राष्ट्रपतिले नागरिकता विधेयक राेक्नुहुन्न, ढिलाे पनि गर्नुहुन्न : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिले ढिलाइ गर्न नहुने बताएका छन् ।

जापान भ्रमण सम्पन्न गरेर बुधवार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले नागरिकता विधेयक राष्ट्रपतिले रोक्नुहुन्छ जस्तो आफूलाई नलागेको र ढिला पनि गर्न नहुने बताएका छन् । त्यस्तै प्रचण्डले पार्टी पदाधिकारी पनि छिटै टुङ्गाउने जिकिर गरे ।

उनले आफ्नो चीन भ्रमणका विषयमा पनि छलफल भइरहेको जानकारी दिए । प्रचण्डले जापान भ्रमणका क्रममा नेपाली समुदायसँग विशेष अन्तरक्रिया बहस कार्यक्रम गरेको र जापानमा भएका नेपालीहरू धेरै खुसी भएको पाएको बताए ।

त्यस्तै उनले जापानको संसद् भवनको अवलोकन गरेको र सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेतासँग छलफल गरेको र दुईपक्षिय सम्बन्धमा बारेमा चर्चा भएको जानकारी दिए । सो क्रममा जापानको संसदीय टोलीलाई चुनावको परिवेक्षका लागि नेपाल आमन्त्रणको निम्तो दिएको उनले बताए ।

उनले नेपालको कृषि, पर्यटन, जलविद्युत, पूर्वाधार निर्माण लगायतका क्षेत्रमा जापान सरकारको सहयोगलाई अझ विस्तार गर्दै जाने लगायतका विषयमा छलफल भएको धारणा पनि राखे ।

प्रचण्ड साउन २१ गते नेपाली जन प्रगतिशील मञ्च, जापानको निमन्त्रणामा त्यसतर्फ गएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *