के हो एम्बाप्पे र नेइमारको विवाद ?

काठमाडौँ । विश्वकै उत्कृष्ट खेलाडी किलीयन एम्बाप्पे र नेइमारको विवाद अहिले चर्चामा रहेको छ । पिएसजीले खेलेको पछिल्लो मोन्टपेल्लिएरविरुद्धको खेलमा ५-२ को जित निकाल्ने क्रममा एम्बाप्पे र नेइमारबीचको विवाद सतहमा आएको हाे ।

पिएसजीमा आफ्नो सम्झौता नवीकरण गरेपछि एम्बाप्पे प्रमुख खेलाडीको रुपमा क्लबमा रहेका छन् । उनले पिएसजीमा सबैभन्दा बढी पारिश्रमिक पनि लिन्छन् । तर सुपरस्टार खेलाडीहरुले भरिएको पिएसजीमा खेलाडीबीचको विवाद भने मैदानमै देख्न सकिन्छ ।

एम्बाप्पेले पछिल्लो खेलमा २३औं मिनेटमा पाएको पेनाल्टी मिस गरेका थिए । उनलाई टिममा पेनाल्टी हान्ने खेलाडीको रुपमा जिम्मेवारी दिइएको बताइन्छ । तर त्यसपछि खेलको ४३औं मिनेटमा पिएसजीले पाएको पेनाल्टी भने नेइमारले हाने र गोल गरेका थिए । सो पेनाल्टी हान्ने क्रममा पनि एम्बाप्पेले आफूले पेनाल्टी हान्ने भन्दै नेइमारसँग गएपनि नेइमारले एम्बाप्पेलाई दिएनन् र आफैले हानेर गोल गरे । यस खेलमा नेइमारले दुई गोल गरेका थिए ।

पिएसजीमा पेनाल्टी हान्ने विषयमा यसअघि पनि नेइमार र एडिसन कभानीबीच यस्तै विवाद भएको थियो । पिएसजीमा अहिलेसम्म संघर्ष गरिरहेका नेइमारले यस सिजनमा उत्कृष्ट शुरुवात गरेका छन् । यस सिजन शुरु हुनुअघि नेइमारलाई पिएसजीले बेच्न चाहेको विषय चर्चामा रहेको थियो तर, नेइमारले आफ्नो सम्झौतामा भएको प्रावधानको प्रयोग गर्दै आफ्नो सम्झौता नवीकरण गरेर २०२७ सम्म पुर्याएको विषय बाहिर आएको थियो । त्यसपछि उनले पिएसजी छोड्ने विषय सेलाएको छ ।

यस सिजनमा नेइमारले ३ खेलमा पिएसजीका लागि ५ गोल गरेका छन् भने ३ गोल असिस्ट पनि गरेका छन् ।

यसै खेलमा अर्को घटना लियोनेल मेसी र एम्बाप्पेसँग घटेको छ । मेसीले बल अगाडी बढाइरहेका बेला एम्बाप्पे देब्रेपट्टिबाट कुदिरहेका थिए । तर मेसीले दाहिने पट्टि रहेका खेलाडीलाई बल पास दिएपछि एम्बाप्पे दौडिन नै छोडेका थिए । एम्बाप्पेको यस्तो व्यबहारको अहिले मिडिया र सामाजिक सञ्जालमा निकै आलोचना भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *