बाबुराम र वामदेवको चुनाव चिह्न हँसिया हथौडा

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौडाबाट निर्वाचन लड्ने भएका छन् । निर्वाचन आयोगमा माओवादी र समाजवादीले एकल चिह्नमा निर्वाचन लड्ने गरी संयुक्त रूपमा दल दर्ताको निवेदन दिएका छन् ।

अनुसूची १३ अनुसारको निवेदनमा माओवादी अध्यक्ष प्रचण्ड र समाजवादीका अध्यक्ष भट्टराईले हस्ताक्षर गरेका छन् । गौतम अघिल्लो चुनावमा हृदयेश त्रिपाठी समूहले एमालेको सूर्य चिह्न लिएजस्तै स्वतन्त्रको हैसियतमा हँसिया हथौडा चिह्न लिएर निर्वाचनमा जानेछन् ।

पूर्वप्रधानमन्त्री भट्टराई आफ्नो परम्परागत क्षेत्र गोरखा– २ र पूर्वउपप्रधानमन्त्री गौतमले प्युठानबाट निर्वाचन लड्ने तयारी गरेका छन् । हाल भट्टराई प्रतिनिधिसभा र गौतम राष्ट्रिय सभा सदस्य छन् । दुवै नेताले आगामी निर्वाचनमा प्रतिनिधिसभा प्रवेशको चाहना राखेका छन् ।

अंकगणितले के भन्छ ?
हँसिया हथौडाबाट निर्वाचन लड्ने पछिल्लो निर्णयले भट्टराईलाई आसन्न मंसिरको प्रतिनिधिसभा निर्वाचन सहज बनाइदिएको छ भने गौतमलाई अझै धरमरको अवस्था छ । ०७४ मा तत्कालीन नयाँ शक्तिको निर्वाचन चिह्न आँखा लिएर भट्टराई उम्मेदवार बनेका थिए । कांग्रेससँग तालमेल गरेका भट्टराईले गोरखा– २ मा वामगठबन्धनका उम्मेदवारलाई हराएका थिए ।

भट्टराई कांग्रेससँगको तालमेलमा ३१ हजार आठ सय सात मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका नारायणकाजी श्रेष्ठले २४ हजार नौ सय ३३ मत ल्याएका थिए । अहिले समीकरण फेरिएको छ । सत्तारूढ पाँचदलीय गठबन्धनका तर्फबाट भट्टराई उम्मेदवार हुनेछन् । स्थानीय तह निर्वाचन, २०७९ मा गोरखा– २ मा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा माओवादी केन्द्र सबैभन्दा ठूलो दल छ । दोस्रोमा कांग्रेस, तेस्रोमा एमाले, चौथोमा जसपा र पाँचौँमा राप्रपा रहेका छन् ।

माओवादीले २२ हजार दुई सय ५०, कांग्रेसले २१ हजार एक सय ३६, एमालेले सात हजार नौ सय २६, जसपाले सात हजार पाँच सय चार, राप्रपाले आठ सय ७८ पाएका थिए । यो अंकगणित गोरखा– २ मा भट्टराईका लागि सहज हुने खालको छ । व्यक्तित्वले पनि भट्टराईको मत बढाउने गरेको विगत छ । तर, माओवादी परित्याग गरेपछि गोरखामा भट्टराईको जनाधार घटेको थियो ।

गौतमले राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधिसभामा प्युठानबाट लड्ने तयारी गरेका छन् । ०७४ को निर्वाचनमा प्युठानबाट वामगठबन्धनकी उम्मेदवार दुर्गा पौडेल ४७ हजार पाँच सय १४ मत ल्याएर विजयी भएकी थिइन् । कांग्रेसका डा. गोविन्द्रराज पोखरेलले ३१ हजार दुई सय ८६ मत ल्याएका थिए ।

अहिले समीकरण फेरिएको छ । गौतम सत्तारूढ पाँचदलीय गठबन्धनका तर्फबाट उम्मेदवार बन्ने दौडमा छन् । ०७९ को स्थानीय निर्वाचनमा प्युठानमा वडाध्यक्षले पाएको मतका आधारमा गठबन्धन दलको मत एमालेको भन्दा केही बढी मात्र देखिन्छ ।

स्थानीय निर्वाचनमा प्युठानमा एमालेले ३९ हजार आठ सय ७७, कांग्रेसले २१ हजार पाँच सय ६४, माओवादीले १७ हजार एक सय ६३, एकीकृत समाजवादीले एक हजार चार सय १७, जनमोर्चाले १२ हजार आठ सय ५३ र राप्रपाले चार सय ३३ मत ल्याएका थिए । गठबन्धनका साथै स्थानीय तहमा एमालेको पक्षमा आएको धेरै मतसमेत प्रतिनिधिसभामा आफूले पाउने गौतमको विश्वास छ ।

‘हँसिया हथौडाबाट निर्वाचन लड्न प्युठान मागेको छु । प्युठानभन्दा बाहिर गएर लड्दिनँ । प्युठान नदिने हो भने हँसिया हथौडा लिनुको अर्थ हुँदैन । प्युठानमा हाम्रो संगठन पनि राम्रो छ,’ गौतमको भनाइ छ । गौतमका लागि आफ्नै छवि अहिले पनि जोखिमपूर्ण हो । गौतमले प्रतिनिधिसभातर्फ प्युठान र प्रदेश सभातर्फ बझाङ– २ र रुपन्देहीको एक क्षेत्र माग गरेका छन् । गठबन्धनले प्युठान मात्रै नभएर सबै क्षेत्रमा जित्ने उनको बुझाइ छ । समानुपातिकतर्फ भने प्रतिनिधिसभा र राष्ट्रिय सभामा १०–१० जनाको नाम समेट्नुपर्ने गौतमको माग छ ।

