बञ्चरेडाँडामा हट्यो स्थानीयको अवरोध

काठमाडौँ । बञ्चरेडाँडामा सहज रुपमा फोहोरका गाडीहरु पुग्न थालेका छन् । स्थानीयको अवरोध हटेपछि आजदेखि फोहोर विसर्जन सहज भएको हो ।

बिहीबार काठमाडौ महानगरपालिका, स्थानीय बासिन्दासहित सरोकारवालाबीच सहमति भएपछि काठमाडौंबाट फोहोर बोकेका गाडी नियमित रुपमा बञ्चरेडाँडा पुग्न थालेका छन् । बिहानैदेखि त्यहाँ फोहर विसर्जन भइरहेको र काठमाडौँबाट पनि गाडी पुगिरहेका काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

महानगरले आजदेखि दैनिक तीन सय गाडीबाट फोहोर विसर्जनको तयारी गरेको छ । ल्याण्डफिल्ड साइटमा पर्ने धादिङको धुनिबेसी नगरपालिका-१ का बासिन्दाले पनि आज फोहर बोकेका गाडीलाई रोकेका छैनन् । महानगरपालिकाले एक हप्ताभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएकाले यो अवधिसम्म कुनै अवरोध नगर्ने उनीहरुले बताएका वडाअध्यक्ष मानबहादुर तामाङले जानकारी दिएका छन् ।

सहमति अनुसार ल्याण्डफिल्ड साइटमा विरोध प्रदर्शनका क्रममा घाइते भएकाको उपचार खर्च महानगरले बेहोर्ने छ भने पक्राउ परेका एक जनाको पनि रिहाइ हुुनुपर्नेछ । फोहर बोकेर जाने गाडीले बाटोमा लिचेड चुहाउन पाउने छैनन् भने बञ्चरेडाँडामा फोहर थुपार्ने ठाउँमा गन्ध नआउने औषधि पनि छर्किनु पर्नेछ र गएको जेठ २६ गते भएको सहमति कार्यान्वयन गर्दै जानु पर्नेछ ।

बञ्चरेडाँडामा फोहोरका गाडी नियमित जान थाले पनि काठमाडौँ उपत्यकामा थुप्रिएको फोहोर उठाउन समय लाग्ने महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *