गठबन्धन डर र कर दुवै : वरिष्ठ पौडेल

चितवन ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन डर र कर दुवै भएको बताएका छन् । उनले गठबन्धन कांग्रेसले नगरे अन्य पार्टीले गर्ने बताए । ‘कांग्रेसले गठबन्धन नगरे अन्य पार्टीले गरिहाल्छन्, यसैले गठबन्धन कर पनि हो डर पनि हो,’ चितवनमा आज पत्रकारहरूसँग उनले भने ।
अहिले दलहरू मिलेर जानुपर्ने उनले बताए । एक्लाएक्लै निर्वाचनमा गएर पछि गठबन्धन गरे पनि फरक नपर्ने बताउँदै पौडेलले अहिलेको आवश्यकता मिलेर, तालमेल गरेर जानुपर्ने रहेको बताएका थिए । गठबन्धनमा तालमेल गरेर जाने कुरामा छलफल जारी रहेको उनले बताए । को कहाँबाट उम्मेदवार बन्ने भन्ने विषयमा अहिले निर्णय नभएको उनले बताए ।
दलहरूको धरातलीय पाटो हेरेर कुन क्षेत्रमा कसको सम्भावना छ त्यहीअनुसार अघि बढ्ने उनको भनाइ थियो । ‘तलको जनमत हेरेर निर्णय लिन्छौँ । कुन उम्मेदवारलाई अघि सार्दा कस्तो होला, जनमत कसको बढी छ त्यसलाई आधार मान्नुपर्छ,’ उनले भने ।
उनले कांग्रेसलाई जिताउने गरी लाग्न कार्यकर्तालाई आग्रह गरेका थिए । अबको निर्वाचनपछि देशको प्रधानमन्त्री तपाईँ हो भन्ने प्रश्नमा पौडेलले भने, ‘यो निर्णय लिने जिम्मा पार्टीको हो । अहिले नै घोषणा गर्ने समय भएको छैन ।’
फरक प्रसंगमा उनले नागरिकता विधेयक संसद्ले पास गरेकाले राष्ट्रपतिबाट रोकिन नहुने बताए । -रासस








