एकीकृत समाजवादीले दाबी गर्ने ४० क्षेत्रको सूची

काठमाडाैँ । पाँचदलीय गठबन्धनमा तालमेल गरेर जाने निर्णय गरेको एकीकृत समाजवादीले प्रतिनिधिसभामा ४० सिटमा दाबी गर्ने र २५ सिटलाई ‘बटमलाइन’ बनाउने रणनीति लिएको छ । सातै प्रदेशमा आफ्नो जनाधार भएका ठाउँ हेरेर उसले तालमेलमा २५ देखि ४० सिटमा नजर लगाएको हो । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक सय ६५ निर्वाचन क्षेत्र छन् ।

अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालसहित ०७४ मा प्रत्यक्षतर्फका निर्वाचित अधिकांश सांसद, पार्टी पदाधिकारी र जनाधार रहेका जिल्लाका सिटमा दाबी गर्ने रणनीति एकीकृत समाजवादीको छ । पाँचदलीय कार्यदलले सिट बाँडफाँडको आधार र मापदण्ड अझै टुंग्याउन सकेको छैन ।

गठबन्धनभित्र शीर्ष नेताको व्यवस्थापनमा सहमति छ । तर, दलहरूले औपचारिक रूपमा आफ्नो दाबी अझै पेस गरेका छैनन् । गठबन्धनको सिट बाँडफाँडको आधार र संख्यासम्बन्धी प्रस्ताव बनाउने जिम्मा पाएको ११ सदस्यीय कार्यदलमा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव डा. बेदुराम भुसाल सदस्य छन् ।

२५ देखि ४० सिटमा नजर लगाएको एकीकृत समाजवादीले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार छान्न मापदण्ड र प्रक्रियासमेत टुंगो लगाइसकेको छ । प्रतिनिधिसभा र प्रदेश सभा क्षेत्रीय कमिटीले मापदण्डका आधारमा एक महिलासहित चार–चारजना उम्मेदवारको नाम जिल्लामा सिफारिस गर्नेछन् । जिल्लाले चारमध्ये तीनजनाको नाम छनोट गरेर प्रदेशमा पठाउनेछ ।

प्रदेशले उम्मेदवारको सबल र दुर्लभ पक्ष हेरेर रायसहित केन्द्रमा तीनजना उम्मेदवारको नाम पठाउनेछ । प्रदेशले पठाएकामध्येबाट सबैभन्दा उपयुक्त उम्मेदवार केन्द्रले छनोट गरेर प्रतिनिधिसभा वा प्रदेश सभाको टिकट दिने उपमहासचिव एवं केन्द्रीय कार्यालय सचिव डा. गंगालाल तुलाधरले जानकारी दिए । सम्बन्धित प्रदेश कमिटीले १५ भदौभित्र सम्भावित उम्मेदवारको नाम केन्द्रमा सिफारिस गर्नुपर्नेछ । २० भदौमा केन्द्रीय कमिटीले निर्णय गरिसक्ने उनले बताए ।

उम्मेदवारसम्बन्धी निर्णय सकेसम्म कमिटीको पूर्ण बैठकबाट गर्ने, पूर्ण बैठक बस्न सम्भव नभएमा सचिवालयको बैठकबाट गर्ने तथा कुनै निर्णय विवादित भएमा एक तह माथिल्लो कमिटीले छानबिन गरी पैmसला गर्ने एकीकृत समाजवादीले उम्मेदवार चयनको प्रक्रिया तय गरेको छ । अर्कोतर्फ केन्द्रीय कमिटीले मातहत कमिटीबाट सिफारिस भइआएका र केन्द्रको अभिलेखमा रहेका नामबाट छनोट गरी समानुपातिकको बन्दसूची तयार गर्ने एकीकृत समाजवादीको निर्णय छ ।

तयारी त १६५ क्षेत्रमै गरिरहेका छौँ : जयन्ती राई उपाध्यक्ष, एकीकृत समाजवादी
मुख्य त गठबन्धनमा जित सुनिश्चित हुने गरी सिट लिने हो । पार्टीको शक्ति, विगतमा एमालेबाट जितेको क्षेत्र र स्थानीय तह निर्वाचनको परिणामका आधारमा हाम्रो सिट दाबी रहन्छ । कम्तीमा ४० सिटमा हाम्रो दाबी रहनु स्वाभाविक हो । हामी तयारी त एक सय ६५ वटै निर्वाचन क्षेत्रमा गरिरहेका छौँ । क्षेत्रीय कमिटीले एक महिलासहित चारजनाको नाम सिफारिस गरेर पठाउनेछ । त्यसैको आधारमा गठबन्धनमा हुने सहमतिअनुसार उम्मेदवार उठाउँछौँ । –नयाँ पत्रिकाबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *