संयुक्त दल दर्ताका लागि आयोग जाँदै प्रचण्ड-बाबुराम

काठमाडाैँ । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी संयुक्त दल दर्ताका लागि निर्वाचन आयोग जाने भएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई संयुक्त दल दर्ताका लागि आज निर्वाचन आयोग जाने भएका हुन् ।
यी दुई दलबीच प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा साझा चुनावचिह्न लिएर जाने सैद्धान्तिक सहमति भएको थियो । माओवादी अध्यक्ष प्रचण्ड र नेसपाका अध्यक्ष भट्टराईबीच आइतबार एउटै चुनावचिह्न लिएर निर्वाचनमा जाने सहमति भएको हो । दुई नेताबीच एकै चुनावचिह्न र समाजवादउन्मुख घोषणापत्र बनाएर निर्वाचनमा जाने सहमति भएको थियो ।
निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दल दर्ताका गर्न दिएको समयावधि आज सकिँदैछ । त्यसअघि प्रचण्ड-बाबुराम संयुक्त दल दर्ताका लागि आयोग जाने तय भएपनि समय भने तोकिएको छैन । आयोगले दुई वा दुईभन्दा बढी दल एउटै चुनाव चिह्नबाट लड्न चाहेमा आजसम्म दल दर्ता गर्ने समय दिएको छ ।








