निर्वाचन एउटा साधन हो, हाम्रो निम्ति सत्ता सबैथोक होइन् : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो लागि सत्ता सबैथोक नभएको बताएका छन्। नेपाल समाजवादी पार्टीको पहिलो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै भट्टराईले सो कुरा बताएका हुन्।
पुरानै बाटोमा हिँड्न खोजेकाहरूले परिवर्तनको बाटो रोज्न नखोजेको उनले बताए। ‘जो मान्छेहरु पुरानो बाटोमा हिँड्न खोजेका थिए, तिनीहरुले परिवर्तनको बाटो हिँड्न खोजेनन्,’ भट्टराईले भने। सडक, सदन र सरकारबाट संघर्षमा उत्रने बताए।
‘निर्वाचनमा मुखमा आएको नयाँ दलले अपेक्षित परिणाम ल्याउने वा नल्याउने विषय छ,’ बैठकमा सम्बोधन गर्दै भट्टराईले भने, ‘हामीले निर्वाचनलाई एउटा साधनको रुपमा लिन्छौं। हाम्रो निम्ति सत्ता सबैथोक होइन्।’
निर्वाचन रुपान्तरणको एउटा साधनमात्र भएको भट्टराईले बताए। ‘रुपान्तरणको एउटा साधन हो, हाम्रो लागि सडक, सदन र सरकारबाट विभिन्न प्रकृतिको संघर्ष गरेर नेपाली समाजको बाँकी कार्यभार पूरा गर्न सकिन्छ भन्ने मान्यता छ।’ भट्टराईले भने।
पार्टीको आजबाट सुरु भएको बैठकले निर्वाचनमा कसरी अघि बढ्ने भन्नेबारेमा छलफल हुने उनले बताए। ‘एक्लै अघि बढ्ने कि विचार मिल्ने नजिकका अरूसँग सहकार्य गर्ने भन्नेबारेमा पनि हामी निर्णय निकाल्नेछौँ।’ उनले भने।








