माओवादी स्थायी कमिटी बैठक, पदाधिकारीको नाम प्रस्ताव गर्दै प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ । अध्यक्ष प्रचण्ड आन्तरिक छलफलमा व्यस्त भएपछि पूर्वनिर्धारित समयभन्दा एक घण्टा ढिला बैठक सुरु भएको हो ।

माओवादी प्रवक्ता कृष्णबहादुर महराका अनुसार केन्द्रीय कमिटी, पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारीको टुङ्गो लगाउने तयारी छ । यसअघि बिहीबार डाकिएको बैठक अन्तिम समयमा आएर नबसी स्थगित भएको थियो । माओवादी बैठक बुधबार पनि बसेको थियो ।

माओवादीको आठौँ महाधिवेशन सात महिनाअघि भएको थियो । तर, महासचिवमा सहमति नहुँदा पदाधिकारीको टुङ्गो लाग्न सकेको छैन । यसअघि महासचिवमा वर्षमान पुन र जनार्दन शर्माको दाबेदारी रहेको भएपनि अध्यक्ष प्रचण्डले देव गुरुङलाई महासचिव बनाउने तयारी गरेको बुझिएको छ ।

पुन र शर्माले आआफ्नो दाबेदारी नछोडेपछि प्रचण्डले दुवैलाई महासचिव नबनाउने भएका हुन् । अब पुन र शर्मालाई उपमहासचिव बनाइने चर्चा रहेको छ । त्यस्तै गिरिराजमणि पोखरेललाई पनि उपमहासचिव बनाइने भएको छ ।

माओवादी केन्द्रले वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरालाई यसअघि नै चयन गरिसकेको छ भने अब पम्फा भुसाल, दिनानाथ शर्मा, हरिबोल गजुरेल र गणेश शाहलाई उपाध्यक्ष बनाउने तयारी रहेको छ ।

आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारीको प्रस्ताव गर्ने तयारी छ । माओवादीको विधानअनुसार एक अध्यक्षसहित, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *