सत्तारूढ गठबन्धनबीच सिट भागबन्डामा रस्साकस्सी, कांग्रेस-माओवादी हाबी

काठमाडौँ । मङ्सिर ४ गतेको प्रतिनिधिसभा निर्वाचनको लागि सत्तारुढ गठबन्धनबिच सिट भागवण्डाको विषयलाई लिएर रस्साकस्सी सुरु भएको छ । सिट बाँडफाँटको जिम्मेवारीसहित गठन भएको सत्तारूढ गठबन्धन दलको कार्यदल बनेको छ । कार्यदलको संयोजक नेपाली कांग्रेसका नेता कृष्ण सिटौला हुन् ।

कार्यदलको आज पहिलो बैठक बसेको छ । बैठकले केही दिनभित्रै आफ्नो काम सक्काउने गरी छलफल चलाएको छ । कार्यदलको बैठकभित्र होस् वा बाहिर सत्तारुढ गठबन्धन दलबिच भएको छलफलमा होस् सिट भागबण्डामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र नै हाबी भएका छन् ।

गठबन्धनभित्र रहेको उपेन्द्र यादव नेतृत्वको जसपा, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा सिट भागबण्डामा आफ्नो दाबी प्रस्तुत गर्न सकेका छैनन् । यी तीन दल कांग्रेस र माओवादी केन्द्रले जति भाग दिन्छन्, त्यतिमै चित्त बुझाउने अवस्थामा पुगिसकेका छन् ।

नेपाली कांग्रेसका एक नेताका अनुसार प्रत्यक्षतर्फ १६५ सिटमध्ये एक सय सिट कांग्रेसले ढुक्कले लिनेछ । ती नेताले भने, ‘कांग्रेसले एकल बहुमत आउने गरी सिटमा दाबी गर्नेछ, सिट बाँडफाँडको लागि कार्यदल बनेको छ, कार्यदलले बाँडफाँटको मोडालिटी पेस पनि गर्ला, जेहोस् कांग्रेसले एकल बहुमत हुने गरी सिट लिनेछ ।’

०७४ को निर्वाचनमा बाम गठबन्धनका कारणले २३ सिटमा खुम्चिएको काँग्रेस अहिले बाम दलकै साथ लिएर एकल बहुमत ल्याउने गरी सिटमा बार्गेनिङ गरिरहेको छ । एक सय सिट दाबी गर्ने, अन्तिममा गठबन्धनमै दरार आउने स्थिति भयो भने ९० सिटमा सम्झौता गर्न कांग्रेस तयार भएको स्रोतको भनाइ छ ।

कांग्रेसले सत्तारुढ गठबन्धनबिच एक सय सिट दाबी गरिरहँदा नेकपा माओवादी केन्द्र पनि सिट बाँडफाँटमा हाबी देखिएको छ । कांग्रेसलाई आधा र अन्य बाँकी गठबन्धनका चार दलले आधा सिट कायम राख्नुपर्ने अडान माओवादी केन्द्रले लिएको छ । तर, माओवादी केन्द्रको यो नयाँ फर्मुलालाई कांग्रेसले टेरेको छैन । कांग्रेस आफ्नो मात्र बहुमत आउने गरी १०० सिट मागेर गठबन्धनका दललाई हप्कीदप्की गरिरहेको छ । तर कांग्रेसको हप्कीदप्कीलाई माओवादी केन्द्रले स्वीकारेको छैन ।

माओवादी केन्द्रका एक नेताका अनुसार एक सय सिट कांग्रेसलाई दिएर सम्झौता हुन सक्दैन । ती नेताले भने, ‘सबै सिट कांग्रेसलाई दिएर अन्य चार दलले के लिने रु जम्मा १६५ सिटमध्ये कांग्रेसले आधा र अन्य दलले आधा हिस्सा लिने विषयमा छलफल गर्न सकिन्छ ।’

१६५ सिटलाई शत प्रतिशत मानेर काँग्रेसलाई ५० प्रतिशत र गठबन्धनका बाँकी चार दललाई ५० प्रतिशत सिट भाग लगाउने विषयमा छलफल गर्न सकिने ती नेता बताउँछन् । उनले भने, ‘मेरो गोरुको बाह्रै टक्का गरेर सहमति कसरी हुन सक्छ । यसैको लागि कार्यदल छ, कार्यदलले मोडालिटी ल्याउनेछ, अनि छलफल गरौँला ।’

सिट बाँडफाँटको विषयमा कांग्रेस र माओवादी केन्द्र हाबी भए पनि अन्य तीन दल मौन छन् । एकीकृत समाजवादीले सिटको माग गरिसकेको छैन भने जसपा र जनमोर्चाले पनि यो विषयमा केही भनेका छैनन् । माओवादी केन्द्रले सिट भागबण्डामा आफूलाई अग्रभागमा उभ्याइरहेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीलाई देशकै दोस्रो ठूलो दल हुनेगरी सिट लिएर तालमेल गर्ने बताउँदै आएका छन् ।

माओवादी केन्द्रका अर्का एक नेता भन्छन्, ‘कुनै एउटा पार्टीलाई बहुमतमा लाने गरी सहमति हुँदैन, कसैलाई १०० सिट दिने गरी पनि सम्झौता हुँदैन, विभिन्न मोडालिटीमा छलफल हुन्छ, सबैलाई समेट्ने गरी सिट भागबण्डा हुन्छ ।’ ती नेताका अनुसार माओवादी केन्द्रले ६० सिटसम्म लिनेछ । उनले भने, ‘सबैले सिटको विषयलाई केन्द्रबिन्दु बनाए भने माओवादीले ६० सिट माग्नेछ ।’

तत्कालीन एमालेसँग ५९ सिट लिएर माओवादी केन्द्रले २०७४ को चुनावमा भाग लिएको थियो । जसमा माओवादीले ३६ सिट जित्न सफल भयो । एमालेले ८० सिट जित्यो । कांग्रेसले २३ सिटमा चित्त बुझाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *