विवेकशील साझा पार्टीका प्रवक्ता पाठकले दिए राजीनामा

काठमाडाैँ । विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले जिम्मेवारीबाट राजीनामा दिएका छन् । पार्टीमा हालै नयाँ नेतृत्व चयन भएपछि नयाँ प्रवक्ता चयनका लागि मार्ग प्रशस्त गर्न नैतिकताका आधारमा राजीनामा दिएको उनले राजीनामापत्रमा उल्लेख गरेका छन् ।
पाठक विगतमा पनि साझा पार्टीको प्रवक्ता थिए । विवेकशीलसँग पुनः एकीकरणपछि बनेकाे विवेकशील साझाकाे पनि उनी प्रवक्ता नै बने ।
यस्ताे छ विज्ञप्ति;
श्री केन्द्रीय समिति
विवेकशील साझा पार्टी
बखुण्डोल, ललितपुर।
विवेकशील साझा पार्टीको केन्द्रीय समितिले पुष ७, २०७७ मा मलाई सुम्पिएको प्रवक्ताको जिम्मेवारीबाट राजीनामा पेश गरेको छु।
प्रवक्ता अध्यक्षसँग निकट समन्वयमा रही पार्टीका निर्णय तथा समसामयिक विषयमा पार्टीको विचार, धारणा प्रवाह गर्ने पद भएको हुँदा पार्टीमा हालै नयाँ नेतृत्व आएको अवस्थामा नयाँ प्रवक्ता चयनका लागि मार्ग प्रशस्त गर्न नैतिकताका आधारमा पदबाट राजीनामा दिएको हुँ।
पार्टीको नयाँ नेतृत्वलाई हार्दिक शुभकामना दिँदै म आगामी केन्द्रीय समिति बैठकबाट मेरो राजीनामा स्वीकृत गरिदिन हार्दिक अनुरोध गर्दछु।
पार्टी प्रवक्ताको जिम्मेवारीबाट बिदा लिँदै गर्दा निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रसहित मेरो कार्यकालमा सहयोग गर्नुहुने र सद्भाव दर्शाउनुहुने पार्टीको सम्पूर्ण नेतृत्व, सदस्य तथा आम शुभेच्छुकहरूप्रति हार्दिक कृतज्ञता तथा आभार व्यक्त गर्दछु।
प्रवक्ताका रूपमा कयौँ महत्वपूर्ण राष्ट्रिय मुद्दाहरूमा पार्टीकातर्फबाट प्रेषित विज्ञप्ति एवम् मेरा विचार तथा अभिव्यक्ति सम्प्रेषित गरिदिने समस्त सञ्चारकर्मी तथा सञ्चारमाध्यमहरूप्रति पनि हार्दिक धन्यवाद ज्ञापन गर्दछु।
शरदराज पाठक
२ भदौ, २०७९








