कार्यदलका संयोजक सिटौलाले कांग्रेसलाई कति सिट दिलाउलान् ?

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्ण सिटौला सत्तारूढ गठबन्धनको सिट सङ्ख्या बाँडफाँटका लागि बनेको कार्यदलको संयोजक बनेका छन् । उनी संयोजक बनेसँगै सत्तारूढ पाँच दलीय गठबन्धनबिच कसरी सिट बाँडफाँट गर्ने भन्ने विषयमा चर्चा हुन थालेको छ ।

सिट बाँडफाँटमा सबै पार्टीमा छलफल गरेर आगामी बैठकमा आआफ्ना दाबी पेस गरिने भनिएको छ, तर सिट बाँडफाँटमा उचित सम्मान हुन नसके गठबन्धनका दलहरू बिच्किने अवस्था आउने देखिएको छ । कुन विधिमा जाने र कसरी जाने भन्नेबारे विभिन्न सुझावहरू कार्यदलले लिइरहेको छ । कार्यदलका एक सदस्यका अनुसार देशभर नै गठबन्धन गरेर जाने भनिएको छ, कहीँ गठबन्धन गर्ने, कहीँ नगर्ने भन्ने छैन ।

सत्तारूढ गठबन्धनमा पाँच दल छन् । पाँच दलले लचकताका साथ सिट सङ्ख्यामा बाँडफाँट गर्ने सहमति गर्ने भनिए पनि यो त्यति सजिलो भने देखिएको छैन । काँग्रेस नेता सिटौला आफैँ संयोजक भएका कारण कांग्रेसलाई कति सिटमा सीमित राख्लान् भन्ने विषय पनि अहिले उठिरहेको छ ।

पाँचै दल सिट सङ्ख्याको विषयमा लचक हुने समझदारी बने पनि पाँचै दलले आफ्नो अडान नछोड्ने देखिएको छ ।

काँग्रेसले सत्ता गठबन्धनमा रहेका दलहरूसँग चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ । तर सिटमा उसले आफ्नो अडान नछोड्ने देखिन्छ । ठूलो पार्टी भएकै कारण काँग्रेसले सबैभन्दा धेरै सिट लिने पक्का छ । चुनावमा गठबन्धन गरेका दलहरूसँग चुनावपछि पनि गठबन्धन निरन्तर हुन्छ भन्नेमा काँग्रेस ढुक्क छैनन् ।

काँग्रेसले चनामा तालमेल गर्ने, तर चुनावपछि गठबन्धन दलबाहेक पनि सरकार बन्ने अवस्था सिर्जना गर्ने रणनीति अङ्गीकार गरेको छ ।

कांग्रेसका एक नेताका अनुसार ०७४ को निर्वाचनमा बाम गठबन्धन हुँदा २३ सिटमा खुम्चिएकाले काँग्रेस गठबन्धन गर्नैपर्ने दबाबमा छ, तर झुकेर होइन, शिर ठाडो पारेर धेरै सिट लिएर गठबन्धनमा सहभागी हुनेछ । काँग्रेसले वाम गठबन्धन रोक्न पनि चुनावमै गठबन्धन गर्नुपर्ने दबाबमा देखिन्छ ।

नेपाली कांग्रेसका ती नेताका अनुसार कार्यदलको संयोजक सिटौला किमार्थ अन्य दलसँग झुकेर सिट बाँडफाँटमा कमजोर बन्नुहुँदैन । उनले भने, ‘उहाँले नेपाली कांग्रेसलाई झन्डै १०० सिट राख्नुहुन्छ, पार्टीका शीर्ष नेतादेखि तल्लो तहका काँग्रेस कार्यकर्ताहरूले पनि काँग्रेसले १०० सिट लिनुपर्ने सुझाव दिइरहेका छन् ।’

काँग्रेस नेताहरूले बाँडफाँडमै एकल बहुमत ल्याउने अवस्था राखेर मात्रै भागबन्डा गर्ने बताइरहेका छन् । कांग्रेसका अर्का नेताले भने, ‘एकल बहुमत पुग्ने गरी काँग्रेसले सिट बाँडफाँट गर्नेछ, चुनावी गठबन्धन गर्दा नै पाँच वर्षसम्म स्थिर सरकारको नेतृत्व काँग्रेसले गर्नेछ ।’ उनका अनुसार कार्यदलको संयोजक कांग्रेसका शालीन नेता कृष्ण सिटौला हुनुभएको छ, उहाँले कांग्रेसलाई माथि राखेर काँग्रेसको एकल बहुमत पुग्ने गरी सिट बाँडफाँट गर्नुहुन्छ ।’ ती नेताका अनुसार अन्य गठबन्धनलाई नबिच्काई सिटौलाले सिट बाँडफाँटमा चित्त बुझाउँछन् ।

‘स्थानीय निर्वाचनबाट पहिलो दल बनेको कांग्रेसलाई आसन्न निर्वाचनमा बहुमततर्फ लक्षित गराउँदै संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरण गर्ने र जनताको समुन्नतिको सपनालाई स्थिर सरकार मार्फत सम्बोधन गर्ने प्रस्ट खाकासहित चुनावी गठबन्धनमा जाने हाम्रो तयारी हो’ कांग्रेसका अर्का एक नेताले भने, ‘काँग्रेस ठूलो पार्टी हो, देशभरि सङ्गठन छ, स्थानीय तहको मत परिणामले पनि कसको कस्तो हैसियत छ भनेर देखाएको छ । काँग्रेसले १ सय सिट राखेर अरू सिटमा गठबन्धनका दलहरूसँग बाँडफाँड गर्न सकिन्छ ।’

अन्य चार दलले कांग्रेसलाई एक सय सिट दिन नसकिने आशय प्रकट गरेका छन् । एकीकृत समाजवादीका नेता झलनाथ खनालले काँग्रेसले उचित ढङ्गले सिट बाँडफाँट नगरे एमालेसँग पनि समीकरण हुनसक्ने बताउँदै आएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि आफू निकटसँग कांग्रेसलाई एक सय सिट दिन नसकिने बताएका छन् । जसका कारण सिट बाँडफाँटमा गठबन्धनबिच सङ्कट उत्पन्न भएको छ ।

यस्तो अवस्थामा काँग्रेस नेता सिटौलाले कांग्रेसलाई कति सिटमा सीमित राख्लान् र अरूलाई कति सिट भागबन्डा गर्लान् त्यो भने हेर्न अझै केही दिन लाग्ने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *