खुवालुङ : नाम हाेइन, काम बाेल्छ !

काठमाडाैँ । मण्डला नाटकघरमा अहिले ‘खुवालुङ’ नाटक मञ्चन भइरहेको छ । साहित्यकार राजन मुकारुङको लेखन तथा किरण चाम्लिङ राईद्वारा निर्देशित ‘खुवालुङ’ नाटकले कुनै एक समुदायको संस्कार, इतिहास, दर्शन र पहिचानकाे मात्रै मुद्दा भने उठाएकाे छ । भलै ‘खुवालुङ’ किराती समुदायसँग सम्बन्धित हाेला तर, यसले मुद्दा भने समग्रताकाे उठाएकाे छ, मानव इतिहासकाे उठाएकाे छ । यसलाई मानव इतिहासकाे एउटा दस्तावेज हाे भन्नेर हिच्किचाउन नपर्ला ।

जे हाेस्, यसले ‘नामले होइन कामले बोल्न सक्नुपर्छ’ भन्ने नेपाली उक्तिलाई भने मज्जैसँग परपुष्टि गरेको छ । आखिर किन जाबो एउटा नाटकका लागि यत्तिका बढाइचढाइ र चर्चा ? आउनुस् केही चर्चा गराैँ ।

०००

हालको दुधकोशी, अरुण र तमोर नदीको संगमस्थल त्रिवेणीको जलाशयमा अवस्थित विशाल ढुङ्गालाई मुन्दुमी मान्यता र विश्वासअनुसार ‘खुवालुङ’ भनिन्छ । ‘खुवालुङ’लाई साक्षी राखेर त्रिवेणीमा मिसिएका नदीहरूको मूल मुहान पछ्याउँदै जाने क्रममा विकास भएको एक मानव सभ्यताको कथा नै ‘खुवालुङ’को कथा हो, यसरी बुझ्दा अझै पनि सजिलाे हुन्छ । याे पङ्क्तिकार यही अपेक्षा पनि राख्दछ ।

‘सांस्कृतिक आन्दोलनको निरन्तरताका लागि नाटककलामार्फत् पनि केही भन्नपर्छु, कहनुपर्छ भन्ने जिम्मेवारी महसुस भएर यो नाटक लेखिएको हो,’ लेखक मुकारुङ मकालुखबरसँग भन्छन् । ‘खुवालुङ एउटा पर्यटकीय स्थल सावित भइसकेको र हालको समयमा यो एउटा समुदायको मात्र नभइ नेपालकै एउटा सांस्कृतिक सम्पदा हो र यसलाई सबैले जोगाउनुपर्छ, संरक्षण गरिनुपर्छ । संरक्षण मात्र होइन, सम्वर्द्धन गर्नुपर्छ, प्रवर्द्धन गरिनुपर्छ भन्ने आवाजहरू उठिरहेको र यसलाई एकीकृत गर्न पनि नाटक लेखिएको हो,’ मुकारुङ थप्छन् ।

खवालुङ मुख्यतः किराती सभ्यतामा आधारित रहेकाले यस समुदायभित्रकै धेरै कथा, उपकथा र मिथकहरू बुझ्न सकिन्छ । निर्देशक स्वयम्‌ले राईले पनि नाटक गर्नुभन्दा अगाडि ‘खुवालुङ’सम्बन्धी कुनै पनि ज्ञान नरहेको तर नाटक निर्देशन गर्दै जाने क्रममा उक्त ढुङ्गासम्बन्धी थुप्रै ज्ञानहरू हासिल गरेकाे सुनाउँछन् । ‘खुवालुङ’ के हो त ? भन्ने जिज्ञासामा उनी भन्छन्, ‘खुवालुङ’ मुख्यतः हाम्रो सभ्यता, संस्कृति र संस्कार खोज्नेहरूका लागि कोशेढुङ्गा हो । यदि कसैले किराती सभ्यताको अध्ययन र अनुसन्धान गर्न चाहन्छ भने उसले खवालङ पुग्नै पर्छ ।’

हुन पनि यदि हामीले किराती सभ्यताको अध्ययन गर्ने हो भने मुन्दुम खोताल्नै पर्ने हन्छ र मुन्दुममा पनि यस ढुङ्गाको चर्चा परिचर्चा गरेको पाइन्छ ।

‘खुवालुङ’को सन्देश

पछिल्लाे पुस्ताहरूले बिर्सिँदै गइरहेको किराती सभ्यताका विभिन्न मिथक र जनविश्वासहरू जस्तै; माछा उँभोतिर नगइ उँधोतिर झर्नु, सिकारमा माउ र बच्चाहरू संरक्षण गर्नु, सिकार हराउँदा पितृ-पूर्खाहरूलाई पुकार्नु, सिमे-भूमे गुहार्नु, नयाँ अन्नबाली भित्र्याउँदा तीन चुल्हा पुज्नमा देख्न सकिन्छ । ‘खुवालुङ’ले यसैलाई पनि पुन:ताजकी गरेकाे छ ।

नाम जति नै ऐतिहासिक र सांस्कृतिक रहेतापनि र्वतमान समाजको प्रमुख समस्या र मुद्दाहरू उठाएकाले अझ यस नाटक सशक्त देख्न सकिन्छ । नाटकले राज्य व्यवस्थामाथि मात्रै प्रश्न उठाएकाे छैन, राष्ट्रको स्वघोषित राज्यको चौथो अङ्ग भनी हिँड्ने पत्रकारहरूलाई समेत आफ्नो र्कतव्यप्रति अपनत्वबाेध गराइदिएकाे छ ।

