७ वर्षपछि एकैठाउँ प्रचण्ड-बाबुराम : अब कसैले राेक्न नसक्ने दाबी ! (भिडिओसहित)

काठमाडाैँ । अन्तत: पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराई एउटै कित्तामा उभिन पुगेका छन् । करिब ७ वर्षपछि उनीहरू पुन:एउटै चुनाव चिह्नबाट निर्वाचनमा हाेमिँदै छन् । भर्खरै मात्रै नेपाल समाजवादी पार्टी (नेसपा) बनाएका बाबुराम आफ्नाे पूर्वदल माओवादी केन्द्रकै चुनाव चिह्न गाेलाकारभित्रकाे हँसिया हथाैडाबाट निर्वाचन लड्दैछन् र पार्टीलाई लडाउँदैछन् ।

आज मात्रै बसेकाे माओवादी केन्द्रकाे स्थायी समिति बैठकले बाबुरामसहित वामदेव गाैतम नेतृत्वकाे नेकपा राष्ट्रिय एकता अभियानलाई समेत निर्वाचन प्रयाेजनका लागि पार्टीकाे चुनाव चिह्न दिने निर्णय गरेकाे छ । माओवादीकाे याे निर्णयपछि बाबुराम प्रचण्डलाई भेट्न माओवादी केन्द्रकाे मुख्यालय पेरिसडाँडा नै पुगे र उनीहरूबीच साैहार्दपूर्ण वातावरणमा अझ अगिसम्म सहकार्य गर्नेबारे छलफल भयाे ।

उज्यालाे मुहार पारेर पेरिसडाँडाबाट बाहिरिएका उनीहरू दुवैले आफूहरूले तत्कालका लागि मात्रै नभएर दीर्घकाल र देशकाे विकास, सुशासन र समृद्धिका लागि पनि साेचेकाे प्रतिक्रिया दिए । उनीहरू यहीँ राेकिएनन्, थपे— ‘यसकाे ठूलाे महत्त्व छ ।’

०००

 डा. बाबुराम भट्टराई

माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच आगामी प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचन एउटै निर्वाचन चिह्न नेकपा माओवादी केन्द्रकाे गाेलाकारभित्रकाे हँसिया हथाैडा लिएर संयुक्तरूपमा लड्ने सहमति भएकाे छ । त्यहीअनुसार निर्वाचन आयाेगमा आवेदन दिएका छाैँ । याे तत्कालका लागि एउटा चुनावी प्रयाेजनका लागि मात्रै हाे । तर, हाम्राे लक्ष्यचाहिँ नेपालमा जुनखाले अग्रगामी परिवर्तनका एजेन्डाहरू बाँकी छन् । त्यसलाई पूरा गर्नका निम्ति हामीले सबैले एक्लाएक्लैभन्दा पनि मिलेर नयाँ ढङ्गले, नयाँ आधारमा एकताबद्ध भएर जानू अहिलेकाे ऐतिहासिक आवश्यकता भएकाले त्याे दिशातिर पनि उन्मुख हुने हिसाबले हामीले यसलाई लिएका छाैँ । तत्कालचाहिँ हामी दुईवटा पार्टीहरूकाे बीचमा चुनावी तालमेल गरेर अगाडि बढ्छाैँ । हाम्राे लक्ष्यचाहिँ आगामी दिनमा एउटा बृहत् राजनीतिक अग्रगामी शक्तिहरूकाे बीचमा ध्रुवीकरण गरेर देशलाई विकास, सुशासन र समृद्धिकाे दिशामा लिएर जाने हाम्राे संकल्प छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’

वामपन्थी आन्दाेलनमा बाबुराम र प्रचण्ड सँगै उभिनुकाे धेरै ठूलाे अर्थ र महत्त्व छ । हामी उभियाैँ अब, अब कसैले राेकेर राेकिँदैन अब । याे ठूलाे कुरा हाे भनेर म भन्न चाहन्छु । यद्यपि आज नै पार्टी एकता भएकाे त हाेइन । चुनावपछाडि हामी एउटै केन्द्र बनाउने भन्ने समझदारीमा गएका छाैँ । अहिले चुनाव चिह्न, घाेषणापत्र, उम्मेदवार सबै साझा हुने भएपछि हामी एकठाउँमा उभियाैँ । यसकाे नेपालकाे राजनीतिमा नेपालकाे याे परिवर्तनलाई संस्थागत गर्ने र विकास गर्ने कुरामा देशलाई आर्थिक समृद्धितर्फ लाने कुरामा पनि निकै ठूलाे महत्त्व छ भन्न चाहन्छु म । फेरि यत्ति नै मात्रै पनि हाम्राे लक्ष्यचाहिँ हाेइन । हामी अरु पनि वामपन्थीहरूसँग; जस्ताे माधवजीहरूसँग पार्टी एकता संयाेजनसमिति बनाउने तयारीमा छाैँ । 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *