माओवादी पदाधिकारी २१ सदस्यीय हुने, यी हुन् महासचिवका ७ दाबेदार !

उपमहासचिव ७ र सचिव ९ जना हुने

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) मा केन्द्रीय पदाधिकारी अझै टुङ्गिएका छैनन् । आकांक्षी बढी हुँदा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पदाधिकारी टुङ्ग्याउन हम्मे-हम्मे परेकाे छ । यसाे हुँदा १५ सदस्यीय हुने भनिएकाे केन्द्रीय पदाधिकारी २१ सदस्यीय हुने भएकाे छ । जसमा उपमहासचिव ७ जना हुनेछन् भने ९ सचिव रहनेछन् ।

त्यसाे त महासचिवमा मात्रै ७ जना नेताहरूले दाबी पेश गरेका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा बसेकाे स्थायी समिति बैठकमा ७ जना नेताहरूले दाबी पेश गरेकाे एक स्थायी समिति सदस्यले बताए । उनकाअनुसार बैठकमा देव गुरुङसँगै वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, शक्ति बस्नेत र पम्फा भुसाल छन् । ती नेताले मकालुखबरसँग भनेका छन्, ‘उहाँहरू सबैले आफ्नाे आकांक्षा रहेकाे बताउनुभएकाे छ । अध्यक्ष कमरेडलाई मिलाउन गाह्राे परिरहेकाे छ ।’

यसअघि महासचिवका मुख्य दाबेदार मानिएका वर्षमान र जनार्दनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफूहरूकाे कारणले पदाधिकारी नटुङ्गिएकाे सन्देश बाहिर गएकाे भन्दै चाँडै पदाधिकारी टुङ्ग्याउन सुझाएका थिए । यसपछि पदाधिकारी टुङ्ग्याउन लागिपरेका प्रचण्डले पदाधिकारीकाे नामावली पटक-पटक सच्याउनुपरेकाे छ । उनले अझैसम्म अन्तिम नामावली तयार पार्न सकेका छैनन् ।

नेताहरूकाअनुसार उनले बिहीबार साँझै नै अन्तिम नामावली भन्दै पदाधिकारीकाे नाम टुङ्ग्याएका थिए । तर, आज बसेकाे स्थायी समिति बैठकमा नेताहरूकाे आकांक्षा सुनेर पुन: अन्तिम गर्नुपर्ने निष्कर्षमा पुगेका छन् । आजकाे बैठकमा नेताहरूले प्रचण्डलाई सिधासिधीरूपमै महासचिवमा आफ्नाे दाबेदारी रहेकाे बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *