विद्युत् वितरणमा हुने चुहावट रोक्नु मुख्य चुनौती : मन्त्री भुसाल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युत् वितरण क्षेत्रको चुहावट रोक्नु चुनौतीको विषय रहेको बताएकी छन् । आज यहाँ नेपल विद्युत् प्राधिकरणको ३७औँ वार्षिकोत्सवका अवसरमा मन्त्री भुसालले आगामी दिनमा वितरणतर्फको चुहावट घटाउनका लागि अन्तर्राष्ट्रिय मापदण्ड कार्यान्वयन गर्न जरुरी रहेको र यसका लागि वितरण संरचना सुधारमा ध्यान दिन आवश्यक रहेको बताइन् ।

अघिल्लो वर्ष विद्युत् चुहावट नियन्त्रणबाट करिब रु दुई अर्ब आम्दानी भएको पनि उनले स्मरण गराइन् । देश विकासका लागि ऊर्जा क्षेत्रको थप विकास नभएसम्म आर्थिक फड्को मार्न कठिन हुने उनले धारणा राखिन् ।

विद्युत् उत्पादन बढ्दै जाँदा आन्तरिक खपत बढाउने कार्यमा ध्यान दिन पनि मन्त्रीले प्राधिकरणलाई आग्रह गरिन् । आन्तरिकरूपमा विद्युत् खपत बढाउनका लागि विद्युतीय चुलोको प्रयोगमा वृद्धि, विद्युतीय सवारीसाधनको प्रयोग, उद्योग कलकारखानाको विकास तथा विस्तार गर्नुपर्ने उनको धारणा थियो ।

आगामी दिनमा प्राधिकरणले विद्युतीय सवारीसाधन खरिद गर्ने, चार्जिङ स्टेसन निर्माण र विद्युतीय पूर्वाधारको निर्माणको कामलाई अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

सोही अवसरमा मन्त्रीले प्राधिकरणका कर्मचारीलाई बोनस नमाग्न आग्रह पनि गरिन् । प्राधिकरण सञ्चालक समिति अध्यक्षसमेत रहेकी मन्त्री भुसालले यसै वर्ष मात्रै सरकारले कर्मचारीलाई १५ प्रतिशत तलब बढाएको स्मरण गर्दै थप आर्थिक सहयोगको माग नराख्न आग्रह गरेका हुन् ।

उनले बोनस माग्न छाडेर सेवा सुधारमा लाग्न र सबै घर परिवारसम्म बिजुली पु¥याउने कार्यमा लाग्न कर्मचारीलाई निर्देशन दिइन् । कोभिडको महामारीपछि अर्थतन्त्र तङ्ग्रिन नपाउँदै बोनसको कुरा उठ्नु सही नभएको उनले स्पष्ट पारे ।

कार्यक्रममा प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले हाल करिब ९६ प्रतिशत जनताले विद्युत्को सेवा प्राप्त गर्ने गरेको जानकारी दिए ।

हाल ४२ जिल्ला पूर्णरूपमा विद्युत् सेवा पुगेको जानकारी दिँदै उनले आगामी दुई वर्षभित्र शतप्रतिशत जनतालाई विद्युत्को सेवा प्रदान गर्ने सरकारको लक्ष्य पूरा गर्नका लागि प्राधिकरण दिनरात लागिरहेको उनले बताए ।

प्रमुख घिसिङले ३५ वर्षको इतिहासमा प्राधिकरणले गत वर्ष सबैभन्दा बढी रु १६ अर्ब १६ करोड ५० लाख नाफा आर्जन गर्न सकेको पनि जानकारी गराए । कार्यक्रममा उत्कृष्ट काम गरेको भन्दै १५ कर्मचारी र मातहतका १७ कार्यालयलाई पुरस्कृत तथा सम्मान गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *