शक्तिराष्ट्रको टकरावबीच किन चीन जाँदैछन् परराष्ट्रमन्त्री खड्का ?

काठमाडाैँ । अमेरिका र चीनबीच ताइवान टापु तथा नेपाल–अमेरिका सहकार्यबारे बादविवाद चलिरहेका वेला परराष्ट्रमन्त्री नारायण खड्काको चीन भ्रमण तय भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीबाट निमन्त्रणा पाएको नौ महिनापछि मंगलबार उनी चीनको औपचारिक भ्रमणमा जाने भएका छन् ।

परराष्ट्रमन्त्री खड्कालाई समकक्षी वाङले गत २ कात्तिकमा पहिलोपटक टेलिफोन कुराकानीका क्रममा चीन भ्रमणको निम्ता गरेका थिए । ‘त्यसपछि परराष्ट्र मन्त्रालय र चिनियाँ राजदूतावासबीच निरन्तर समन्वयपछि खड्काको चीन भ्रमणको मिति तय भएको हो,’ जानकार कूटनीतिक स्रोतले भन्यो, ‘दुई महिनाअघिसम्म नेपालले भ्रमणका विषयमा फलोअप गरिरहेको थियो, तर पछिल्लोपटक चीनले बढी चासो देखाएर भ्रमण हुन लागेको हो ।’

खड्का चीन भ्रमण गर्न लागेका वर्तमान सरकारका पहिलो प्रतिनिधि हुन् । परराष्ट्र मन्त्रालयका अनुसार उनले मंगलबारदेखि बिहीबारसम्म भ्रमण गर्नेछन् । शेरबहादुर देउवा नेृतत्वको सरकारको पहिलो चिनियाँ पाहुनाका रूपमा विदेशमन्त्री वाङले यसअघि चैतमा नेपाल भ्रमण गरेका थिए ।

परराष्ट्रमन्त्री खड्का र चिनियाँ समकक्षी वाङबीच बुधबार प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ । खड्काले चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीसँग नेपाल सरकारका प्रतिनिधिका रूपमा मात्र नभएर कांग्रेसका प्रतिनिधिका रूपमा खड्काले संवाद गर्दै आएका छन् ।

मन्त्री खड्काको भ्रमण टोलीमा परराष्ट्रसचिव भरतराज पौड्याल, परराष्ट्रको उत्तर–पूर्वी महाशाखा हेर्ने अधिकारी सहभागी पनि हुनेछन् । बेइजिङबाट नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ पनि प्रतिनिधिमण्डलमा सहभागी हुनेछन् । ‘मन्त्रीज्यूको भ्रमणको तयारी भइरहेको छ । एजेन्डाका विषयमा पनि हाम्रो आन्तरिक छलफल चलिरहेको छ,’ राजदूत श्रेष्ठले बेइजिङबाट नयाँ पत्रिकासँग भने, ‘म पनि प्रतिनिधिमण्डलमा सहभागी हुन जाँदै छु ।’

चिनियाँ विदेशमन्त्री वाङ गत ११ चैतमा नेपालको औपचारिक भ्रमणमा आएका थिए । नेपालले १५ फागुनमा अमेरिकी अनुदान सम्झौता एमसिसी पारित गरेको एक महिनाभित्रै उनी नेपाल आएका थिए । एमसिसीका नाममा अमेरिकाले नेपालमा जबर्जस्ती कूटनीति लाद्न खोजेको आरोप लगाउँदै चीनले विरोध जनाएको थियो । वाङपछि चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुख लिउ जियान्चाओ २६ देखि २९ असारसम्म नेपाल भ्रमणमा आएका थिए ।

गत चैतमा चिनियाँ विदेशमन्त्रीको भ्रमणलगत्तै प्रधानमन्त्री देउवाको भारत भ्रमण भएको थियो । यसपटक अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुको भ्रमणलगत्तै परराष्ट्रमन्त्रीको चीन भ्रमण हुन लागेको छ । ‘यो अर्थपूर्ण संयोग हो,’ परराष्ट्रका अधिकारीहरूको भनाइ छ । गत चैतमा सी आएको दुई महिनापछि जेठमा अमेरिकी उपविदेशमन्त्री उज्रा जियाको नेपाल भ्रमण भएको थियो । उनी काठमाडौंस्थित तिब्बती शरणार्थी शिविरमा भ्रमण गरेपछि चीनले असन्तुष्टि जनाएको थियो ।

यी हुन् छलफलका विषय

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भ्रमणमा द्विपक्षीय हितका विषयमा छलफल हुने बताइन् । भ्रमणका एजेन्डाबारे गृहकार्य भइरहेको उनको भनाइ छ । ‘छलफलपछि हामी विषयहरू सार्वजनिक गर्नेछौँ, हाम्रो तयारी भइरहेको छ,’ शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भनिन् । ताइवानको विषयसँग परराष्ट्रमन्त्रीको भ्रमणको कुनै सम्बन्ध नरहेको प्रस्टीकरण उनले दिइन् ।

सरकारी स्रोतका अनुसार परराष्ट्रमन्त्री खड्का र समकक्षी वाङबीच दुई देशबीच उच्चस्तरीय राजनीतिक भ्रमण आदान–प्रदानलगायत विगतमा भएका सहमति कार्यान्वयनबारे छलफल हुनेछ । २६ असोज ०७६ मा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा भएका १८ बुँदे समझदारी र दुईबुँदे आपसी पत्राचारका विषय कार्यान्वयनबारे पनि छलफल गर्ने नेपालको तयारी छ । त्यसवेला सीमा व्यवस्थापन, आपसी कानुनी सहायता सन्धि, सगरमाथा संरक्षणसम्बन्धी सहकार्य, प्रकोप व्यवस्थापन र आपत्कालीन उद्धारमा सहकार्यलगायतका विषयमा सहमति भएको थियो । व्यापारसम्बन्धी संयुक्त कार्य समूह, सीमा सुरक्षामा उपकरणसम्बन्धी सहकार्य गर्नेलगायतका सहमति पनि त्यतिखेर भएका थिए ।

यीबाहेक दुई मन्त्रीबीच १२ चैतमा काठमाडौंमा भएको वार्तामा आर्थिक तथा प्राविधिक सहायतासम्बन्धी सम्झौता, रेल्वे परियोजनाका लागि चिनियाँ सहयोगका सम्भाव्यता अध्ययनका लागि प्राविधिक सहायता स्किमसम्बन्धी सम्झौतालगायत नौ बुँदामा समझदारीपत्र आदान–प्रदान भएको थियो । विगतमा सहमति भएअनुसार नेपाल–चीन (गल्छी–रसुवागढी) पावर ग्रिड इन्टरकनेक्सनका लागि सम्भाव्यता अध्ययन कार्यान्वयनलगायतका विषयमा यसपटक पनि छलफल हुनेछ । तातोपानी र केरुङ नाका निर्वाध रूपमा सञ्चालन, काठमाडौं–ल्हासा हवाई रुट सुरु गर्नेलगायतका एजेन्डामा पनि छलफल गर्ने तयारी छ । ‘एजेन्डाहरू फाइनल भइसकेका छैनन्, गृहकार्य जारी छ,’ राजदूत श्रेष्ठले भने । -नयाँ पत्रिकाबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *