खुवालुङ विशेष:

खुवालुङ नाटक विगतकाे ‘आन्दाेलन’कै एउटा रूप हाे : निर्देशक किरण (अन्तर्वार्ता)

काठमाडाैँ । विगत दश वर्षयता रङ्गकर्ममा सक्रिय किरण चाम्लिङ राई अहिले पनि उही कर्ममा व्यस्त भेटिन्छन् । झापाको ‘कदम थिएटर’बाट रङ्गकर्म शुरू गरेका उनी शिल्पी थिएटर हुँदै अहिले बानेश्वरकाे मण्डला थिएटरमा ‘निर्देशकीय दिनचर्या’ बिताइरहेका छन् ।

पाँचथरकाे मिक्लाजुङ गाउँपालिकामा जन्मी-हुर्केका उनले यसअघि नै ‘लाटो पहाड’, ‘जोखाना’जस्ता चर्चित नाटकहरू निर्देशन गरिसकेका छन् । यी दुई नाटकहरूकाे अपार सफलतापछि उनी खुवालुङकाे निर्देशन कार्यमा जुटे, जुन अहिले शहरकाे चर्चा/बहसकाे विषय बनिरहेकाे छ । उनै खुवालुङका निर्देशक किरणसँग मकालुखबरकर्मी स्काई राईले गरेकाे याे कुराकानीकाे सम्पादित अंश प्रस्तुत छ ।

नाटक कसरी सुरुवात भयो ?

निर्देशक किरण चाम्लिङ राई

नाटक गर्ने योजना थियो । तर, कथा बनिरहेकाे थिएन । राजन (राजन मुकारुङ : कथाका लेखक) दाइले पनि नाटक गर्ने भनिरहनुभएकाे थियाे । तर, यही विषयमा गर्ने भन्ने निधोचाहिँ भइसकेकाे थिएन । पछि आएर खुवालुङ गर्नुपर्छ भन्नुभयाे । तर, यस्तो संवेदनशील विषयमा कसरी गर्ने भन्ने मनमा लागिरहेको थियो । दाइले २/३ कथा ल्याउनुभयो ।

मिथक नै विषय बनाएर अरु पनि २/३ वटा कथा ल्याउनुभएको थियो । त्यसपछि हामीले खुवालुङमाथि नै काम प्रारम्भ गर्‍याैँ । गर्दै आयाैँ र अहिले चलिरहेकाे छ । हामीले खुवालुङमाथि गर्ने भनेर ठिकै गरेछाैँ भन्ने लागिरहेकाे छ ।

मिथकमा आधारित नाटककाे निर्देशन गर्नलाई कति सहज हुँदाेरहेछ ?
मिथक भनेकै पूर्खाहरूले भन्दै र सिकाउँदै आएका, बाउ-बाजेदेखि भन्दै आएका, एकपछि अर्काे हुँदै सुनिँदै आएको कथाको प्रतिनिधि कथा हाे । यो पनि व्यक्ति वा समुदायअनुसार परिवर्तन हुँदै आएकाे देखिन्छ । यसको कुनै तथ्य हुँदैन र छैन पनि । यसलाई समसामयिक र विश्वसनीय बनाउनुपर्ने थियाे । त्यसकारण केही फिक्सन पनि मिसाएका छाैँ । फेरि मिथक पनि समयानुसार फरक-फरक रहेको पाइन्छ । खुवालुङको मिथक पनि समुदायअनुसार फरक नै रहेको पाइन्छ । त्यसाे हुँदा पनि खुवालुङबाट छुट्टिएकाे कथा भने सबै समुदायमा एउटै देखिन्छ । त्यसकारण यसलाई नै कथाकाे मूलभाव बनाएका छाैँ । स्वाभाविकरूपमा शुरूमा केही गाह्राेजस्ताे भएपनि काम हुँदै जाँदा ठिकै लागेकाे छ ।

के यो नाटक विगतमा भएको आन्दोलनको पाटो नै हो ?
हामीले आन्दोलन गर्नुपर्छ भनेरचाहिँ नाटक गरेको होइनौँ । तर, आन्दोलनबाटै खुवालुङ बचाउनुपर्छ भन्ने अभियान भने शुरू भएकाे थियाे विगतमा पनि र सम्भवत: अझै पनि उठ्लान् । तर, मलाई के लाग्छ भने सायद गीत, संगीत वा नाटकमा संस्कृतिका कुराहरू हुनु भनेकाे आन्दोलनजस्तै हो । तर हामीले नाटकमार्फत् जुन कुराहरू उठायाैँ, त्यो पछि आन्दोलनको विषयहरू बन्न नसक्लान् भन्न सकिन्न ।

यस नाटकमा धेरै प्राय: किसिमको राई भाषाहरू मिसाइएकाे छ । यसरी धेरै भाषाहरू मिसाएर नाटक गर्दा निर्देशकीय पक्षबाट र कलाकारिताको पाटोबाट हेर्दा कतिको सजिलो वा अप्ठ्यारो भयो ?
गाह्रो त भयो नै । तर, सुन्दरता पनि यही गाह्रोभित्रै छ । हामीले भाषाको माध्यमबाट एकता देखाउन खोजेका हाैँ । उहिलेको त्यो बेलामा त अहिलेजस्तो विभिन्न भाषा विकाश भइसकेका थिएनन् । पहिले त एउटै भाषा थियो । पछि पाे छुट्टिँदै आएपछि आफ्नो भाषा बनेको अथवा विकास हुँदै आएको हो । पहिले सभ्यता छुट्टिनुभन्दा अगाडि त हामी एउटै भाषा बोलिरहेका थियाैँ । फेरि विभिन्न भाषाको माध्यमबाट एकताको बिम्ब देखाउन खोजिएको हाे । केहीरूपमा अप्ठ्याराे भएपनि त्यसलाई सम्हालेर अगाडि लगेका छाैँ ।

