सालझण्डी-ढोरपाटन सडक अन्तर्गत अर्घाखाँची, गुल्मी-बाग्लुङ खण्ड कालोपत्रे गर्न पूर्वमन्त्री झाँक्रीको पहल

काठमाडौं । निवर्तमान शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सालझण्डी ढोरपाटन सडक अन्तर्गत अर्घाखाँची सडक खण्डको लागि रू. ५२ करोड र गुल्मी –बाग्लुङ खण्डको सौतामारे पुर्कोट गगरे खण्ड सडक कालोपत्रे गर्न लागि रू. एक अर्ब ८५ करोड स्रोत सुनिश्चितता र बहुवर्षिय योजना स्वीकृत गरी खरिद प्रक्रिया अगाडी बढाउन विशेष पहल शुरू गरेकी छन् ।
मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल र राष्ट्रिय योजना आयोगका सचिव केवल भण्डारीसँग भेटेर सालझण्डी ढोरपाटन सडक अन्तर्गत अर्घाखाँची र गुल्मी–बाग्लुङ खण्डको सौतामारे पुर्कोट गअरे खण्ड सडक कालोपत्रे गर्न स्रोत सुनिश्चितता र बहुवर्षिय योजना स्वीकृत गरी खरिद प्रक्रिया अगाडी बढाउन स्वीकृतीका लागि अर्थ मन्त्रालय पठाउन आग्रह गरेकी हुन् ।
राष्ट्रिय योजना आयोगले बीस करोड भन्दा माथिका योजना बहुवर्षिय योजना स्वीकृत गरी अर्थ मन्त्रालय पठाउने योजनाको बहुवर्षिय ठेक्का सम्बन्धी मापदण्ड २०७८ मा व्यवस्था गरिएको छ ।
आयोजना अन्तर्गतको गुल्मीस्थित सौतामारेदेखि पुर्कोट दह म्यालपोखरी, सिर्सेनी, अर्खाबाङ हुँदै गगरेसम्मको सडक कालोपत्रे गर्नको लागि एक अर्ब ८५ करोड रकम स्रोत सुनिश्चित गरी वहुवर्षिय योजना स्वीकृत हुँदा बित्तिकै यसको खरिद प्रक्रिया तत्काल अगाडि बढाईनेछ ।
लामो समयदेखि यो आयोजना यत्तिकै अलपत्र परेको थियो । यसअघि केही शक्तिशाली भनिएका व्यक्तिले आफ्नो राजनीतिक दुनो सोझ्याउन गरेको खिचातानीले सडकको अलाईनमेन्ट परिवर्तन गरी पुर्कोटको पश्चिम बेल्टलाई दुर्गम नै राख्ने गलत प्रयास भएका थिए। जसकारण प्राप्त बजेट विनियोजन नहुने र भएको बजेट पनि काम नभएर फ्रिज हुने कारणले गर्दा समेत काम रोकिँदै आएको थियो ।
नेकपा एकीकृत समाजवादीकी सचिव समेत रहनु भएकी पूर्वमन्त्री झाँक्रीले सडक कालोपत्रे गर्दा सो क्षेत्रका जनतालाई आवत जावतमा सुगम हुने मात्र होईन ढुवानी समेत सस्तो भई राहत पुग्ने बताइन् । गुल्मी र अर्घाखाँची जिल्लाको लाइफ लाइनका रूपमा रहेको सो सडक निर्माणको काममा ढिलाइ गर्न नहुने कुरामा उनको जोड थियो ।
छलफलका क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले आफूहरूको तर्फबाट तत्काल बजेट निकासा र बहुवर्षिय ठेक्का लागि ढिलाइ नहुने बताए । यस अधि वन तथा वातावरण मन्त्री प्रदीप यादव र सचिव प्रेमनारायण कँडेलसँग वातावरणीय प्रभाव मूल्यांकन (इआईए) स्वीकृत गर्न किन ढिलाइ भयो भनेर जानकारी लिन र यथाशक्य इआईए स्वीकृत गरिदिन पूर्वमन्त्री रामकुमारी झाँक्रीको नेतृत्वमा मदाने गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर कुँवरसहित टोली मन्त्रालयमा डेलिगेसन गएको थियो ।
यस बिचमा उक्त आयोजनाको विषयलाई लिएर पूर्व मन्त्री झाँक्रीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईसँग पनि पटक पटक छलफल परामर्श तथा गर्नु भएको थियो । राष्ट्रिय योजना आयोगका सचिव केवल भण्डारीले उक्त आयोजनाको फाइल आज नै प्रक्रिया अगाडी बढाई अर्थ मन्त्रालयमा पठाउन पूर्वमन्त्री झाँक्रीकै अघि मातहतका कर्मचारीलाई निर्देशन दिएका थिए ।
उनले आयोजनाको स्तरोन्नतिका लागि बजेटको अभाव हुन नदिने बताउँदै सदस्य बहुवर्षिय आयोजनका रूपमा बजेट थप्न समेत कुनै समस्या नहुने जानकारी दिए ।
यो सडक निर्माण हुँदा बुटवलबाट अर्घाखाँची र गुल्मीको यात्रा छोटिन्छ। लुम्बिनी भ्रमणमा आउने पर्यटकहरू समेत ढोरपाटनमा घुम्नलाई सहजता हुनेछ । मुलुकको एकमात्र हिमाली शिकार आरक्ष ढोरपाटनसम्म सडकको सहज पहुँचमा जोडिएपछि आन्तरिक तथा बाह्य पर्यटकका कारण सो क्षेत्रको आर्थिक स्थितिमा समेत सुधार हुने अपेक्षा गरिएको छ ।
यो सडक निर्माण पछि सिकार आरक्षण क्षेत्र जाने पर्यटकलाई मात्र सुगम हुने छैन, होटल, रिसर्ट, प्याराग्लाइडिङ, गल्फ, ट्रेकिङ, हाइकिङ, होमस्टे लगायतका पर्यटकीय गतिविधिले बढवा पाउनेछ ।
बाह्य र आन्तरिक पर्यटकले विविध सांस्कृतिक प्राकृतिक सौन्दर्यताको आनन्द लिने मौका लिनेछन् । सडक कालोपत्रे भएपछि यो क्षेत्रको आर्थिक क्रियाकलाप बढ्नेछ ।