नाटकमार्फत् यदि पत्रकारिता समाज र समुदायका लागि भइदिएन भने समाज, राज्य र समुदाय कहाँ पुग्छ त ? भन्ने कुराकाे चित्रित नाटकमा देखिन्छ ।

नाटकमा मुलुकभित्रका विभिन्न किराती भाषाहरूको प्रयोगले पनि यस नाटकको मर्मलाई अझ बलियो बनाइदिएको छ । नाटकभित्र किराती समुदायभित्रकै विभिन्न भाषा जस्तैः बाहिङ, कुलुङ, बान्तवा र सुनवार आदि भाषा प्रयोग गरिनाले पनि किराती सभ्यता कति धनी थियो र कति विविधता थियो भन्ने पुष्टि गरेको छ ।

यस्ता नाटकहरूमार्फत् भाषाको संरक्षण कसरी गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरणसमेत बनेको छ ।

०००

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा आयोजित सभामा ‘स्टिमर चढेर सुनसरीको चतराबाट ११ मिनेटमै भोजपुरबाट चतरा आइपुग्न बाधा भएको एउटा ढुंगो क्रेन लगाएर फुटाएर बाटो क्लियर गर्दैछौँ’ भन्ने अभिव्यक्ति दिए ।

२०७७ फागुन ८ पछि त्यो वाक्यसँगै ‘खुवालुङ’को चर्चा ह्वात्तै बढ्यो । त्यसपछि राई तथा गैरराईहरूले यसबारे थाहा पाउँदै गए । प्रधानमन्त्री ओलीकाे त्याे अभिव्यक्तिविरुद्ध विशेषरूपमा किराती समुदायले आवाज उठाए । ‘खुवालुङ’लाई फोड्ने कुराले किराती समुदायमा एउटा तरंग ल्याइदियो । त्यसबखत विभिन्न सांस्कृतिक संस्थाहरूले समेत यसको बचाउमा आन्दोलन गरे ।

किनकि, त्यो ढुंगा अन्य ढुंगाजस्तो सामान्य थिएन । त्यो त किरात समुदायको आस्थाको धरोहर थियो । अहिले पनि छ र रहिरहने छ ।

‘खुवालुङ’को कथा

‘खुवालुङ’ अचानक बनेको ढुंगो होइन । यो हजारौं हजार वर्षदेखि नदीको बीचमा उदयपुर, धनकुटा र भोजपुरको सीमा भएर बसेको छ । नदीको बीचमा बसेर पनि नखिइनु, रङमा बदलाव नआउनु र प्रलयकारी भूकम्प आउँदा पनि हलचल नहुनु आफैँमा रहस्यमय छ । यो अडिग भएर बस्नु पनि कुनै दैवी शक्ति छ भन्ने जनविश्वास रहेको छ । अर्थात् यो आम-ढुंगाभन्दा फरक छ । किरात समुदायमा तीन चुला लगाउने चलन छ, जुन ढुंगाकै हुन्छ । तीन चुला लगाउँदा पनि मुन्दुमी भाषामा फलाकिन्छ ।

‘खुवालुङ’लाई संस्कार र संस्कृतिको प्रतीक पनि मानिन्छ । ‘खुवालुङ’ सांस्कृतिक विश्वास र अभ्यासको जग हो । ‘खुवालुङ’लाई साक्षी राखेर त्रिवेणीमा मिसिएका नदीहरूको मूल मुहान पछ्याउँदै जाने क्रममा विकास भएको किराती मानव सभ्यता नै किराती सभ्यताको हो । अहिले पनि २८ भाषी राईले आफ्नै भाषामा, ‘खुवालुङ’लाई पुज्दै आएका छन् ।

किराती जातिले आफ्नो मौलिक सांस्कृतिक रीतिरिवाज प्रदर्शन गर्नेहरूका लागि ‘खुवालुङ’ एउटा सांस्कृतिक केन्द्र हो । किराती सांस्कृतिक ग्रन्थ ‘मुन्दुम’ ले ‘खुवालुङ’को महत्त्व वर्णन गरेको छ । किराती सांस्कृतिक अभियन्ताहरूकाअनुसार किराती समुदायका प्रायः सबै सांस्कृतिक रीतिरिवाजमा ‘खुवालुङ’ पुकारिन्छ ।

धेरैले यसलाई किराती सांस्कृतिक क्षेत्रको एक महत्त्वपूर्ण आत्मा पनि मान्दछन् ।

०००

साँच्चै नै नाम मात्रै नहेरी हेरिनुपर्ने यस नाटकले पहिचानको मुद्दा त उठाएकै छ । त्यसको साथमा नारीवाद, मातृभूमिप्रतिको माया, युद्धका विभिन्न पक्षको उठान र अन्धो विकासेहरूलाई दरिलो झापड हानेको छ ।

यसअघि ‘लाटो पहाड’ र ‘जोखना’ जस्ता नाटक दिइसकेको थैली इन्टरटेन्मेन्टको प्रस्तुति रहेको नाटक ‘’खुवालुङ’ल’ मा पशुपति राई, मानहाङ लावती, इंगि होपो कोइच सुनुवार, समयोग गुरागाईं, सविना थापा, प्रशंसा सिवाकोटी, बेदना राई, रियर राई, रमिला राईलगायतका कलाकारको अभिनय देख्न सकिन्छ । नाटकमा प्रयोग भएका दुई गीतहरूले किराती समाजतिर नै छौँ भन्ने आभास दिलाउँछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.