विगतका तपाईंकाे नाटकहरू जोखाना र लाटो पहाड हेर्दा संस्कृतिभित्र नै रहेर काम गरेकोजस्तो देखिएको छ । अहिले पनि संस्कृतिमै आधारित नाटक हो भन्दा फरक नपर्ला । के तपाईंको यो रुचिको विषय नै संस्कृति भएर हो ? कि गर्दै जाँदा यी नाटकहरू आएका हुन् ?
त्यस्तो होइन, मलाई संस्कार-संस्कृतिको कुराहरू गर्न मनपर्छ । मलाई जहिले पनि आफ्नो भाषा-संस्कृतिको कुरा गर्न मन लाग्छ । तर, यसको अर्थ यो होइन, कि आफ्नै संस्कारको मात्र कुरा गरिरहुँ, आफ्नै संस्कार-संस्कृतिको मात्र कुरा गरुँ । तर यो पनि भोगेँ कि आफूले भुलेको परिवेशको, आफ्नो जराको कुराहरू जुन राष्ट्रबाट नै; अथवा भनाैँ अन्तर्राष्ट्रियरूपम गायब बनाउन खाेजिएकाे छ । जुन भाषाहरू आमरूपमा पूर्खाहरूले बाेल्थे, त्यसलाई बचाउनका लागि पनि यीखाले कदमहरू चाल्नुपर्छ भन्ने लागेकै हाे । सायद हाम्रो संस्कृतिको जगेर्नाको निम्ति कसैले बाेल्दैन भने त्याे अगतिलाे हुन जान्छ । त्यसकारण पनि मलाई यो कलाको माध्यमबाट हाम्रो कुराहरू राख्न आकर्षित गराउँछ र इच्छुक पनि हुन्छु ।

तपाईंकाे बुझाइमा रङ्गकर्म कस्तो क्षेत्र हो र तपाईं किन यता लाग्नुभयाे ? 
यो प्रश्नको जवाफ प्रत्येक मान्छेसँग फरक आउँछ । किनकि यसको भोगाइ र बुझाइ सबै एउटै हुन्छ भन्ने छैन । मेरो भनाइमा भन्ने हाे भने म किन रङ्गमञ्च गरिरहेको छु ? भन्ने सटिक जवाफ अझै पनि मसँग छैन । तर, आत्मसन्तुष्टिका लागि भने पक्कै हो । होला, अरू ठाउँमा भन्दा यस ठाउँमा यदि कमाइ छैन, तर पनि आफ्नो कुराहरू भन्ने ठाउँ पाएको छु । यसमा म सन्तुष्ट छु ।

कोही मान्छेहरू होलान्, केही सिक्न आएका होलान्, रङ्गकर्म बुझ्न आएका होलान्, यहीँबाट पनि चलचित्रमा जानको लागि आएका होलन्, कोही फुर्सदको समय सदुपयोग गर्न आएका होलान्, तर मलाई भने म रङ्गमञ्च गरेर यहाँसम्म पुग्छु भन्ने छैन । यसले मेरो कुराहरू खुल्लारूपले भन्ने ठाउँ दिएको छ । यसैमा सन्तुष्ट छु । यसकारण नै यसमा छु । अझै भन्ने हाे भने आफ्नो प्यासनको कारण म यस क्षेत्रमा छु ।

तपाईंको दृष्टिकोणमा रङ्गकर्मको राम्रा र नराम्रा पक्षहरू के छन् त ?
रङ्गकर्मकाे राम्रो कुरा भन्नुपर्दा अहिले यसको व्यावसायिक रूप बढ्दै गइरहेकाे छ । नयाँ पिँढीका साथीहरू आइरहनुभएको छ । यस क्षेत्रमा नयाँ समुदायबाट व्यक्तिहरू आइरहनुभएको छ अनि यो क्षेत्रमा वर्ग विभाजित छैन । आफूभन्दा अग्रजहरूको सम्मान छ, मुख्यरूपमा भन्नुपर्दा पहिलेभन्दा अहिलेको अवस्था आर्थिक हिसाबले पनि बलियाे छ भन्ने लाग्छ । नाटककै गरेर धेरै पैसा नकमाए पनि आफ्नो जीविका भने मज्जैले चल्छ । एउटा राम्रो नाटकमा काम गरियो भने खर्चको खाँच्चैचाहिँ हुँदैन । नराम्राे पक्ष भन्नुपर्दा जति धेरै नयाँ पुस्ताहरू आएतापनि साधनाको कमी देखिएको छ र यसलाई एउटा माध्यम मात्र बनाइएको छ । यसको अर्थ नाटक सिकेर चलचित्रतिर धेरै गएका छन् । फेरि मैले यो भन्न खोजिरहेको छैन कि गीत नाटक सिक्नेबित्तिकै चलचित्रमा जानु हुँदैन । तर, रङ्गमञ्चलाई चलचित्रमा जाने माध्यम भने बनाइनु हुँदैन । यो क्षेत्रमा आउँदा प्रष्ट विचारले र आउनुपर्‍याे अर्थात् यो क्षेत्र कस्तो हो भनेर बुझेर आउनुपर्छ । यसो भन्दैगर्दा यो कुरा पनि होला यो क्षेत्र नलागीकन यो क्षेत्र कसरी बुझ्ने ? कहाँबाट थाहा पाउने ? त्यसको अर्थ यस क्षेत्रमा आउँदा मूलभूत: कुराहरू बुझेर आउँदा राम्रो हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.