन् । समयमै काम नगर्ने, गुणस्तरहीन काम गर्ने निर्माण गर्ने निर्माण व्यवसायी र उपभोक्ता समितिहरूलाई कारबाही समेत गर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − six =