ओली भन्छन्- सीसीटीभी फूटेज नभेटिएपछि कतिपयले ‘आइ हेट पलिटिक्स’ भन्छन्

काठमाडाैँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकले धेरै फड्काे मारिसकेकाे बताएका छन् । मंगलबार काठमाडाैँमा आयाेजित ‘युवा, महिला र राजनीति’ विषयक विचार गाेष्ठीलाई सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन् । ‘हामी जहाँकाे त्यहीँ छैनाैँ नि ! धेरै अगाडि बढिसक्याैँ,’ उनले भने, ‘हामी कहाँ जहाँकाे त्यहीँ छाैँ ?’
उनले मुलुककाे राजनीति फाेहाेरी बन्दै गएकाे बताए । तर, राजनीति फाेहाेरी खेल नभएकाे उनले बताए । उनले अर्थमन्त्री जनार्दन शर्माप्रति इङ्गित गर्दै भनेका छन्, ‘व्यापारीका प्रतिनिधि ल्याएर करका दर ताेक्याे, सीसीटीभी झर्यापझुरुप, कर्यापकुरुप, तार-सार मिल्क्यायाे अनि केही पनि भेटिएन भन्याे । यस्ताे ढाँड पनि हुन्छ राजनीति ? यही देखेपछि कतिपयले भन्छन् आइ हेट पलिटिक्स भनेर । याे पलिटिक्स हाेइन, यसका विरुद्ध तपाईं-हामी उठ्नुपर्छ, लड्नुपर्छ । पलिटिक्सलाई स्वच्छ र सफा बनाउनुपर्छ । देशका निम्ति बनाउनुपर्छ, जनताकाे निम्ति बनाउनुपर्छ ।’








