विश्वकप फुटबलको खेल तालिका परिवर्तन

काठमाडौँ । विश्वभरका फुटबल खेल प्रेमीहरूले महाकुम्भको रूपमा लिएको विश्वकप फुटबल प्रतियोगिताको खेल तालिका परिवर्तन भएको छ ।

कतारमा आगामी मङ्सिर ५ गतेदेखि प्रारम्भ हुने फिफा वर्ल्डकप २०२२ एक दिन अगाडि अर्थात् मङ्सिर ४ गतेदेखि हुने भएको छ ।

निर्धारित मितिभन्दा एक दिन अगाडि उद्घाटन समारोह र उद्घाटन खेल प्रतियोगिता आयोजक देश कतारसँग हुने कार्य तालिकामा केही हेरफेर गरिएको अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले घोषणा गरेको छ ।

मूल खेल तालिकाअनुसार मङ्सिर ५ गतेका लागि निर्धारण गरिएको सेनेगल र नेदरल्याण्डसबिचको खेल सोही दिन हुनेछ तर उद्घाटन समारोह र हरेक चार वर्षपछि हुने विश्वकप प्रतियोगिताको पहिलो खेल भने अब मङ्सिर ४ गते अपराह्न ७ बजे कतार र इक्वेडरबीच हुनेछ ।

यसअघि मङ्सिर ५ गतेका लागि सेनेगल र नेदरल्याण्डस् तथा कतार र इक्वेडरबीच स्पर्धा हुने कार्यक्रम निर्धारण भएको थियो ।

फिफाले विश्वकप फुटबल प्रतियोगिताको परम्पराअनुसार खेल आयोजक राष्ट्र र डिफेन्डिङ च्याम्पियनबिच पहिलो स्पर्धा गराउने लामो समयदेखिको अभ्यासलाई सुनिश्चित गर्न पहिलो दिनको खेल तालिकामा केही परिवर्तन गरिएको स्पष्ट गरेको छ ।

बाँकी खेलहरू पूर्वनिर्धारित तालिकाअनुसार सञ्चालन हुने पनि फिफाले प्रस्ट पारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *