चितवनमा १२ हजार ९६३ मतदाता थपिए

चितवन । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि चितवनमा १२ हजार ९६३ मतदाता थपिएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार असार १ गतेदेखि सुरु गरेको नामावली सङ्कलन कार्यमा नयाँ नाम दर्ता गर्नेको सङ्ख्या १४ हजार ७३१ जना रहेको छ । नाम दर्ता गराउनेमध्ये एक हजार ७६८ जना बाह्य जिल्लाका छन्।

चितवनमा एउटा मतदान स्थल थपिएको छ । नौ वटालाई स्थानान्तरण गरिएको छ । मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन समितिको बैठकले माडी नगरपालिका–२ स्थित जीवनपुर राष्ट्रिय आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रलाई विभाजन गरी देवीस्थानमा थप गरिएको हो ।

त्यस केन्द्रमा मतदान गर्नका लागि मतदाता तीन घण्टासम्म हिँडेर आउनुपर्ने भएकाले केन्द्र विभाजन गरी थप गर्ने निर्णय गरिएको हो । उनका अनुसार दुई वटा केन्द्रको त्रुटि सच्याउने र नौ वटा केन्द्र स्थानान्तरण गर्ने काम गरिएको हो ।

कार्कीका अनुसार नौ मतदान केन्द्र मतदातालाई पायक पर्ने स्थानमा स्थानान्तरण गरिएको छ । विद्यालय गाभिएका, भौतिक संरचना निर्माण भई कम्पाउन्ड साँघुरो भएका केन्द्रलाई स्थानान्तरण गरिएको हो ।

भरतपुर महानगरपालिका–८ मा रहेको शरदपुर माध्यमिक विद्यालय मतदान स्थललाई वडा नं ९ मा रहेको शरदपुर माध्यमिक विद्यालय प्राविधिक शिक्षालयमा सारिएको छ ।

यस्तै राप्ती नगरपालिका–२ मा रहेको बुद्धशान्ति क्याम्पसको मतदान स्थललाई राप्ति नगरपालिका–३ को वडा कार्यालयमा स्थानान्तरण गरिएको छ । स्थानीय तहको निर्वाचन २०७९ मा जिल्लामा तीन लाख ९७ हजार ६८५ मतदाता थिए । जिल्लामा १६१ मतदानस्थलमा ४५१ मतदान केन्द्र थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *