०७४ मा वामगठबन्धनमा यसरी भएको थियो सिट बाँडफाँड

काठमाडाैँ । ०७४ को निर्वाचनमा एमाले र माओवादीले मूलतः स्थानीय तह निर्वाचन परिणामलाई पहिलो आधार र त्यसपछि ०७० को संविधानसभा निर्वाचनको परिणामलाई दोस्रो आधार मानेर संघ र प्रदेश निर्वाचन क्षेत्रको सिट बाँडफाँड गरेका थिए । वामगठबन्धनका लागि गठित कार्यदलले ६०/४० को अनुपातमा सिट बाँडफाँड गर्ने सैद्धान्तिक सहमति गरेको थियो ।

अन्तिम सिट बाँडफाँड भने दुवै पार्टीका शीर्ष नेताले पहिलो र दोस्रो चरणको निर्वाचनअघि दुई चरणमा टुंगो लगाएका थिए । जसअनुसार एक सय ६५ संघीय निर्वाचन क्षेत्रमध्ये एमालेले ९७ र माओवादी केन्द्रले ५८ सिटमा उम्मेदवार उठाएका थिए ।

भागबन्डामा पाएको सिटमा एमालेले ९२ सिटमा उम्मेदवारी दिएको थियो भने हृदयेश त्रिपाठीको समूहबाट सूर्य चिह्न लिएर पाँचजना उम्मेदवार उठेका थिए । निर्वाचन परिणामअनुसार एमालेले ८० र माओवादी केन्द्रले ३६ निर्वाचन क्षेत्रमा जित हासिल गरे ।

समानुपातिकतर्फ ४१ सिटसहित एमालेले एक सय २१ र माओवादी केन्द्रले १७ सहित ५३ सिट जितेका थिए । यसरी एमाले र माओवादी केन्द्रको वामगठबन्धनले दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिकसहित एक सय ७४ सिट जितेका थिए ।

त्यस्तै, प्रदेशका तीन सय ३० सिटमध्ये एमाले र माओवादीले ६०/४० कै अनुपातमा भागबन्डा गरेका थिए । जसअनुसार एमालेले एक सय ९८ र माओवादी केन्द्रले एक सय ३२ सिट बाँडेर सिट भागबन्डा गरेका थिए । त्यसमा एमालेले एक सय ६८ र माओवादी केन्द्रले ७३ सिट जितेका थिए । -नयाँ पत्रिकाबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *