महाभियाेग दर्ता भएकाे ६ महिनापछि प्रधानन्यायाधीश विरुद्धका आरोपबारे छलफल

कसले के भने ?

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर विरुद्धका २१ आरोपबारे महाअभियोग सिफारिस समितिमा छलफल सुरु भएको छ ।

गत फागुन १ गते राणाविरुद्ध संसद्मा महाभियोग दर्ता भएको थियो । महाभियोग दर्ता भएको ६ महिनापछि संसदीय समितिमा छलफल सुरु भएको हो । सत्तारुढ दलले राणामाथिको महाभियोगका लागि २१ बुँदे आधार पेस गरेका थिए ।

महाअभियोग दर्ता भएसँगै राणा निलम्बनमा परेका छन् । उनीमाथि लागेका आरोपबारे समितिले बुधवारबाट अध्ययन सुरु गरेको हो ।

छलफलमा कसले के भने ?

छलफलमा महाअभियोग सिफारिस समिति सदस्य कृष्णभक्त पोखरेलले प्रधानन्यायाधीशविरुद्धको महाभियोग ५ महिनासम्म थाती राखिएकोमा असन्तुष्टि व्यक्त गरे । उनले महाभियोगका सम्बन्धमा एमाले न्युट्रल रहेको समेत बताए ।

हामी कस्तो थिति बसाल्दै छौँ ? प्रधानन्यायाधीश जस्तो व्यक्ति विरुद्धको महाअभियोग ५ महिनासम्म किन राखियो ? कसरी राखियो ? दर्ता भएको सात दिन भित्र अगाडि बढाउनुपर्ने, अधिवेशन चालू नरहे १५ दिन भित्र । ठहर्नै पर्छ भन्ने पनि छैन । ठहर्नै हुन्न भन्ने पनि छैन । यहाँहरू पक्षमा हुनुहुन्छ । हामी (एमाले) न्युट्रल छौँ । चोलेन्द्रको बारेमा छोडेर न्यायिक मन प्रयोग गरेर सोचौँ हामी कति पूर्वाग्रही ? जज नै पक्षधर भएपछि के हुन्छ ? हुन त हामीले यही नै विधि बनाएका छौँ । खाली ५ महिना अड्काइयो भन्ने हो ।

आज कार्यविधि पेस भयो । अध्ययन गरौँ । अर्को बैठकमा पास गरौँला । अहिलेसम्म नेपालको इतिहासमा प्रधानन्यायाधीशमाथि महाअभियोग आएका छन् तर पारित भएको छैन । त्यस कारण हामी इतिहासमा पनि छौँ । इतिहास रचिने कुरामा ख्याल गरेरै अगाडी बढ्न पर्छ ।

के के काम कति कति समयमा गर्ने भनेर कार्यतालिका तय गरौँ । तीन महिना भनेको ठाउँमा एक महिनासम्म गर्न सक्दा राम्रो हुन्छ । कार्यविधि सँगसँगै कार्यतालिका र समयावधि किटान गरौँ । ३ महिना भने पनि हामीसँग समय छैन ।

कृष्णभक्त पोखरेल, सदस्य/सांसद, एमाले

त्यस्तै, सत्तारुढ दल नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले केही ढिला हुन गएकाे भएपनि अब समय आएको भन्दै निर्धारित कानुनी व्यवस्थाअनुसार नै महाभियोग अगाडि बढाउन समितिलाई आग्रह गरे ।

समय तीन महिना भित्र भनेको हो । त्यस कारण हामीसँग समय छ ।हाउसले आएपछि नै दिएन अब त्यता तिर दिसा रोपन नगरौँ । आएको छ काम अगाडि बढाउ । अबको बैठकबाट दस्ताबेजमाथि नै अध्ययन सुरु गरौँ । दस्ताबेज ९महाअभियोग आउँदाको समय सम्झियौ भने यसको महत्त्व याद हुन्छ । त्यस बेला जताततै आन्दोलन विरोध थियो । अहिले होइन कि जस्तो हामी माथि नै प्रश्न उठ्ने स्थिति छ ।

प्राप्त दस्ताबेजमाथि अध्ययन गरौँ । रिफ्रेन्स दस्ताबेज सङ्कलन गरौँ । बारले पनि त्यस्ता दस्ताबेज बनाएका छन् । नागरिक समाज र जनआकाङ्क्षालाई पनि समेटौँ ।

एक महिनापछि त हामी सबै चुनावमा केन्द्रित हुन्छौ त्यस कारण छोटो कार्यविधि बनाऊ । बुझ्नुपर्ने व्यक्ति र सरोकारवालासँग छलफल गर्नुपर्ने हुन्छ ।

माननीय कृष्ण भक्त पोख्रेलले बने जस्तै हामीले विधि यस्तै बनाएका छौ । तटस्थ व्यक्ति ल्याउने गरी भविष्यमा संशोधन पनि गर्न सकिएला । तर अहिले प्रचलित व्यवस्था अनुसार नै गर्ने हो ।

मीन बहादुर विश्वकर्मा, सदस्य/सांसद, नेपाली कांग्रेस

समितिका जेष्ठ सदस्य रामबहादुर बिष्टको सभापतित्वमा बसिरहेको बैठकले कार्यविधि तयार गर्ने छ ।

११ सदस्यीय महाभियोग सिफारिस समितिमा सांसदहरू एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा. शिवमाया तुम्बाहाङ्फे सदस्य रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 9 =