गठबन्धनमा बाँडफाँडको आधार तय गर्नै सकस

काठमाडौँ ।  आगामी निर्वाचनका लागि सिट बाँडफाँडका लागि बनेको सत्तारुढ पाँच दलीय कार्यदलको बैठक बस्दैछ । गठबन्धनभित्र सिट बाँडफाँडको खाका तयार गर्न कार्यदलको बैठक आज बस्न लागेको हो ।

बैठक अपराह्न ४ बजे बालुवाटारमा बस्ने कार्यदलका सदस्य हिमलाल पुरीले जानकारी दिए । उनकाअनुसार बैठकमा सिट बाँडफाँटको प्रस्ताव पेस हुनेछ । ‘आजको बैठकमा मोडालिटी तयार गर्न जिम्मेवारी लिनु भएका कार्यदल संयोजक कृष्ण प्रसाद सिटौला जीले मोडालिटी पेश गर्नुहुन्छ । त्यसमै छलफल हुन्छ,’ पुरीले भने ।

बाँडफाँडको आधार तय गर्न सकस
कार्यदलबीच यसअघि मुख्यगरी तीनवटा कुरालाई आधार बनाएर सिट बाँडफाँट गर्ने मोटामोटी सहमति भएको थियो । गत स्थानीय तह निर्वाचनमा दलहरूलाई प्राप्त मत, २०७४ को संघ तथा प्रदेशसभा निर्वाचनमा जित हासिल गरेका सिट तथा दलीय संवेदनशीलताका आधारमा सिट बाँडफाँट गर्ने सहमति भएको थियो ।

तर, गठबन्धनका सबै दलले धेरै-धेरै सिटमा दाबी गर्दा यी आधारहरूमा असहमति बढेको छ । गत स्थानीय तह निर्वाचनमा कांग्रेस पहिलो दल बनेको थियो भने २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तेस्रो भएको थियो । तर २०७४ को निर्वाचनमा समानुपातिक तर्फ कांग्रेस केही मतले मात्र दोस्रो बनेको थियो । उसले आफ्नो उक्त मत र गत स्थानीय तह निर्वाचनको मतको आधारमा ६० प्रतिशत सिटमा दाबी गरेको छ । बाँकी ४० प्रतिशत सिट ४ दलबीच भागवण्डा गर्ने कुराले असहमति बढेको देखिन्छ ।

कार्यदलमा सहमति जुट्न नसकेपछि शीर्ष नेताहरूसँग परामर्श गरेर बाँडफाँडको प्रारम्भिक प्रस्ताव बनाउने जिम्मा संयोजक कृष्ण सिटौलालाई दिइएको छ । तर कसले कति सिट पाउने भन्ने संख्या मात्र होइन, आधार र मापदण्ड पनि टुंगिएको छैन ।

कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा, नेता कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, एकीकृत समाजवादीबाट बेदुराम भुसाल र प्रमेश हमाल छन् । त्यस्तै, जसपाबाट रामसहायप्रसाद यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *