श्रीकृष्णको पूजा–आराधना गरी मनाइयाे कृष्ण जन्माष्टमी

काठमाडौँ । श्रीकृष्ण जन्माष्टमी पर्व, वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक यो पर्व मनाइएको छ ।
ज्ञान योग, कर्मयोग र भक्ति योगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यस दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।
यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजन कीर्तन गर्नाका साथै ‘व्रत’ गरी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मेका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको धर्मग्रन्थमा उल्लेख छ ।
कृष्ण जन्माष्टमीको अवसरमा बिहीबार पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लागेको छ । हरेक वर्ष पाटनको कृष्ण मन्दिरमा दर्शनार्थी भक्तजनहरूको भीड हुन्छ । साथै विभिन्न कृष्ण गाथाको मञ्चन गरेर समेत कृष्ण जन्माष्टमी पर्व मनाइन्छ ।
हरेक वर्ष भाद्र कृष्ण अष्टमीको दिनलाई कृष्ण जन्माष्टमीको दिनको रूपमा मनाउने गरिन्छ ।








