स्थानीय कमिटीको रिपोर्ट : पूर्वी सुर्खेतमा मजबुत एमाले

सुर्खेत । नेकपा (एमाले) प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटी क्षेत्र नं. १ सुर्खेतको प्रथम बैठकले पार्टीको जलाधार थप बलियो बन्दै गएको निष्कर्ष निकालेको छ ।

बुधवार भेरीगंगा नगरपालिकाको छिन्चुमा भएको समन्वय कमिटी बैठकमा क्षेत्र नं. १ अन्तर्गतका पालिकाहरूमा भएका पार्टी गतिविधि र आन्तरिक शक्तिको आकलनसहितका प्रतिवेदन प्रस्तुत गरिएका थिए ।

गाउँ तथा नगर कमिटीका अध्यक्षहरूले पेस गरेको लिखित प्रतिवेदनमा सत्तारुढ गठबन्धनसँग एक्लै भिड्दा पनि एमालेले जित निकाल्न सक्ने बलिया आधारहरू रहेको ल्याइएको हो । पूर्वी सुर्खेतमा २०७४ को स्थानीय तह निर्वाचनभन्दा यसपटक थप वडा र पालिकामा नेतृत्व लिन सफल भएको, नेपाली काँग्रेसभित्रको बेमेल र गुटबन्दी झनै झाँगिएको, नेकपा (माओवादी केन्द्र)को प्रभाव न्यून र नेकपा (एकीकृत समाजवादी)को सङ्ख्या नगण्य रहेकाले आगामी निर्वाचन जित्न सकिने दाबी गरिएको छ ।

यिनै आधारबाट पनि आगामी मङ्सिर ४ मा एकै चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा विजयी हासिल गर्न सम्भव देखिएको बैठकमा पेस गरिएका प्रतिवेदनहरूमा उल्लेख छ । सुर्खेतको प्रतिनिधिसभा क्षेत्र नं. १ मा भेरीगंंगा, लेकवेशी र गुर्भाकोट नगरपालिका तथा चिङ्गाड र सिम्ता गाउँपालिकासहित वीरेन्द्रनगरका वडा नं. १५ र १६ पर्छन् ।

यी पाँच पालिकामध्ये वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा तीन स्थानीय तह भेरीगंगा, सिम्ता र चिङ्गाडमा एमाले जितेको छ भने लेकवेशीमा उपप्रमुखसहित १० मध्ये दुई वडामा विजयी भएको छ । सिम्ता र गुर्भाकोटमा अघिल्लो पटकभन्दा थप वडामा विजयी हासिल गरिएको र लेकवेशीमा जनधार बलियो हुँदाहुँदै निर्वाचन परिचालनमा आन्तरिक कमजोरीका कारण नेतृत्व लिन नसकिएको जनाइएको छ ।

एमाले लेकवेशी नगर कमिटीका अध्यक्ष देव रानाले त्यहाँ अहिले पनि जलाधार बलियो रहेको बताए । उनले भने, ‘सङ्गठन दह्रो भएर पनि हामीले यसपटक चुनावमा हार ब्यर्होनु पर्‍यो, हारको मुख्य कारण आन्तरिक नै हो ।’ उनले लेकवेशीमा एमालेको विगतको विरासत नजोगिनुमा गठबन्धन आंशिक कारण मात्रै भएको बताए । यो पालिकामा अघिल्लो स्थानीय तह निर्वाचनमा बहुमत वडासहित एमालेले प्रमुख र उपप्रमुख जितेको थियो ।

त्यस्तै, गुर्भाकोटमा नगरको नेतृत्व लिन सफल नभए पनि विगतमा कांग्रेससँग देखिएको मतान्तर घटाइएको र २०७४ को निर्वाचनमा भन्दा यसपालि थप एउटा वडामा जितेको नगर कमिटी अध्यक्ष देवबहादुर खत्री बताउँछन् । पार्टी कमिटीहरूको क्रियाशीलता बढाउन सके आगामी निर्वाचनमा नगरमा एमाले पहिलो पार्टी बन्ने सम्भावना बढ्दै गएको उनको भनाई छ ।

गएको स्थानीय तहको मत परिणाम र एमालेप्रतिको बढ्दो जनलहरले आगामी प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा आफ्नो पक्षमा पर्नेमा विश्वस्त रहेको स्थानीय नेताहरूले दाबी गरेका छन् । प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार वटा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा अघिल्लो निर्वाचनमा कांग्रेस ‘निल’ भएको थियो । सबै निर्वाचन क्षेत्रमा एमाले र माओवादी केन्द्रको गठबन्धन विजयी भएको थियो । क्षेत्र नं. १ मा प्रतिनिधिसभामा एमालेबाट धुव्रकुमार शाही तथा प्रदेशमा एमालेकै खड्ग खत्री र माओवादी केन्द्रका ठम्मर विष्ट विजयी भएका थिए । विष्ट हाल एमालेमै छन् ।

त्यस्तै, क्षेत्र नं. २ मा प्रतिनिधिसभामा एमालेका नवराज रावत र प्रदेशमा यामलाल कँडेल विजयी भएका थिए भने प्रदेशमै माओवादी केन्द्रका बिन्दमान विष्टले जितेका थिए । पालिकाहरूको पछिल्लो रिपोर्ट हेर्दा क्षेत्र नं. १ र २ मा गठबन्धनसँग एक्लै भिड्दा पनि जित निकाल्न सकिने निष्कर्षमा पुगेको एमाले सुर्खेतका प्रचार तथा प्रकाशन विभाग प्रमुख गङ्गाराम तिमिल्सेनाले बताए । उनका अनुसार केही दिन पहिले निर्वाचन क्षेत्र नं. २ को पनि समन्वय कमिटी बैठक सम्पन्न भएको छ । त्यहाँ पनि सम्बन्धित पालिका कमिटीहरूले पार्टीको वर्तमान अवस्थाबारेको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

गठबन्धनसँग एक्लै भिड्न एमाले तयार : नेता कँडेल

निर्वाचन क्षेत्र नं. १ को समन्वय कमिटी बैठकमा पार्टी स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश इन्चार्ज कमरेड यामलाल कँडेलले सत्ता गठबन्धन एक हुँदा पनि एमालेले सुर्खेतका सबै क्षेत्रमा जित हासिल गर्ने दाबी गरे ।

‘केही कठिन पक्कै होला तर, म असम्भव भने देख्दिन,’ उनले अगुवा नेताहरूलाई निर्देशन दिँदै भने, ‘तपाईंहरू आफ्नो ठाउँबाट सक्रियताका साथ लाग्नुस्, सत्तारुढ गठबन्धनसँग एक्लै जुध्नसक्ने सामर्थ्य एमालेको छ ।’ अहिले गठबन्धन सरकारले जनताको हितमा काम नगरेकाले पनि एमालेप्रति जनताको आशा र भरोसा बढ्दै गएको उनले बताए ।

निर्देशनात्मक सम्बोधनमा नेता कँडेलले एमालेका कमिटीहरू व्यवस्थित, सक्रिय र प्रभावकारी बन्नुपर्ने खाँचो रहेको औँल्याए । पार्टी कामलाई गति दिन कार्यशैलीगत कमजोरी सुधार गरेर अघि बढ्नुपर्नेमा उनको जोड थियो ।

आगामी प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीमा जुट्न केन्द्र, प्रदेश र स्थानीय कमिटीका नेताहरूलाई उनले निर्देशन दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *