जापान विश्वकै लागि प्रेरणाको स्रोत हो : प्रचण्ड

टोकियो – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै पारित भएको नागरिकता विधेयकले एनआरएनको हितलाई जोड दिएको दाबी बतमएका छन् । पाँच दिने भ्रमणका लागि जापान पुगेका प्रचण्डले नेपाली समुदायसँगको छलफलको क्रममा प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएको नागरिकता विधेयकले एनआरएनको हितलाई जोड दिएको बताएका हुन् ।

अध्यक्ष प्रचण्डले जापान विश्वकै लागि प्रेरणाको स्रोत रहेको बताए । युद्धपछिको विकास निर्माणको काम कसरी अगाडि बढाउन सकिन्छ भन्ने उदाहरण जापानले पेस गरेको उनले बताएका छन् । आफ्नै बलमा कसरी माथि पुग्न सकिन्छ भन्ने कुरा जापानबाट सिक्न सकिने अध्यक्ष प्रचण्डले बताए ।

नेपालमा विकास र राजनीतिक स्थायित्वको आधार तयार गर्न सके मात्र विदेशमा रहेका नेपाली स्वदेश फर्किने र उनीहरुको ज्ञान, सीप र साधनको उच्चतम प्रयोग गर्न सकिनेमा पनि उनले जोडदिए । सत्ता गठबन्धनले पनि स्थायित्व र विकास निर्माणलाई केन्द्रमा राखेर योजना निर्माण गर्ने गरेको अध्यक्ष प्रचण्डको दाबी थियो ।

अध्यक्ष प्रचण्डले आफ्नो भ्रमणबाट नेपाल-जापान सम्बन्ध अघि बढाउन सहयोग पुग्ने बताएका छन् । ‘स्वभावैले एउटा सकारात्मक माहोल बन्छ,’ उनले थपे, ‘दुई देशको सम्बन्धलाई विकसित गर्न र दुई देशबीचको आर्थिक सहयोग र अन्य क्षेत्रलाई पनि विस्तार गर्न सहयोग गर्छ ।’

उनले जापानमा अध्ययन गरिरहेका विद्यार्थी र व्यवसायीहरुको विषयमा पनि जानकारी लिने बताएका छन् । नेतृत्वले इमान्दार प्रयास गर्‍यो भने नेपालमा विकास निर्माण सम्भव भएको र आफ्नो जोड पनि विकास निर्माणमा नै रहेको प्रचण्डको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *