सोमालियामा खडेरीका कारण १० लाख मानिस विस्थापित

जेनेभा । सोमालियामा ऐतिहासिक खडेरीका कारण १० लाख मानिस विस्थापित हुनुका साथै अनिकालको छायाँमा परेको संयुक्त राष्ट्रसंघले बिहीबार जनाएको छ ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय युएनएचसीआर र नर्वेजियाली शरणार्थी परिषद् (एनआरसी)का अनुसार सात लाख ५५ हजारभन्दा बढी मानिस आफ्नो घरबाट विस्थापित बनेका तर उनीहरू देशको सीमाभित्र रहेका छन् ।

सोमालिया, इथियोपिया र केन्यालगायत अफ्रिकामा रहेका उसका छिमेकीहरू ४० वर्षयताकै सबैभन्दा खराब खडेरीको चपेटामा परेका छन् । अपेक्षित पाँचौं असफल वर्षायामले अझै धेरै परिवारहरू विस्थापित हुने निश्चित छ । सोमालियामा एनआरसीका कन्ट्री डाइरेक्टर मोहम्मद अब्दीले भने, ‘१० लाख जनसङ्ख्या विस्थापित हुनु सोमालियाका लागि ठूलो खतराको घण्टी हो ।’

उनले भने, ‘भोकमरीले अहिले सिंगो देशलाई पिरोलेको छ । हामीले धेरै भन्दा धेरै परिवारहरूले घरसहित सबै कुरा छोडेर जान बाध्य भएको देखिरहेका छौं किनभने उनीहरूको गाउँमा पानी वा खानेकुरा बाँकी छैन । धेरै ढिला हुनुभन्दा पहिले नै तत्काल सहायता कोष बढाउन आवश्यक छ ।

जलवायु परिवर्तन र यूक्रेन युद्धका कारण खाद्य पदार्थको बढ्दो मूल्यका कारण सोमालियामा भोकमरीको समस्या झेलिरहेका मानिसको सङ्ख्या आगामी महिनाहरूमा करिब ५० लाखबाट बढेर ७० लाखभन्दा बढी पुग्ने यूएनएचसीआरले जनाएको छ ।

शुक्रबार संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ)ले बाली तथा पशुपन्छी उत्पादनमा व्यापक असफलता भएमा, वस्तुको मूल्य वृद्धि भइरहेमा र मानवीय सहायता अति जोखिममा रहेका व्यक्तिसम्म पुग्न नसके सेप्टेम्बरसम्ममा आठ क्षेत्रमा अनिकालको ठूलो जोखिम हुने चेतावनी दिएको थियो ।

सोमालियाका लागि यूएनएचसीआरका प्रतिनिधि म्यागाटे गुइसले भने, “सोमालियाको अवस्था पछिल्लो सङ्कटभन्दा पहिले नै सबैभन्दा कम आर्थिक सहायता प्राप्त भएको थियो । ’हामीसँग अपर्याप्त स्रोत साधन छ । अन्तर्राष्ट्रिय समुदायले जीवन रक्षा गर्न र यस मानवीय प्रतिक्रियालाई समर्थन गर्न कदम चाल्नुपर्छ ।

द्वन्द्वग्रस्त सोमालिया विशेष गरी स्थितिको सामना गर्न असक्षम छ । इस्लामी विद्रोहले देशको केही भागहरूमा मानवीय पहुँचलाई सीमित गरेको छ । अल–शबाब लडाकू समूहले हालैका महिनाहरूमा आफ्नो आक्रमणलाई तीव्र पारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *