कतार विश्वकप बहिष्कार गर्दै लाहम

काठमाडाैँ । सन् २०१४ को विश्वकप फुटबल च्याम्पियन जर्मन खेलाडी फिलिप लाहमले नोभेम्बर–डिसेम्बरमा कतारमा हुने विश्वकप बहिष्कार गर्ने भएका छन् । लाहमले विश्वकप आयोजक राष्ट्र कतारले मानवअधिकार हनन गरेको जनाउँदै प्रत्यक्ष रूपमा फुटबलको महाकुम्भ मेला नहेर्ने घोषणा गरेका हुन् । ‘विश्वकप आयोजक राष्ट्र कतारले निकै मानवअधिकार हनन गरेको छ, मानवीय संवेदनामाथि खेलबाड गरेको राष्ट्रमा फुटबल नहेर्ने निर्णय लिएको छु,’ लाहमले भने ।

सन् २०१४ मा ब्राजिलमा सम्पन्न विश्वकपको फाइनलमा अर्जेन्टिनामाथि जर्मनीले १–० को जित निकाली विश्व च्याम्पियन ट्रफी उचालेको थियो । सन् १९९० पछि जर्मनीले विश्वकप उपाधि उचाल्दा लाहमको योगदान निकै थियो । जर्मनीबाट प्रकाशित हुने किकेर पत्रिकासँग कुराकानी गर्दै लाहमले भने, ‘एक समर्थक वा विशिष्ट पाहुनाका रूपमा पनि कतार जाँदिनँ, किनभने त्यो स्थानमा कामदारको पसिनामाथि खेलबाड भएको छ ।’

लाहमले विश्वकप घरमै बसेर हेर्ने बताएका छन् । ‘एक फुटबल खेलाडीका रूपमा विश्वकप प्रतियोगिता छाड्न सकिँदैन, म घरमै बसेर विश्वकप हेर्नेछु,’ उनले भने, ‘वर्षौंपछि विश्वकपको मजा टेलिभिजनबाट लिनेछु ।’ सन् २०१७ मा लाहमले फुटबलबाट सन्न्यास लिएका थिए । फुटबलबाट टाढिएपछि लाहमले जर्मनका केही मानवअधिकार संस्थानमा काम गरेका थिए ।

यसै कारण उनले विश्वकपमा मानवअधिकारको कुरा उठाएका हुन् । उनी भन्छन्, ‘एक खेलाडीका रूपमा यस्तो निर्णय लिन कठिन हुन्छ, तर मानवीयताको पनि प्रश्न आउँछ ।’ द गार्डिनका अनुसार सन् २०२२ सम्म कतार विश्वकपको तयारीका क्रममा ६५ सय कामदारको निधन भएको छ । आयोजकले ती निधन भएका कामदारका बारेमा केही सम्बोधन नगरेको लाहमको भनाइ छ । -नयाँ पत्रिकाबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *