मुख्यमन्त्रीको क्षेत्रमा ५० हजारदेखि १६ करोडसम्मका योजना (योजनासहित)

विराटनगर । प्रदेश १ सरकारका मुख्यमन्त्री राजेन्द्रकुमार राईले आफ्नो निर्वाचन क्षेत्रमा प्रशस्तै बजेट हालेका छन् । चालु आर्थिक वर्ष २०७९/८० का लागि प्रदेश सरकारबाट भोजपुर निर्वाचन क्षेत्र १ मा र जिल्लाका साझा योजनामा विनियोजन गरेको रकम विवरण सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्दै मुख्यमन्त्री राईले प्रदेश निर्वाचन क्षेत्र नम्बर २ पुनः सार्वजनिक गरिने उल्लेख गरेका छन् ।

‘जिल्ला जाने क्रममा अलि हतार हतारमा यो सार्वजनिक गरिएकोले केही छुटेको हुन सक्छ’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अलि हेर्न र बुझ्न सजिलो ढाँचामा राख्न सकिएको छैन ।’

उनले यस पटकका ठुला योजनामा दिङ्ला भोजपुर, घोरेटार बाटो कालोपत्रे गर्न ठेक्का लगाइने, जिल्लाको रङ्गशाला पुरै सम्पन्न गर्न ३ करोड ८० लाख विनियोजन गरिएको छ उल्लेख गरेका छन् । ‘सतिघाट पुल, किमालुङ, नेपालेडाँडा जाने छिन्ताङ पुल ठेक्का लागिसकेको छ’, उनले भनेका छन्, ‘देउराली साङ्पाङ पक्की सडकको लागि १६ करोड, दिङ्ला सतिघाट सडकका लागि २ करोड, भोजपुर र सडानन्द कलेज, कुदाककाउले स्वास्थ्य भवनका लागि राम्रो बजेट विनियोजन भएको छ ।’

दोभाने जाने थुम्लुङ खोला दोभानमा पक्की पुलको लागि एक करोड र पहिला ठेक्का लागेका सबै योजनामा उल्लेख्य रकम विनियोजन भएको उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । मुख्यमन्त्री राईले राईले सार्वजनिक गरेको विवरण अनुसार भौतिक पूर्वाधारमा ३२ करोड ९५ लाख बजेट चालु आर्थिक वर्षमा पठाइएको उल्लेख गरिएको छ।

२७ वटा योजनामा सो रकम खर्च हुनेछ । आर्थिक मामिला मन्त्रालय मार्फत अरुण गाउँपालिकालाई प्याउली–भर्लाबोट सडक स्तरोन्नतिको लागि १ करोड, दुईवटा बहुवर्षीय सडकको लागि ८ करोड कालोपत्रे गर्ने गरी योजना रहेको उल्लेख गरिएको छ।

भौतिक पूर्वाधार कार्यालय मार्फत खर्च गर्ने गरी १ करोड ५० लाख दिङ्ला सतिघाट सडकको स्तरोन्नतिको लागि छुट्ट्याइएको छ । पुलहरूमा पनि भोजपुरको क्षेत्र नम्बर १ मा १५ वटा योजनामा काम भएको छ। मुख्यमन्त्री राईको जिल्ला भनेर चिनिएको यो जिल्लामा पुल निर्माणमा चालु आर्थिक वर्षमा १४ करोड ९० लाख रकम विनियोजन भएको राईले सार्वजनिक गरेका छन् ।

भवन र कल्भर्टमा १४ वटा योजना परेका छन् । कर्मागत योजना अनुसार ट्याम्के भ्यु टावरका लागि चलु आर्थिक वर्षमा सक्नेगरि १ करोड ५० लाख बजेट राखिएको छ। भवन निर्माण र कभर्डहलको लागि १४ योजनामा ५ करोड ५५ लाख बजेट चालु आर्थिक वर्षमा कार्यान्वयनमा जाने छ । यस्ता योजना १० लाखदेखि माथि १ करोड ५० लाखसम्मका रहेको जनाइएको छ।

भोजपुर निर्वाचन क्षेत्र १ को लागि पर्यटन क्षेत्रको विकासका लागि ३ करोड ६५ लाख रहेको सार्वजनिक गरिएको छ। २१ वटा योजनामा खर्च हुने गरी बजेट पठाइएको छ न्यूनतम १० लाखदेखि अधिकतम ६० लाखसम्मका योजना पर्यटन क्षेत्रमा राखिएको छ।

वन मन्त्रालय मार्फत १० लाख विनियोजन गरिएको छ। यो क्षेत्रमा सामाजिक विकास मन्त्रालयले साल्पासिलिछो गाउँपालिका मार्फत खर्च गर्ने गरी ७५ हजार पन छुट्याएको छ । त्यस्तै सोही पालिकामा अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमको लागि ९ लाख ९८ हजार, लैंगिक हिंसा निवारणका लागि स्थानीय तहमा संरक्षण कोष सञ्चालन अनुदान ५० हजार, खिसीमा खोला बुम्लिङ कुलो सिँचाई योजनाको १० लाख २२ हजार, भिरकुना लफ्सेफेदी गोथेबजार कुलो सिँचाई योजनामा ४ लाख ५३ हजार दिने योजना छ ।

बालविवाह अन्त्यको लागि अरुण गाउँपालिकालाई ७३ हजार र अपाङ्गता रोकथाम तथा पुनर्स्थापनाका लागि ११ लाख ९१ हजार सामाजिक विकास मन्त्रालय मार्फत उपलब्ध गराउने बजेट छुट्ट्याइएको मुख्यमन्त्री राईले आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । उनले कृषि तथा सामाजिक विकासमा ३८ वटा योजनाहरू परेको उल्लेख गरेका छन् । त्यस्तै खानेपानी सिचाई र ऊर्जा क्षेत्रमा १५ करोड ४ लाख ३ हजार रकम छुट्ट्याइएको उल्लेख छ।

मुख्यमन्त्री राईले साझा कार्यक्रमको रूपमा भोजपुर बहुमुखी क्याम्पसलाई १ करोड, भोजपुर नगरपालिकाको रङ्गशाला निर्माणमा ३ करोड ८० लाख, नगरपालिकाको प्रशासनिक भवन निर्माणमा ५० लाख, खानेपानी सरसफाइ डिभिजन कार्यालयको लागि ५० लाख र भोजपुरको सभा हल निर्माणमा २ करोड रकम विनियोजन गरिएको सार्वजनिक गरेका छन् ।

यो विवरण सार्वजनिक गर्दैगर्दा केही तलमाथि समेत हुनसक्ने उल्लेख गरेका छन् । ‘यो हतारमा तयार परिएकोले केही तलमाथि भएको हुनसक्छ’, उनले भनेका छन्, ‘क्षेत्र नम्बर २ को पनि यस्तै गरी विवरण चाँडै सार्वजनिक गरिनेछ ।’

याेजनाहरूः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *