महानगर कसैलाई हराउने खेलमा छैन : मेयर बालेन

‘फोहोर लैजाने कुरा आज पनि सहज भएन । सत्तारुढ दलहरूकै स्थानीय नेताहरूको अगुवाइमा सडक अवरुद्ध गरियो । जसलाई विपक्षी दलहरू एमाले र राप्रपाका स्थानीय नेताहरूले पनि साथ दिएको देखियो ।’
आज स्यानिटरी ल्याण्डफिल साइडमा फोहोर ढुवानी र अन्तिम व्यवस्थापनका विषयमा जानकारी दिँदै प्रमुख शाह भन्छन्, ‘२ सय भन्दा बढी प्रहरी परिचालन गरेर फोहोरका गाडीहरू बञ्चरे लगियो । केही समूहबाट लुक्दै गुलेली हानेर अवरोध सिर्जना गर्ने प्रयास भयो । यसैकारण आज २०३ वटा मात्र फोहोरका गाडीहरू बञ्चरे डाँडा लैजान सकियो ।’
अहिलेसम्म भोगेका र देखिएका समस्या सतही मात्र भएको उल्लेख गर्दै प्रमुख शाहले गहिरा कारण अरुपनि भएको उल्लेख गरेका छन् । ‘राज्यले ५ अर्बभन्दा बढी लगानी गरिसकेको, झन्डै २ दशकदेखि योजना बनाएको ठाउँमा फोहोर लैजान यतिका माथापच्ची किन गर्नु पर्छ रु सुरक्षाकर्मीलाई स्थानीयले लुक्दै गुलेली हान्न सक्ने अवस्था किन बन्छ रु पुरै राज्य संरचना यस्तो निरीह किन बन्छ ?’ प्रमुख शाहको प्रश्न छ ।
‘यहाँ केही कमजोरी, केही गल्ती भएकै छ । सिसडोलमा गरिएको लापरबाही र त्यो क्षेत्रको दुरवस्थाले गर्दा स्थानीयहरूले जोसुकैलाई विश्वास गर्न नसक्नु अस्वाभाविक पनि होइन । तर हामी विश्वस्त पार्न चाहन्छौँ कि विगत दोहोर्याएर अपराध गर्ने छैनौँ ।’
प्रमुख शाह आफ्नो प्रतिबद्धता व्यक्त गर्दै भन्छन्, ‘यसका लागि केही समय भने पक्कै लाग्छ । सिसडोलको वैज्ञानिक व्यवस्थापन र बञ्चरेको दिगो उपयोगिताका लागि महानगर संवेदनशील छ । हामी आफूले गरेका सहमतिहरूको पालना गर्नेछौँ । सबै पक्षबाट हामी त्यही किसिमको संवेदनशीलता र इमानदारिताको अपेक्षा राख्दछौँ ।’