नयाँ चिह्न चिनाउन समय लाग्ने भएकाले माओवादीको चुनाव चिह्न लिएको उनले बताए । माओवादी केन्द्रको चुनाव चिह्नबाट जित सुनिश्चित हुने उनको भनाइ छ । ‘अहिले सूर्य चिह्न लिएर गएँ भने हार्छु । त्यसो भएर जित्नका लागि आएको छु । जित्ने आधार भनेको गठबन्धन हो । हँसिया हथौडाको पछि गठबन्धन छ, गठबन्धन अनेक हिसाबले अरू सबैभन्दा अघि छ,’ गौतमले भने ।

प्युठानमा सबैभन्दा ठूलो एमाले, दोस्रोमा माओवादी, तेस्रोमा जनमोर्चा, चौथोमा कांग्रेस र पाँचौँमा एकता अभियान रहेको गौतमको दाबी छ । माओवादी केन्द्रको चिह्नबाट निर्वाचन लडे पनि आफ्नो भूमिका स्वतन्त्र हुने गौतमले बताए । गौतमको हारजितको बराबरै इतिहास छ । ६ वटा निर्वाचन लडेका गौतम तीनवटामा पराजित र तीनवटामा विजयी भए । उनी अब सातौँपटक संसद्को निर्वाचन लड्दै छन् ।

गौतमले ०४८ र ०५१ को प्रतिनिधिसभा निर्वाचन एमालेबाट जितेका थिए । उनी ०५४ मा उपप्रधानमन्त्री एवं गृहमन्त्री बने । ०५५ मा एमाले विभाजन गरेर मालेको महासचिव बनेका गौतमले ०५६ को निर्वाचनमा पराजय व्यहोरेका थिए । ०५९ मा एमाले फर्किएका गौतम ०६४ को संविधानसभा निर्वाचनमा बर्दियाबाटै पराजित भएका थिए । निर्वाचनमा पराजित भए पनि गौतम ०६५ मा फेरि उपप्रधानमन्त्री एवं गृहमन्त्री बने ।

०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने गौतम बर्दिया र प्युठान दुवै क्षेत्रबाट निर्वाचित भएका थिए । उनी फेरि उपप्रधानमन्त्री र गृहमन्त्री बने । ०७४ को निर्वाचनमा गौतम बर्दियाबाटै पराजित भएका थिए ।

०७४ को निर्वाचनमा वामगठबन्धनका अधिकांश उम्मेदवार विजयी हुँदा बर्दिया– १ बाट गौतम कांग्रेसका सञ्जयकुमार गौतमसँग सात सय ५३ मतान्तरले पराजित भएका थिए । सञ्जयले ४४ हजार आठ सय २९ मत ल्याउँदा वामदेवले ४४ हजार ७६ मत पाएका थिए । मालेका नरबहादुर बोहराले दुई हजार तीन सय ७२, संघीय समाजवादीका कासिम अली सिद्दिकीले ६ सय ९७, नयाँ शक्तिका केशवराज पौडेलले पाँच सय ४४ मत ल्याएका थिए ।

०७४ कै स्थानीय तह निर्वाचनमा वामगठबन्धनको मत अत्यधिक थियो । बर्दिया– १ का २८ वडामा एमालेका वडाध्यक्षले पाएको मत ३१ हजार दुई सय ६० र माओवादीको २४ हजार चार सय ५२ थियो । दुवै पार्टीको मत जोड्दा ५५ हजार सात सय १२ थियो । कांग्रेस, राप्रपा, फोरम लोकतान्त्रिक र संघीय फोरमको मत जोड्दा जम्मा ३१ हजार ४० मत थियो । तर, संघीय निर्वाचनमा यो अंक उल्टियो र गौतमले निर्वाचन हारे ।

चुनाव हारेपछि पनि उनी उपनिर्वाचनमार्फत संसद् प्रवेश गर्न चाहेका थिए । वामगठबन्धनका सूत्राधारमध्येका एक गौतम एमाले–माओवादी गठबन्धन हुँदा बर्दिया– १ बाट पराजित भएका थिए । एमालेभित्रकै अन्तर्घातका कारण पराजय व्यहोरोको बताउँदै आएका छन् ।

सुरुमा उनले डोल्पाबाट उपनिर्वाचन लड्न खोजेका थिए । सांसद धनबहादुर बुढाले राजीनामा दिन नचाहेपछि गौतम पछि हटेका थिए । त्यसपछि काठमाडौं– ७ बाट निर्वाचन लड्न चाहेका थिए । सांसद रामवीर मानन्धर गौतमका लागि राजीनामा दिन तयार पनि भए । तर, पार्टी नेतृत्वले नचाहेका कारण गौतमको प्रयास सफल भएन । नेकपाभित्र आन्तरिक समीकरण मिलाएर प्रधानमन्त्री बन्ने योजनाका साथ गौतम प्रत्यक्ष निर्वाचित सांसद बन्न खोजेका थिए । तर, प्रत्यक्ष निर्वाचित सांसद बन्न अनेक प्रयास सफल नभएपछि उनी राष्ट्रिय सभा सदस्य बनेका थिए । –नयाँ पत्रिकाबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *