राजाको हिउँदे दरबार सर्वसाधारणले किन हेर्न पाउँदैनन्?

पोखरा । पोखरा फेवाताल किनारमा पूर्व राजाहरूको हिउँदे दरबार छ । रत्न मन्दिरको नामबाट परिचित उक्त दरबार खुला गर्न पर्यटन व्यवसायी र सर्वसाधारणले धेरै प्रयास गरे । तर सरकारले खुलाउन आनाकानी गरिरहेको छ । रत्न मन्दिर नजिकै रहेको हिमागृह पनि सर्व साधारणलाई खुला हुनुपर्ने माग छ ।

गणतन्त्र स्थापनाको २ दशक बित्नै लाग्दा समेत पूर्व राजपरिवारले उपभोग गरेका उक्त सम्पत्ति नागरिक स्तरमा खुला नहुँदा सरकारको केन्द्रीकृत मानसिकताका रूपमा लिन्छन्, पोखराका अगुवाहरू । बेलाबेलामा पोखरा भ्रमण गर्ने दलका शीर्ष नेता एवं पर्यटन सम्बद्ध उच्च तहका अधिकारीले पोखराको पर्यटन विकासमा समेत टेवा पुग्ने भएकोले प्रवेश अनुमति दिनुपर्ने आश्वासन दिएर फर्किने गरेपनि अहिलेसम्म खुला गर्न कुनै पहल भएको छैन ।

पर्यटन व्यवसायी सङ्गठन नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई रत्न मन्दिर र हिमागृह खुलाउन पुनः माग गरेको छ । श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै सङ्गठनका गण्डकी प्रदेश अध्यक्ष गणेशराज पहारीले दुई दरबार सर्वसाधारणका लागि खुला गरी उद्यान एवं सङ्ग्रहालयका रूपमा रूपान्तरण गर्नुपर्ने बताए ।

पोखरालाई तत्काल पर्यटनको राजधानी घोषणा गर्नुपर्ने तथा पर्यटनलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग घोषणा गरिनुपर्ने माग सङ्गठनको छ । स्तरोन्नति भइरहेका पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्गको निर्माण छिटो सक्नुपर्ने, चाउथेस्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि लेक साइडसम्म बाइपास रोड बनाउनुपर्ने, साहसिक हवाई खेल प्याराग्लाइडिङ र अल्ट्रालाइट व्यवसायको दिगो व्यवस्थापन एवं भविष्य सुनिश्चितको माग समेत गरिएको छ ।

प्यागोडा शैलीमा निर्मित हिमागह दरबारको भित्री संरचना ढुंगामा कुँदिएका आकर्षक कलाले सज्जित छ । पूर्व राजा महेन्द्रले तालपारिको रानीवनको संरक्षण समेतको लक्ष्य राखी २०१३ सालमा जग्गा किनेर ३ वर्षपछि रानी रत्नराज्यलक्ष्मीको नाममा दरबार निर्माण गरेका थिए ।

हिमागृह २०३२ सालमा निर्माण गरिएको हो । करिब १० रोपनी क्षेत्रफलमा फैलिएको हिमागृहमा ऐतिहासिक वस्तुहरू रहेका छन् । विगतमा राजपरिवार वर्षमा १ महिनासम्म हिउँदे दरबारमा बस्ने गर्थे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *